साप्ताहिक संवाददाता
मंसिर १३, २०७५
कुनै समाजका बासिन्दाले अतिनै रुचाउने खानेकुरा अर्को समाजका मानिसलाई मन नपर्न सक्छ । जस्तो चीनका केही प्रान्तमा गोरुको लिंगलाई अत्यन्त स्वादिष्ट परिकार मानिन्छ । त्यस्तै मंगोलियामा भेडाको आँखालाई गोलभेंडाको रसमा डुबाएर तयार पारिने परिकार सर्वाधिक स्वादिष्ट मानिन्छ ।
चीनमा मुसाको बच्चालाई चामलको जाँडमा डुबाएर तयार पारिएको मदिरा पिइन्छ भने मंगोलियामा घोडाको दूध प्रशोधन गरेर पिउने चलन छ । आइसल्यान्डमा भेडाको चिज कीरा परेपछि मात्र खाइन्छ । यस्तै अनौठा खानेकुराहरू संग्रह गरिएको संग्रहालय स्विडेनको माल्मोमा सञ्चालनमा आएको छ ।
यो संग्रहालयमा राखिएका खानेकुरा हेर्दा कतिपय दर्शकले उल्टीसमेत गर्ने भएकाले त्यहाँ पुग्ने पर्यटकले प्लास्टिकको थैली आफ्नो साथमा बोकेका हुन्छन् ।