साप्ताहिक संवाददाता
हरेक वर्षको दसैं नेपाली चलचित्रका लागि सुखद सावित हुन्छ । यो वर्षको दसैं छक्का पञ्जा–३ का लागि अत्यन्त सुखद रह्यो भने जय भोलेका लागि औषत रह्यो । दसैंमा राम्रो चलचित्रको व्यवसाय उत्कृष्ट हुन्छ भन्ने प्रमाणित भएकैले होला यो वर्षको दसैं सकिएको एक साता नबित्दै अर्को वर्षको दसैंका लागि तीन वटा चलचित्रले प्रदर्शन मिति घोषणा गरिसकेका छन् ।
प्रकाश सुवेदीको बकम्फुसे राजा, रेनशा बान्तवा राईको आई एम ट्वान्टि वान तथा अशोक शर्माको रातो टीका निधारमा अर्को वर्ष दसैंमा प्रदर्शन हुने चलचित्र हुन् । रमाइलो कुरा के छ भने यी तीनवटै चलचित्र निर्माण हुने घोषणा मात्र भएको छ, छायांकनको अत्तो–पत्तो छैन ।
सुवेदी, राई तथा शर्माले दसैंका लागि आफ्नो चलचित्र प्रदर्शनको बुकिङमात्र गरेका हुन् । त्यसो त दसैं आउन अझै एक वर्ष बाँकी रहेकाले यी चलचित्र निर्धारित मितिमै प्रदर्शन हुनेमा शंका छैन, यद्यपि राम्रो व्यवसाय गर्ने अनुमानमा एउटै मितिमा तीन–तीन वटा ठूला बजेटका चलचित्र जुधाउनु चाहिँ सुखद नहोला कि ?