साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र गोपीको पहिलो गीत सार्वजनिक भएको छ । ‘लक्ष्मी कहिले काली’बोलको उक्त गीत साहित्यकार बुद्धिसागरले लेखेका हुन् । गीतमा संगीतकार अर्जुन पोखरेलले आफ्ना पिता बाबुराम पोखरेलसँग मिलेर संगीत गरेका छन् । सार्वजनिक गीत भजन शैलीको छ ।
गीतमा ध्रुव बिस्को र एन्जिला रेग्मीको स्वर रहेको छ । गीतमा आशिष अबिरलको संगीत संयोजन रहेको छ । आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित तथा दीपेन्द्र लामाद्वारा निर्देशित गोपी नेपालभर माघ १८ गतेबाट प्रदर्शनको प्रचारमा छ ।
सार्वजनिक गीतमा चलचित्रको शिर्ष भूमिकामा रहेका कलाकार विपिन कार्की, वर्षा राउत, अंकित खड्का, भोला सापकोटा लगायतले नृत्य गरेका छन् । वरिष्ठ नृत्यनिर्देशक गोविन्द राईले यही गीतमार्फत् लामो समयपछि औपचारिक रूपमा कोरियोग्राफीमा कमब्याक गरेका छन् । गीतमा राईले तीनवटा भजनटोली, सयजना भन्दा बढी वृद्धवृद्धा र ३२ जना नृत्य कलाकारलाई समावेश गरेका छन् ।
सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा शैलेद्र डि कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । चलचित्रमा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।
लक्ष्मी कहिले कालीको भिडियो :