साप्ताहिक संवाददाता
चौथो संस्करणको लक्स कामना फिल्म एवार्ड्स २०७५ मा चलचित्र ‘लिलिबिली’ ले सर्वाधिक पाँच वटा एवार्ड जित्न सफल भएको छ । सिने मासिक कामनाको आयोजना तथा सिजी इन्टरटेन्मेन्टको प्रस्तुतिमा सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित एउटा भव्य समारोहमा चलचित्रकर्मीहरु पुरस्कृत भएका हुन् ।
एवार्ड समारोहको प्रारम्भमै हास्यव्यंग्य कलाकारिताबाट योगदान पुर्याउने लोकप्रिय हास्य जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य तथा पर्दा पछाडिको कलाकारतर्फ संगीतकार शम्भूजीत बासकोटालाई कीर्तिमय दीर्घ योगदान सम्मान प्रदान गरियो । समारोहमा मह जोडी तथा बासकोटालाई १/१ लाख रुपैयाँसहित सम्मान गरिएको हो ।
प्रतिस्पर्धात्मक २६ सहित ३४ वटा विधामा एवार्ड वितरण गरिएको समारोहमा १० विधामा मनोनित भएको चलचित्र लिलिबिलीले सर्वोत्कृष्ट चलचित्रसहित निर्देशक (मिलन चाम्स), नव अभिनेत्री (जसीता गुरुङ), पाश्र्व संगीत (एलिश कार्की) तथा ध्वनी मिश्रण (मुकेश शाह) को एवार्ड जित्न सफल भयो ।
१३ विधामा मनोनित भएको चलचित्र ‘कृ’ बाट अभिनेता अनमोल केसीले यस वर्षको सर्वोत्कृष्ट अभिनेताको एवार्डसहित तीन वटा एवार्ड जित्न सफल भयो । चलचित्र ‘ब्लाइन्ड रक्स’ अभिनेत्री बेनिशा हमालले सर्वोत्कृष्ट अभिनेत्रीको एवार्ड जितिन् ।
१५ विधामा मनोनित भएको अघिल्लो वर्षको सर्वाधिक व्यवसाय गर्न सफल चलचित्र ‘ छक्का पञ्जा–२’ बाट अभिनेत्री वर्षा राउतले सर्वोत्कृष्ट सह–अभिनेत्री एवार्ड जितिन् । चलचित्र ‘ग्याङ््स्टार ब्लुज’ बाट अभिनेता आशिरमान देशरमज जोशी श्रेष्ठले सर्वोत्कृष्ट नव अभिनेताको एवार्ड जिते । चलचित्र दुई रुपैयाँबाट कोरियोग्राफर कविराज गहतराजले सर्वोत्कृष्ट नृत्य निर्देशकको एवार्ड जिते । कविराज कामना फिल्म एवार्डमा लगातार चौथो वर्ष एवार्ड जित्न सफल नृत्य निर्देशक भएका छन् ।
यसै वर्षको प्रारम्भमा प्रदान गरिएको डि सिने एवार्डमा समेत सर्वोत्कृष्ट बाल कलाकारको एवार्ड जित्न सफल बाल कलाकार कुशाग्र भट्टराईले कामना फिल्म एवार्डमा पनि उक्त सफलता दोहोर्याएका छन् । कुशाग्रले चलचित्र ‘पिँजडा ब्याक अगेन’ बाट यो सफलता हासिल गरे ।
चलचित्र संरक्षकले तीन वटा एवार्ड जित्यो । उक्त चलचित्रबाट हिमाल केसीले सर्वोत्कृष्ट द्वन्द्व निर्देशक, रमेश रञ्जन झाले सर्वोत्कृष्ट खल पात्र तथा धिरेन्द्र प्रेमर्षीले सर्वोत्कृष्ट गीतकारको एवार्ड जिते ।
चलचित्र घामपानीले पनि तीन वटा एवार्ड जित्यो । उक्त चलचित्रले नव निर्देशक (दीपेन्द्र लामा), कथाकार (दीपेन्द्र लामा) तथा श्रृंगार (शंकर थापा) को एवार्ड जितेको हो ।
