साप्ताहिक संवाददाता
रूसमा सम्पन्न फिफा विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डले स्वीडेनलाई हराएपछि इंग्ल्यान्डका गल्लीमा प्रशंसकहरूले निकै खुसीयाली मनाएका थिए । उक्त अवसरमा एक युवा विद्यार्थीका साथै अन्य तीन व्यक्तिले प्रहरीको गाडी तोडफोड गर्नुका साथै त्यसको छतमा चढेर डान्ससमेत गरेका थिए ।
उक्त घटनाक्रमको भिडियो एवं तस्बिर सोसल मिडियामा भाइरल नै भएको थियो जुन भिडियोमा २१ वर्षीया लारिसा बेल सबैभन्दा बढी जोशमा देखिएकी थिइन्, तर विश्वकप समापन भएको चार महिनापश्चात् प्रहरीले ती भाइरल भएका प्रदर्शनकारीलाई आफ्नो पञ्जामा पार्न थालेको छ ।
प्रहरीले लारिसा सहित अन्य तीन जनालाई आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा मुद्दा दर्ता गरेको छ । त्यतिबेला लारिसा निकै चर्चामा थिइन् । उनी स्कटिस मूलकी भएकी र इंग्ल्यान्डको खेलको मज्जा लिन आफ्ना साथीहरूसँग इंग्ल्यान्ड आएकी पत्ता लागेको थियो । कुनै समय भाइरल बन्नु नै अहिले उनका लागि अभिशाप भएको छ ।