जाडो भन्नेबित्तिकै धेरैको मुटु आफैं काम्न थाल्छ भने धेरैलाई यसले रोमाञ्चित तुल्याउँछ । विशेष गरी तन्नेरी पुस्तालाई यसले हर्षित तुल्याउँछ भने वृद्धवृद्धा तथा बालबालिकाहरूका लागि जाडो मौसम त्यति सहज हुँदैन् । बाक्ला पहिरन मन पराउने, खानामा रुचि भएका तथा घुमघाममा रमाउनेहरूका लागि जाडो मौसम एउटा अवसर समेत हो । यो अवसरलाई अल्ट्रा धावक मीरा राई पनि गुम्न दिन्न् । जब जाडो सुरु हुन्छ उनको खानपानमै परिवर्तन आउँछ । यो मौसममा उनको खाजा भुटेको मकै र भटमास हुन्छ । जाडोमा बिहान दौडनु, तातो पानी पिउनु तथा टन्न लुगा लगाएर हिँड्नुको मज्जा बेग्लै छ, –राई भन्छिन् ।
सामाजिक काममा रुचि राख्ने कलाकार सरिता राजोपाध्यायलाई भने यो मौसममा घुम्न मन लाग्छ । जाडोमा फुर्सद भयो कि घुम्न निस्किहाल्छु, –राजोपाध्याय भन्छिन् । सञ्चारकर्मी अमृता घिमिरेलाई पनि गर्मीभन्दा जाडो नै मन पर्छ । जाडो पसिनामुक्त हुने गज्जबको अवसर हो । जाडोमा गाउँघरमा तोरी फुलेको हेर्नदेखि सुन्तला खानसम्म पाइने हुँदा जाडो उनलाई मन पर्ने मौसम भएको हो । आर डी इनोभेटीभ सोलुसन कम्पनीकी सिइओ सुनिता न्हेम्हाफुकिलालाई भने जाडोदेखि रिस उठ्छ । उनलाई बिहान चाँडै उठ्नुपर्ने बाध्यता छ, तर चिसोले गर्दा उठ्नै मन लाग्दैन । धेरै लुगा लगाउनुपर्ने र खानपान धेरै हुने हुँदा वेट बढ्ने हैरानीका कारण पनि उनलाई जाडो त्यति मन पर्दैन ।
सेलिब्रेटीहरू यसरी छल्छन् जाडो
कलाकार गजित विष्टलाइ जाडोमा दिनहुँ नुहाउनु नपर्ने कुराले भने मज्जा दिन्छ तर समय–समयमा चिसोका कारण रुघाखोकी लागेर बिरामी हुँदा नमज्जा लाग्छ । विष्टसँग जाडो भगाउने उपाय पनि छ । यो जाडोमा तातो सुप खानु, बाक्ला लुगा लगाउनु र घाम ताप्दै सुन्तला खानु उनको दैनिकी बनेको छ ।
अभिनेत्री शिल्पा पोखरेललाई जाडोको बिहानको चिसो छल्न साह्रै गाह्रो लाग्छ । त्यही भएर उनी दिनको तीन घण्टा जिम जान थालेकी छिन्, त्यसपछि उनी समय–समयमा ब्ल्याक कफी पनि पिउँछिन् । सबैभन्दा गजबचाहिँ उनलाई खाना मज्जाले रुच्छ, तर मोटाइन्छ कि भन्ने पीर पनि छ । जाडोमा सुटिङ पर्यो भनेचाहिँ नमज्जा हुन्छ, त्यसमा पनि गर्मीको पहिरनमा सुटिङ गर्नुपर्यो भने त बेहाल नै हुन्छ ।
अभिनेत्री वर्षा राउतले जाडो छल्न कोट तथा लङ बुट लगाउने गरेकी छिन् । बाहिर होस् वा घरमा बस्दा चिसोको चुनौती सामना गर्न सुप पनि पिउँछु, —राउत भन्छिन् । त्योभन्दा पनि चलाख्याइँचाहिँ उनी चिसोमा अत्यावश्यक काम नभै बाहिर कतै निस्किन्नन् । मौका परे उनी जाडो छल्न केही न्याना ठाउँ घुम्न जान्छिन् ।
निर्देशक ऋषि लामिछानेको जाडो कटाउने उपाय अरूको भन्दा फरक छैन । न्याना लुगा लगाउने, हिटरमा बस्ने तथा ताता खानेकुरा खाने । जाडोमा उनको शरीर फुस्रो हुन्छ भने हातखुट्टासमेत कठ्यांग्रिन्छ । बाक्ला लुगा लगाउँदा असजिलो हुन्छ, तर बिहानको घाममा बस्दा भिटामिन डी पाइन्छ, त्यसैले मज्जा लाग्छ ।
अभिनेत्री रजनी केसी अरूको भन्दा अलि फरक तरिकाले यो जाडो थेगिरहेकी छिन् । रजनीको दैनिकीमा बाक्ला लुगा लगाउनुका साथै साउना स्टिम लिने, बडीलाई वार्म–अप तथा योग गर्ने रुटिन पनि थपिएको छ । हट एन्ड सावर सुप खाने, अदुवा चिया खाने त सामान्य नै भयो, –रजनी भन्छिन् । जाडोमा टन्न लुगा लगाउनुपर्दा अलि मोटी नै देखिए पनि आफूलाई रमाइलो लाग्ने उनी बताउँछिन् । जाडोमै मन लागेका कुरा मज्जाले खान पाइन्छ भने पसिना आउने समस्या पनि हँुदैन, तर ओछ्यानबाट बाहिर निस्कन मन नलाग्ने अल्छीपन भने कहिलेकाहीँ पट्यार लाग्दो समेत हुन्छ । त्योभन्दा पनि जाडोमा सुटिङ नपरोस् भन्ने लाग्छ ।