साप्ताहिक संवाददाता
अहिले ए डिभिजनको सहिद स्मारक लिग चलिरहेको छ र नेपाली खेलकुद पूरा मंसिर यही प्रतियोगितामा केन्द्रित हुनेछ । लगभग चार वर्षको अन्तरालमा सञ्चालनमा आएको हुँदा यसले आफ्नो लय समात्न केही समय लाग्नेछ । यसपटकको लिगमा रेलिगेसन पनि छैन, त्यसैले क्लबहरू खेलाडीमा धेरै खर्च गर्ने मनसायमा छैनन् । केही वर्षअघि खेलाडीले जति पाउँथे, अहिले त्यति पनि पाइरहेका छैनन्, यो अर्को तथ्य हो । यसपटकको लिगमा खेलाडीले साँच्चै कति कमाउँछन् त ? यसको उत्तर खोज्दै क्लबसम्म पुग्ने हो भने निराशा नै हात लाग्छ । यसपटक क्लबले खेलाडीसँग चलाखीपूर्ण अनुबन्ध गरेका छन् । जति समय लिग चल्नेछ, त्यतिकै समयका लागि मात्र पारिश्रमिक दिने अनुबन्ध । त्यसैले खेलाडीले यसपटकको लिगबाट त्यति कमाउन सक्ने छैनन् । स्रोतहरूलाई विश्वास गर्ने हो भने अधिकांश राम्रा खेलाडीले महिनाको ८० हजार रुपैयाँको हाराहारीमा पारिश्रमिक पाएका छन् ।
विक्रम लामा
थ्रीस्टारका कप्तान हुन्– विक्रम लामा । लगभग एक वर्षको अन्तरमा उनी फेरि मैदानमा छन् । यसअघि उनी गम्भीर चोटबाट गुज्रिए । लामालाई फेरि खेल्न योग्न बनाउन पनि थ्रीस्टार क्लब तथा त्यसका केही पदाधिकारीले लगभग १० लाख रुपैयाँ खर्च गरेको हुनुपर्छ । कुनै एक खेलाडीमा यति धेरै खर्च विरलै भएको हुनुपर्छ । यही कारणले विक्रमले थ्रीस्टारप्रति सधैं कृतज्ञ हुनुपर्छ । भनिरहनु पर्दैन, यी भलाद्मी खेलाडी राम्रै पारिश्रमिक बुझ्ने खेलाडीमा पर्छन् ।
सुनिल बल
पछिल्लो साफ च्याम्पियनसिपबाट चम्किएका खेलाडी हुन्– सुनिल बल । थ्रीस्टारलाई लिगमा सफलता दिलाउने हो भने उनले पनि राम्रो प्रदर्शन गर्नुपर्नेछ र त्यसका लागि सुनील सक्षम पनि छन् । उनी थ्रीस्टारमा राम्रै कमाइ गर्ने खेलाडीमा पर्छन् । राष्ट्रिय टिमबाट तहल्का मच्चाएपछि पक्कै उनको भाउ बढेको हुनुपर्छ । थ्रीस्टारका लागि विक्रमपछि सुनिल दोस्रो महत्त्वपूर्ण खेलाडी हुन् ।
विमल घर्तीमगर
लिग प्रारम्भ हुँदासम्म पनि विमल घर्तीमगर कता आबद्ध हुने हुन टुंगो थिएन । किन हो, थ्रीस्टारले उनलाई लिन चाहेन । त्यसैले विमलका लागि हात अगाडि बढाउने क्लब रह्यो– च्यासल । भर्खरै माथिल्लो डिभिजनमा उक्लिएको च्यासल थ्रीस्टारको छिमेकी पनि हो । उसको लक्ष्य पनि ठूलै छ, लिग नै जित्ने । त्यसैले च्यासल विमललाई भित्र्याउन राम्रै खर्च गर्न तयार भयो । विमल यसपटकको लिगका सर्वाधिक महँगा खेलाडीमध्ये एक हुन् ।
सुमन लामा
