साप्ताहिक संवाददाता
मंसिर ८, २०७५
रणवीर सिंह र दीपिका पादुकोणले झन्डै ६ वर्ष लामो प्रेम सम्बन्धपछि आधिकारिक रूपमा घरजम गरेका छन् । अघिल्लो बुधबार इटली पुगेर उनीहरूले विवाह गरे, तर विवाहका तस्बिर भने बिहीवार राति मात्र सार्वजनिक भए ।
जब यो जोडीले आ–आफ्नो सामाजिक सञ्जालबाट आफ्ना निकै हँसिला मुद्राका तस्बिर सार्वजनिक गरे, उनीहरूका प्रशंसक एवं मिडियामा भाइरलसमेत भए । दीपिका र रणवीरले बुधबार बिहान ७ बजे कोंकणी विधिविधानअनुसार लगनगाँठो कसेका हुन् ।
जब रणवीरले दीपिकाको निधारमा सिन्दूर लगाईदिए, दीपिका हर्षले रणवीरलाई हेरेको हेरै भइन् । रणवीरले खुसीका आँसु बगाए, अनि, दीपिकाको निधारमा चुम्बन गरे । उक्त चुम्बनपछि दीपिका लाजले भुतुक्कै भइन् र आफ्नो अनुहारलाई साइड लगाइन् ।