साप्ताहिक संवाददाता
जसरी खेलाडीले कति पारिश्रमिक पाउने तथ्य क्लबले विरलै सावर्जनिक गर्छन्, त्यसै गरी प्रशिक्षकले पनि कति पारिश्रमिक बुझ्छन् भन्ने कुरा पनि बाहिर आउँदैन । यसका लागि क्लबको स्रोत नै प्रयोग गर्नुपर्ने हुन्छ । यी पाँच प्रशिक्षक नै यसपटकको सहिद स्मारक लिग ए डिभिजनका सबैभन्दा महँगा हुन सक्छन् ।
मेघराज केसी
थ्रीस्टारका प्रशिक्षक हुन्– मेघराज केसी । उनले यसअघि धेरै क्लब सम्हाले, तर त्यसमा निरन्तरता भने रहेन । थ्रीस्टारमा आएर उनले सम्भवत: स्थायित्व पाएका छन् । खेलाडी छँदा औसत प्रदर्शनमै सीमित केसीले प्रशिक्षकका रूपमा राम्रँे र सफल छवि बनाएका छन् । थ्रीस्टारलाई सफलता दिलाउन उनको महत्त्वपूर्ण योगदान छ । केसी खेलको राम्रो विश्लेषण गर्ने क्षमता राख्छन् ।
राजुकाजी शाक्य
नेपाली फुटबलका सबैभन्दा ठूला नाम हुन्– राजुकाजी शाक्य । नेपालका लागि दक्षिण एसियाली खेलकुदमा दुई अवसरमा स्वर्ण पदक जित्ने दुर्लभ दुई खेलाडीमध्ये एक हुन् उनी । राजु नेपाली फुटबलसँग आबद्ध भएको पनि चार दशक भैसकेको छ । प्रशिक्षकका रूपमा उनले खेलाडी छँदा जत्तिको सफलता पाएका छैनन । यसमा कुनै शंका छैन कि उनमा फुटबलको राम्रो प्राविधिक ज्ञान छ । त्यसैले महत्त्वकांक्षी च्यासलले शाक्यलाई रोजेको हो ।
फुजा टोपे
यसपटकको लिगमा जति पनि क्लब सहभागी छन्, त्यसमध्ये विदेशी प्रशिक्षक अनुबन्धित एउटै टिम मनाङ मस्र्याङ्दी हो र त्यसका प्रशिक्षक हुन्– नाइजेरियाका फुजा टोपे । केही समय अघि मछिन्द्र सम्हालेका टोपे त्यसपछि भारत गए र धेरै क्लबसँग आवद्ध भए । उनी अहिले फेरि नेपाल फर्किएका छन् र उनी सम्भवत: सबैभन्दा महँगा प्रशिक्षक हुन सक्छन् । अनुमान अनुसार उनी महिनाको आठ सय डलर पारिश्रमिक थाप्छन् र उनको चुनौती हो, समृद्ध इतिहास भएको मनाङ
मस्र्याङ्दीलाई लिगमा अर्को सफलता दिलाउने ।
नवीन न्यौपाने
युवा पुस्ताका सफल प्रशिक्षक हुन्– नवीन न्यौपाने । उनी नेपाली फुटबलले पाएको ए लाइसेन्सवाला प्रशिक्षकमध्ये एक हुन् । खेलाडी छँदा धेरैभन्दा धेरै समय मनाङ मस्र्याङ्दीमा बिताएका नवीनले आर्मीको प्रशिक्षण सम्हालेको पनि लामै समय भैसकेको छ र उनको नेतृत्वमा आर्मीले घरेलु फुटबलमा केही उपाधि समेत जितेको छ । यसपटक पनि उनको लक्ष्य छ, आर्मीलाई सफलता दिलाउने ।
महेश्वर मुल्मी
महेश्वर मुल्मी जत्तिको अनुभवी र इतिहास बोकेको व्यक्तित्व यसपटकको लिगमा विरलै छन् । मुल्मीले धेरै अवसरमा नेपाली राष्ट्रिय टिमसमेत सम्हालिसकेका छन् । उनी अहिलेका धेरै प्रशिक्षकका पनि प्रशिक्षक हुन् । मुल्मी धेरैका गुरुबा हुन् । त्यसैले उनलाई एनआरटीले टिमको जिम्मेवारी सुम्पिएको छ । सम्भवत: मुल्मी अहिलेको आधुनिक फुटबलमा अभ्यस्त हुन सक्दैनन कि ? यो प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ, तर उनले अहिलेसम्म आफू थाकेको लक्षण भने देखाएका छैनन् ।