समारोहमा अभिनेत्री प्रियंका कार्कीलाई स्टार अफ दि इयरको एवार्ड प्रदान गरियो । चलचित्र ऐश्वर्याको तिमी रोएको पल गीतबाट अर्जुन पोखरेलले उत्कृष्ट संगतिकार एवार्ड जिते । यही गीतबाट सुगम पोखरेलले सर्वोत्कृष्ट पाश्र्व गायकको एवार्ड जिते भने चलचित्र ब्ल्यान्ड रक्सको उड्यो मन गीतबाट बानिका प्रधानले सर्वोत्कृष्ट गायिकाको एवार्ड जितिन् ।
बोलको गीतबाट उत्कृष्ट पाश्र्व गायिकाको अवार्ड जितिन् । चलचित्र म यस्तो गीत गाउँछुबाट राजाराम पौडेलले सर्वोत्कृष्ट हास्य कलाकारको एवार्ड जिते । हरिवंश आचार्य र प्रदीप भट्टराईले चलचित्र ‘शत्रुगते’ बाट सर्वोत्कृष्ट संवादको एवार्ड जिते भने यही चलचित्रबाट दीपकराज गिरी तथा प्रदीप भट्टराईले सर्वोत्कृष्ट पटकथाको एवार्ड जिते । यही चलचित्रबाट शिवहरी पौडेलले सर्वोत्कृष्ट सह अभिनेताको एवार्ड जितेका छन् । सुरेन्द्र पौडेलले चलचित्र कृबाट सर्वोत्कृष्ट सम्पादकको एवार्ड जिते भने यही चलचित्रबाट पुरुषोत्तम प्रधानले सर्वोत्कृष्ट छायांकरको एवार्ड जिते ।
समारोहमा चलचित्र ‘भुईंमान्छे’ लाई जरी एवार्ड प्रदान गरियो भने अभिनेताद्वय सुनिल थापा तथा रमेश बुढाथोकीलाई क्रमश: शेर बहादुर तथा भुईंमान्छे चलचित्रका लागि स्पेशल मेन्सन एवार्डबाट पुरस्कृत गरियो । सिजी क्रिटिक्स एवार्ड फेशनतर्फ अनु श्रेष्ठ, संगीततर्फ कालीप्रसाद बास्कोटा तथा रगंमञ्चतर्फ विरेन्द्र हमाललाई प्रदान गरियो ।
समारोहमा कीर्तिमय दिर्घ योगदान सम्मानबाट सम्मानितहरुको सम्मानमा विभिन्न गायक–गायिकाहरुले ती स्रष्टाका गीतहरु प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय बनाएका थिए । त्यसक्रममा आनन्द कार्की, मीना निरौला, निशा देसार, रामचन्द्र काफ्ले, निशान भट्टराई, बानिका प्रधान, सुरेश लामा आदिले संगीतकार शम्भूजीत बासकोटाद्वारा संगतिबद्ध कालजयी गीतहरु प्रस्तुत गरेका थिए । सांगीतिक नाटकमार्फत अभिनेताद्वय सरोज खनाल तथा वीरेन्द्र हमालले मार्मिक प्रस्तुतीले दर्शकलाई भावुक बनाएको थियो ।
समारोहमा कविराज गहतराजको कोरियोग्राफीमा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द थापादेखि पछिल्लो पुस्ताका अभिनेता प्रदीप खड्का तथा जसीता गुरुङसम्मले विभिन्न कालखण्डका गीतमा नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरे । त्यसक्रममा दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, प्रियंका कार्की, आयुशमान देशराज जोशी, नीता ढुंगाना आदिले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । नरेश भट्टराईसंगै अभिनेताहरु सरोज खनाल र प्रदीप खड्का तथा अभिनेत्रीहरु गौरी मल्ल र केकी अधिकारीको उद्घोषणले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।