साप्ताहिक संवाददाता
इटालियन मोटरसाइकल निर्माता कम्पनी एमभी अगस्टाले सबैभन्दा तीव्र गतिको बाइक प्रदर्शन गरेर सबैलाई चकित तुल्याएको छ । कम्पनीले उक्त बाइक हावाको गतिभन्दा अढाई गुणा तीव्र रहेको जानकारी दिएको छ । एमभी अगस्टा ब्रुटाले १००० सेरी ओरो नामक उक्त बाइक ३०० युनिट मात्र निर्माण गरिने बताइएको छ ।
यो बाइकको सबै युनिट पहिले नै बिक्री भैसकेको समेत कम्पनीले जानकारी दिएको छ । त्यसैले कम्पनीले यो बाइकको मूल्यका सम्बन्धमा केही बताएको छैन । केही दिनपहिले सम्पन्न ईआईसीएमए–२०१८ मोटरसाइकल शोमा यो मोटरसाइकल प्रदर्शन गरिएको थियो ।
एमभी अगस्टाको यो बाइक नेकेड बाइक हो । यसमा ९९८ सीसीको इनलाइन ४ सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले १३४५० आरपीएममा २०८ वीएचपीको पावर तथा ११५ एनएमको टर्क जेनरेट गर्छ । एमभी अगस्टा कम्पनीले यो बाइकमा इलेक्ट्रोनिक सेमी एक्टिभ टेक्निकमा आधारित कारमा जस्तै ट्रयाक्सन कन्ट्रोल सिष्टम समावेश गरेको छ ।
यसले सडकको विभिन्न परिस्थितिमा रेस बढाउन र ब्रेक लगाउन निकै मद्दत गर्छ । यो बाइकमा नयाँ ह्विली कन्ट्रोल सिस्टम जडान गरिएको छ । यो नयाँ प्रविधिले बाइक तीव्र गतिमा हुँदा वा ब्रेक लगाउँदा टायरमा झट्का लाग्न वा स्लिप हुनबाट जोगाउँछ । यो बाइक ३०२ किलोमिटर प्रतिघण्टाको स्पिडमा गुड्ने बताइएको छ ।