अनैतिक सम्बन्ध खुल्ने डरले मोरङको सुनवर्सी नगरपालिका– ३ खैरबारीस्थित एक महिलाले प्रेमीसँग मिलेर श्रीमान्को हत्या गरेको बताइएको छ । प्रेमीसँगको अनैतिक सम्बन्ध श्रीमान्ले थाहा पाउने डरले सुनवर्षी नगरपालिकाकी ३५ वर्षकी फूलमुनि हेम्मरमले सोही ठाउँका २४ वर्षीय प्रेमी मदन मुर्मुसँग मिलेर ४२ वर्षीय श्रीमान् सोई हेम्मरमको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
कात्तिक २५ गते सोईको हत्या गर्ने फूलमुनि र मदनलाई इलाका प्रहरी कार्यालय रङ्गेलीले पक्राउ गरेको छ । ‘श्रीमान्–श्रीमतीबीच दैनिकजसो झगडा हुने गरेको प्रारम्भिक अनुसन्धानबाट देखियो,’ इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले भने, ‘सोई र फूलमुनिको झगडा भएपछि छिमेकी मदनले २४ कात्तिकमा सोईलाई घरबाट लगेर मदिरा सेवन गराएका थिए । सोई मदिरामा लठ्ठिएपछि श्रीमती फूलमनि र मदन मिलेर उनको हत्या गरेको पाइयो ।’
मदिरामा लठ्ठिएका सोईले श्रीमतीसँग झगडा गर्न थालेपछि फूलमुनिले उनीमाथि काठको पिरा प्रहार गरेकी थिइन् । कन्चटमा पिरा लागेर लडेका सोइलाई मदन र फूलमुनिले मिलेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको कार्कीले बताए । हत्या भएको खबर पाएपछि घटनास्थल पुगेको प्रहरीले फूलमुनिलाई घरबाटै पक्राउ गरेको थियो भने प्रेमी मदनलाई सुनवर्षी–३ अन्तर्गत बक्राहा खोलाछेउ लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरीका अनुसार पिराले कन्चटमा लागेर लडेका सोईको घाँटी मदनले तकियाले थिचेका थिए भने पत्नी फूलमुनिले खुट्टा समाएर हत्यामा सहयोग गरेको स्वीकार गरेकी थिइन् ।
सामान्य मजदुर परिवारका सोईले सधैं मदिरा सेवन गरी झगडा गर्ने गरेका थिए । उनको घरमा मदनको बाक्लो आउजाउ थियो । दुवैलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप गरी अहिले थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।
सोई र फूलमुनिका २ छोरा तथा २ छोरी छन् । दैनिक ज्यालादारी गरि घरपरिवार चलाउँदै आएका सोई पछिल्लो समय दैनिक जसो मदिरा सेवन गर्थे । मदिराले लट्ठिएर घर पुग्ने सोईले श्रीमति फूलमुनिलाई कुटपिट गर्दै आएका थिए । कुटपिटबाट आजित भएकी फूलमुनिको सम्बन्ध छिमेकीसमेत रहेका मदनसँग थियो । फूलमुनिले श्रीमान्ले मदिरा सेवन गरी कुटपिट गर्ने कुरा मदनलाई सुनाइन् ।
दैनिकजसो श्रीमान्को कुटाइबाट आजित भएकी फूलमुनिले प्रेमीसँग मिलेर उनको हत्या गर्ने योजना बनाएको प्रहरीलाई दिएको बयानमा उल्लेख गरेकी छिन् । योजना अनुसार कात्तिक २४ गते मदनले सोईलाई गाउँकै एक भट्टी पसलमा मदिरा ख्वाएका थिए । मदिराको नसाले लठिएका सोई राति घर पुगे । ‘राति झगडा भयो । ऊ मदिराको नसामा थियो, मैले पिरा प्रहार गरे । पिरा सोइको कन्चटमा लाग्यो र ऊ लड्यो । लडेपछि मदनले तकिया (सिरानी) ले घाँटी थिचे भने मैले खुट्टा समाएँ,’ प्रहरीसँगको बयानमा फूलमुनिले भनेकी छिन् ।
यसरी पक्राउ परे
सोईको हत्या पछि मदन त्यो रात फूलमुनिसँगै बसे । बिहान झिसमिसमा मदन त्यहाँबाट फरार भए । बिहान उठेपछि फूलमुनि खेतमा काम गर्न गइन् । सधंै बिहान सबेरै उठ्ने सोई नदेखिइएपछि छिमेकीहरूले हल्लीखल्ली गरे । ‘छिमेकीले सोईलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए,’ इप्रका रङ्गेलीका प्रमुख कवीन्द्रकुमार कार्कीका अनुसार फूलमुनिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा हत्याको कुरा खुल्यो ।