साप्ताहिक संवाददाता
नेपालमा दन्त चिकित्सा शिक्षाको इतिहास लामो छैन । २०५५ सालदेखि मात्र दन्तचिकित्सा स्नातक (बीडीएस) तहको अध्ययन–अध्यापन प्रारम्भ भएको हो । २० वर्षको यो अवधिमा नेपालमा करिब ५ हजार दन्तचिकित्सक उत्पादन भएको पाइन्छ । नेपाल मेडिकल काउन्सिलले यो वर्ष विभिन्न कलेजलाई ५ सय ३० विद्यार्थीलाई अध्यापन गराउने अनुमति प्रदान गरेको छ । कुनै पनि कलेजमा ५० जना भन्दा बढी विद्यार्थीले अध्ययन अनुमति पाउँदैनन् भने मागअनुसारको जनशक्ति अझै पूरा हुन नसकेको सम्बद्ध अधिकारीहरू बताउँछन् ।
सामान्य जनमानसमा मुख स्वास्थ्यप्रतिको चेतना वृद्धिसँगै दन्त चिकित्सकको अध्ययनमा रुचि बढ्दै गएको पाइन्छ । मुख खानेकुराको प्रवेशद्धार भएको हुँदा केही समस्या हुनासाथ मानिसहरू चिकित्सकलाई देखाउन पुगिहाल्छन् । त्यही भएर पनि सहरी क्षेत्रमा थुप्रै दन्त क्लिनिक खुल्न थालेका छन् । यसले पनि बीडीएसप्रति आकर्षण बढेको देखिन्छ । यसको आकर्षण मापन गर्ने एउटा गतिलो उदाहरण काठमाडौंमा खुलेका दन्त क्लिनिक तथा अस्पताल आदिलाई लिन सकिन्छ । काठमाडौं उपत्यकामा मात्र साना–ठूला गरी २ हजारभन्दा बढी दन्त क्लिनिक तथा अस्पताल छन् । १८ वर्षकै इतिहासमा यति धेरै प्रगति हुनु राम्रो फड्को भएको कान्तिपुर डेन्टल कलेजका कार्यकारी निर्देशक बुद्धिमान श्रेष्ठ बताउँछन् । ‘मानिसहरू मुख स्वास्थ्यप्रति सजग हुन थालेका छन् ।’ श्रेष्ठ भन्छन्, ‘मानिसहरू जति सजग हुँदै गए त्यति नै दन्त चिकित्सकको महत्व एवं अवसर वृद्धि हँुदै जान्छ र ग्रामीण तहसम्म जनताले सेवाको सहज पहुँच पाउँछन् ।’
नेपाल मेडिकल काउन्सिलका रजिस्टार डा. दिलीप शर्मा नेपालमै बीडीएसको अध्ययन–अध्यापन प्रारम्भ भएपछि विदेश पढ्न जाने विद्यार्थीको संख्या कम भएको बताउँछन् । यसले नेपालबाट दन्त चिकित्सक पढ्ने विद्यार्थीबाट वार्षिक रूपमा बिदेसिने अर्बौं रुपैयाँ रोकिएको छ ।
नेपालमा कान्तिपुर तथा पिपल्स मेडिकल कलेज बीडीएस मात्र अध्यापन गराउँदै आएका कलेज हुन् । यसका साथै त्रिभुवन विश्वविद्यालय एवं काठमाडौं विश्व विद्यालयबाट सम्बन्धन पाएका केही अन्य मेडिकल कलेजले एमबीबीएसका साथै यो विषय अध्ययन–अध्यापन गराइरहेका छन् ।
यसलाई कम बिरामी, कम विद्यार्थी र कम प्रोफेसर रहेको क्षेत्रका रूपमा लिइन्थ्यो । अहिले बिस्तारै सम्भावना भएको विषयका रूपमा लिइन्छ । दन्तचिकित्सालयमा उपचार शुल्क कम हुने कारणले कलेजमा बिरामीको आकर्षण बढ्न नसकेको बताइँदै आएको छ । यद्यपि कलेज सञ्चालकहरू दन्त क्लिनिकको तुलनामा चिकित्सालयमा स्तरीय सेवा उपलब्ध हुने भएकाले शुल्क केही महँगो हुने बताउँछन् ।
