जाजरकोट, दहाका २७ वर्षीय प्रदीप वली नेपालगन्जको पुष्पलाल चोकमा बम राखेको अभियोगमा पक्राउ परेका छन् । बम राख्नुको उद्देश्य के हुन सक्छ ? प्रहरीको अनुसन्धान त्यसतर्फ केन्द्रित भयो । भूमिगत समूह वा अन्य बिद्रोही समूह हुन सक्ने भन्दै प्रहरीले सुक्ष्म अनुसन्धान थाल्यो, तर प्रहरीले शंका गरेजस्तो केही फेला परेन । ठूलो मान्छे बन्ने लहडमा वलीले नेपालगन्जमा बम राखेर एक दिन सबैलाई तनाव दिए । उनको पारिवारिक पृष्ठभूमि निकै साधारण छ । वली विवाह भएको केही वर्षमै मजदुरीका लागि भारत पुगे । कालापहाड, सिमलामा उनले चार/पाँच वर्ष मजदुरी गरे । सडकमा मजदुरी गर्दा विस्फोटक पदार्थ बनाउन सिके ।
त्यहीबाट उनमा नेता बन्ने लहड चल्यो । १२ कक्षा उत्तीर्ण प्रदीपले कालापहाड र सिमलामा भएका नेपालीहरूलाई समेटर संगठन बनाउन खोजे, तर मानिस जुटाउन सकेनन् । त्यसपछि एक्लैले समूह गठन गरेर नाम राखे— सुन्दर शान्त नेपाल अनि आफैं त्यसको अध्यक्ष बने ।
वलीले आफ्नो संगठनले कमान्डो फोर्स गठन गरेको भ्रमसमेत फैलाए । त्यसपछि उनी नेपालगन्ज आए । केही दिन नेपालगन्जको पुष्पलाल चोक नजिकैको होटेलमा बसे । गत बिहिबार नेपालगन्जको अति व्यस्त पुष्पलाल चोकमा होममेड बमसँगै कमाण्डो समूहको पर्चा राखे । उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय तुल्यायो । बाँके प्रहरीले सिसिटिभी फुटेजका आधारमा वलीलाई पक्राउ गर्यो । उनीसंग प्रहरीले साढे ४१ हजार रुपैयाँ नगद, बैंकका चेक तथा विभिन्न मोबाईलका सीम बरामद गरेको थियो । ‘बम मैले नै राखेको हो ।
भनेजस्तो संगठन पनि छैन । चर्चामा आउने रहर पहिलेकै हो,’ उनले प्रहरी बयानमा भनेका छन्, ‘चर्चामा आउन बम राखियो, तर सफल भइएन ।’ उनले नेपाल–भारत सीमाको दशगजामा बम राख्ने योजना भएको पनि बताए, तर त्यहाँ प्रहरीको ब्यापक उपस्थिति रहेका कारण नेपालगन्जको पुष्पलाल चोकमा बम राखेको उनको जिकीर छ ।
बाँके प्रहरीले सिसिटिभी फुटेजका आधारमा उनलाई पुष्पलाल चोक नजिकैबाट निकै कम समयमै पक्राउ गरेको हो । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलका अनुसार पक्राउ परेका वली कुनै संगठनमा आबद्ध छैनन् । ‘उसको कुनै पार्टी वा संगठनमा आबद्धता देखिएन,’ वलीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै पौडेलले भने, ‘लहडको भरमा बम राखेको पाइयो ।’
प्रहरीका अनुसार वली पाँच वर्षअघि मजदुरीका लागि भारतको सिमला पुगेका थिए । ‘वलीले बम बनाएर आतंक फैलाउन खोजेका हुन,’ एसपी पौडेलले भने,‘उनको कुनै पनि संगठनसँग कनेक्सन भएको देखिँदैन ।’ प्रहरीले वलीले कमान्डो समूह सन्चालन गरेको दाबी गरे पनि त्यसको कुनै नेटवर्क नरहेको दाबी गरेको छ । वलीले पुष्पलालको शालिक मुनि प्लास्टिकको झोलामा बम राखेपछि नेपालगन्जमा आतंक फैलिएको थियो ।