साप्ताहिक संवाददाता
डेढ दशकअघि नै उच्च प्रविधियुक्त, खर्चिलो म्युजिक भिडियोमार्फत चर्चा कमाएका गायक सचिन रौनियार झन्डै १२ वर्षपछि पुन: सांगीतिक क्षेत्रमा फर्किएका छन् । ‘ए मान्छे’ शीर्षकको गीतको म्युजिक भिडियोसहित दर्शकमाझ आएका गायक रौनियारले यही शिर्षकको एकल एल्बमको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।
सांगीतिक पुनरागमनमा धेरै समय लाग्यो नि ?
म सांगीतिक क्षेत्र वरिपरि नै थिएँ । गीतहरू रेकर्ड गराइरहेको थिएँ, सञ्चारमाध्यममा मात्र आएको थिइन । अहिले ‘ए मान्छे...’ गीतले त्यो संयोग जुराइदिएको हो ।
बाहिर आउन झण्डै एक दशक नै लगाउनुभयो नि ?
एक दशक होइन, १२ वर्ष । १२ वर्षमा खोलो त फर्किन्छ भन्छन्, म त गायक । श्रोता तथा दर्शकहरूमाझ नआई बस्नै सकिनँ ।
‘ए मान्छे...’ गीतको सिर्जना कसरी भयो ?
म आफ्नो पुनरागमनका लागि एउटा उत्कृष्ट गीतको प्रतिक्षामा थिएँ । त्यसक्रममा मैले झन्डै १७–१८ वटा गीत रेकर्ड गरें । अन्त्यमा ए मान्छे...मा पुगेपछि मन अडियो । गीतको सम्पूर्ण पक्ष उत्कृष्ट भएको अनुभव गरेपछि यही गीतमार्फत दर्शकमाझ आउँ भन्ने लाग्यो ।
गीतका शब्द कसरी फेला पार्नुभयो ?
समाजलाई सकारात्मक सन्देश दिने शैलीको शब्दको खोजिमा थिएँ । झैं झगडा भन्दा मेलमिलाप हुनुपर्छ भन्ने आशयको गीत गीतकार प्रकाश सापकोटाले रचना गर्नुभएको रहेछ । शब्द फेला पारेपछि युवा संगीतकार जितेन लेप्चालाई त्यसमा संगीत भर्न आग्रह गरें । धुन चित्त बुझेपछि रेकर्डिङमा गयौं ।
म्युजिक भिडियोमा प्रसस्त मेहनत गर्नुभएछ नि ?
हो, निर्देशक सुव्रत आचार्यसहितको समूहसँग मिलेर झन्डै दुई महिना त यसका लागि आवश्यक सर–सामानकै खोजी गरियो । लोकेसन खोज्न पनि समय लाग्यो । अन्त्यमा सञ्जय श्रेष्ठ, भीम तुलाधर तथा बबिन प्रधानजस्ता समकालीन गायकहरूलाई अतिथि कलाकार बनाउँदै झन्डै एक सय जना कोरससहित जहरसिंह पौवामा यो गीतको भिडियो छायांकन गरियो ।