विकृति पनि छ
अहिले काठमाडौं उपत्यकाभित्र २ हजार ५ सयभन्दा बढी दन्त उपचार केन्द्र सञ्चालनमा रहेको अनुमान छ, तीमध्ये झन्डै ५० प्रतिशत दन्त उपचार केन्द्र बिनादर्ता सञ्चालन भैरहेका छन् । यति ठूलो संख्यामा बिनाअनुमतिका दन्त उपचार केन्द्र सञ्चालन भैरहे पनि सरकारले त्यसको नियमन गर्ने निकायसमेत बनाउन सकेको छैन । सरकारले ल्याएको अस्पताल संचालन तथा मापदण्डसम्बन्धी निर्देशिकाले कुनै पनि विशिष्टीकृत सेवा दिने अस्पताल कम्तीमा १ सय बेडको हुनुपर्ने उल्लेख गरेको छ, तर धेरैले उक्त मापदण्ड पूरा गर्न सकेका छैनन् । त्यस्ता विशिष्टीकृत सेवाको मापदण्डमा ऐन अनुसार नभए विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै हुने उल्लेख छ । त्यसमा दन्त सेवासम्बन्धी अस्पताल सञ्चालन गर्न न्यूनतम १५ चियरको व्यवस्था हुनुपर्छ, तर काठमाडौं उपत्यकाका कतिपय दन्त अस्पताल दुई–तीनवटा चियर मात्र राखेर सञ्चालनमा छन् ।
के–के पर्छन् दन्त सेवामा
दाँत सफा गर्ने, झिक्ने, नक्कली दाँत राख्ने
बाङ्गोटिङ्गो दाँत मिलाउने, स्थायी तथा अस्थायी दाँत हाल्ने
गिजासम्बन्धी उपचार गर्ने
त्यसका साथै मुखमा भएका सम्पूर्ण उपचार तथा परामर्श सेवा दन्त चिकित्सकबाट पाइन्छ ।
दाँतको उपचार कति महँगो ?
नेपालको उपचारशुल्क अन्तर्राष्ट्रिय बजारको तुलनामा सस्तो छ, तर नेपालीहरूको प्रतिव्यक्ति आयको तुलनामा भने यसको शुल्क केही महँगो देखिन्छ । युरोपियन मुलुकमा एउटा दाँत फिटिङ गर्दा कम्तीमा पनि ५० डलर पर्छ, तर नेपालमा करिब ५ सय रुपैयाँमा उक्त सेवा प्राप्त गर्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनले मुखको रोगको उपचारलाई विश्वको चौथो महँगो उपचारमा राखेको छ । शरीरको प्रमुख द्वार मुख भएकाले मुख एवम् दाँतको रोग जटिल हुन्छ । अहिले सामान्य प्रकृतिको दन्त चिकित्सालय स्थापनाका लागि कम्तीमा १५ चेयर आवश्यक हुन्छ । एउटा चेयरका लागि करीब ५ लाख रुपैयाँ खर्चिनुपर्ने व्यवसायीहरू बताउँछन् ।
दन्तचिकित्सा अध्यापन भैरहेका कलेज तथा सिट संख्या
चितवन मेडिकल कलेज - ४०
किष्ट मेडिकल कलेज - ५०
युनिर्भसल कलेज अफ मेडिकल साइन्स - ४०
पिपल्स डेन्टल कलेज- ५०
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान- ५०
केयू स्कुल अफ मेडिकल साइन्स - ५०
काठमाडौं मेडिकल कलेज- ५०
नेपाल मेडिकल कलेज - ५०
कलेज अफ मेडिकल साइन्स - ४०
कान्तिपुर डेन्टल कलेज - ५०
गण्डकी मेडीकल कलेज - २५
नोवेल मेडिकल कलेज - ३५
जम्मा : - ५ सय ३०