साप्ताहिक संवाददाता
मलेसियामा सम्पन्न इन्टरनेसनल इपो फेसन विक सिजन–२ मा नेपालबाट युवा फेसन डिजाइनर तथा मोडल प्रेम देवले मिथिला कल्चरलाई मोर्डन थिम दिएर तयार पारेका पहिरन प्रदर्शन गरेका छन् ।
तीन दिन चलेको उक्त फेसन विकमा नेपालसहित अमेरिका, भारत, मलेसिया, भियतनाम, फिलिन्स आदि देशका फेसन डिजाइनरहरू सहभागी थिए, जसमा मिथिला कल्चरको परिष्कृत स्वरूपले राम्रै चर्चा बटुल्यो । देवले मिथिला कल्चर झल्कने गरी डिजाइन गरिएका १२ वटा पहिरन प्रदर्शन गरेका थिए ।
‘धेरै राम्रो प्रतिक्रिया पाए,’ देवले भने, ‘मौलिक मिथिला थिममा मोडर्न डिजाइन धेरैले रुचाए ।’ देवका अनुसार आयोजकले नेपाली फेसनको प्रशंशा गर्दै अर्को सिजनमा पनि सहभागिताका लागि प्रतिबद्धता जनाउन लगाएका थिए ।
संसारका विभिन्न देशका फेसन डिजाइनरहरूलाई आमन्त्रित गर्दै मलेसियामा सञ्चालित उक्त विकको मुख्य उद्देश्य मलेसियाको एक हस्पिटललाई सहयोग गर्नु थियो । उक्त कार्यक्रममा सहभागिता जनाउन फेसन महासंघ, नेपालले देवको छनौट गरेको थियो ।