साप्ताहिक संवाददाता
गायक दीपक बज्राचार्य यतिबेला चर्चामा छन् । उनले गाएको गीत ‘मन मगन’ लोकप्रिय भएपछि उनी स्वदेशमा मात्र होइन विदेशमा समेत सांगीतिक प्रस्तुत दिइरहेका छन् । यसबीच मन मगनको हिन्दी संस्करणको म्युजिक भिडियो समेत लोकप्रिय भएपछि भारतीय सञ्चारमाध्यमले गायक बज्राचार्यका बारेमा समाचार बनाउन थालेका छन् ।
खासगरी केही हिन्दी पत्रिकाले दीपकका बारेमा रोचक जानकारीहरू प्रकाशित गरिरहेका छन् । यही क्रममा मन मगन गीत अब अंग्रेजी तथा स्पेनिश भाषामा समेत रेकर्ड गरिने भएको छ । रिदम ब्यान्डको संगीत संयोजन, गायक बज्राचार्यकै संगीत तथा रिक्की शाक्यको शब्दको म्युजिक भिडियो असाध्यै मन पराइएको छ ।
सुव्रतराज आचार्यले निर्देशन गरेको उक्त भिडियोमा पाटनको पुरानो कला, संस्कृति तथा जात्रालाई फिचर गरिएको छ । गीतमा धा, धीमे, नगडा, खिं: जस्ता मौलिक बाजाको धुन समावेश छ । उक्त धुनका कारण पनि यो गीतलाई विदेशी स्रोताले रुचाएका हुन् ।