साप्ताहिक संवाददाता
पुष्पन प्रधान प्रतिभाशाली गायक हुन् । दार्जिलिङ नजिकैको एउटा गाउँ डुवर्सका स्थायी वासिन्दा पुष्पन सुफी शैलीका गीत गाएर श्रोताहरूको मन जित्न सफल भएका हुन् । लामो समयदेखि सांगीतिक क्षेत्रमा रहे पनि उनी चर्चा–परिचर्चा भन्दा टाढै रहन रुचाउँछन् ।
यसबीच उनलाई नेपाल आइडलको एउटा श्रृंखलाले अचानक चर्चामा ल्याएको छ । अघिल्लो बिहीबार प्रसारण भएको नेपाल आइडलको उत्कृष्ट सातको जजिङ राउन्डमा गायक पुष्पनकै उपस्थितिमा प्रतिस्पर्धी अमित बरालले उनको कर्णप्रिय गीत ‘पंक्षी’ गाइदिए । अमितले झन्डै डेढ महिनाअघि पनि त्यही गीत गाएका थिए ।
त्यतिबेला उनको प्रस्तुति सुनेर दर्शकसहित निर्णायकसमेत भावुक भएका थिए । लक्ष्मीप्रसाद देवकोटाको शब्दको उक्त गीतको सुन्दर प्रस्तुति अधिकांशका आँखा रसाएका थिए । बरालको प्रस्तुतिपछि आफूलाई नेपाल आइडलले सम्झिने कुरामा ढुक्क पुष्पनलाई अन्तत: अघिल्लो साताको कार्यक्रममा निम्त्याइयो ।
अमितकै कारण पंक्षी गीतले पूर्णता पाएको पुष्पनको भनाइ छ । सुफी संगीतमा आधारित गीत गाउने पुष्पनले संगीत दिएको पछिल्लो चलचित्र समर लभ हो ।