नेपाल प्रहरीका खेलाडी हुन्– सुमन लामा । यी कति राम्रा र भरपर्दा डिफेन्डर हुन् भने उनले आफ्नो छोटो समयको प्रदर्शनकै मदतले नेपाली राष्ट्रिय टिममा स्थान बनाइसकेका छन् । उनी उत्तिकै लज्जालु र सकेसम्म खुल्न नचाहने खेलाडी हुन् । नेपाल प्रहरीका खेलाडी भएका आधारमा उनले धेरै कमाउने छैनन् । उनको तलब अरु प्रहरीसरहका सामान्य हुनसक्छ । यद्यपि लामा लामो रेसका घोडा हुन् ।
भरत खवास
स्टार भ्यालु बढी भएका खेलाडीमा पर्छन्, भरत खवास । नेपाली राष्ट्रिय टिमका खेलाडीमध्ये सबैभन्दा बढी अनुभवी भरत पनि सम्भवत: धेरै कमाउने खेलाडी होइनन्, किनभने उनी आर्मीसँग आबद्ध छन् । यद्यपि उनी नेपाली फुटबलका ठूला स्टार हुन्, त्यसैले उनको स्टार भ्यालु पनि चर्कै छ । सम्भवत: उनको आम्दानीको स्रोत प्रायोजनका अरु अनुबन्धमा हुनसक्छ ।
नवयुग श्रेष्ठ
आर्मीका अर्का स्टार खेलाडी हुन्– नवयुग श्रेष्ठ । भरत खवास र नवयुगको आक्रामक जोडी यसपटकको लिगमा चम्कने हो भने आर्मीले प्रतियोगितामा निकै राम्रो गर्नेछ, त्यसमा कुनै शंका छैन । नवयुगको पारिश्रमिक पनि त्यति नहुन सक्छ, तर उनले प्रायोजनका अनुबन्धहरूबाट पनि कमाउँछन् ।
राजेन्द्र रावल
एपीएफले लिगमा राम्रो गरेको इतिहास छैन । अझ भन्ने हो भने यो रेलिगेसनबाट जोगिन संघर्ष गर्ने टिम हो । भलै यो टिममा स्टार खेलाडीको कमी छैन । यसपटकको एपीएफ टिमका स्टार खेलाडी हुुन्– राजेन्द्र रावल । राजेन्द्रले एपीएफबाट कति पारिश्रमिक बुझ्छन्, थाहा पाउन सजिलो छैन । उनलाई भरत खवास र नवयुग श्रेष्ठलाई जस्तो स्टारडमले छोएको छैन ।
विशाल राई
मनाङ मस्र्याङ्दीका स्टार खेलाडी हुन्– विशाल राई । नेपाली राष्ट्रिय टिममा नियमित स्थान बनाउन संघर्षरत राईले आफूलाई सिद्ध गर्न यसपटकको लिगमा राम्रो गर्नुपर्नेछ ।मनाङ मस्र्याङ्दीको मिडफिल्ड लगभग उनकै खेलमा निर्भर छ । विशाल आफ्नो यो भूमिकामा मात्र सीमित छैनन्, राम्रा गोल निकाल्नसमेत सक्षम छन् ।
ओलाआले आफेज
यसपटकको लिगमा फरवार्डबाट खेल्ने सबैभन्दा प्रभावशाली खेलाडी हुन्– नाइजेरियाका ओलाआले आफेज । नेपाल मात्र होइन, उनले दक्षिण एसियामै व्यवसायिक फुटबल खेल्दै राम्रै समय बिताइसकेका छन् । बंगलादेश र भारतमा पनि उनले धेरै खेल खेलिसकेका छन् । आफेज यसपटकको लिगका सबैभन्दा महँगा खेलाडी हुन् । मनाङ मस्र्याङ्दीको प्रदर्शन धेरै हदसम्म उनकै प्रदर्शनमा निर्भर छ । आफेज सम्भवत: महिनाको १ हजार ४ सय डलर कमाउँछन् ।
पिटर सेगुन
थ्रीस्टारको पूरा डिफेन्स पिटर सेगुनको काँधमा छ भन्दा फरक पर्दैन । यी नाइजेरियाली डिफेन्डरको बलियो प्रदर्शनकै कारण थ्रीस्टारले घरेलु फुटबलमा अनेकौं सफलता हात पारेको छ । यसपटकको लिगमा पनि उनको काँधमा ठूलो जिम्मेवारी छ । पिटर यसपटकको लिगमा धेरै कमाउने खेलाडीमध्ये एक हुन् ।