साप्ताहिक संवाददाता
धेरैजसो आफूले भोलिपल्ट गर्नुपर्ने कामका बारेमा सोच्छु, साथै आफूले अहिलेसम्म गरेका कामका सम्बन्धमा पनि सोचिरहेको हुन्छु ।
अर्जुन तिवारी, छायाँकार
म प्राय: मानिसहरूसँगको व्यवहार र सम्बन्धका बारेमा सोच्छु । त्यसबाहेक तत्कालिन परिस्थिति र माहोलले पनि सोचाइमा फरक पार्छ ।
प्रकाश सपूत, गायक
म आफ्नो करियरलाई कसरी सफल बनाउन सक्छु भन्ने विषयमा सोचिरहेको हुन्छु ।
विनोद न्यौपाने, अभिनेता
धेरैजसो भविष्यका बारेमा सोचिरहेकी हुन्छु । व्यस्तताले गर्दा धेरैकुरा बिर्सिरहेको हुन्छु । एक्लै भएँ भने आफ्नो भविष्यका बारेमा सोच्दा तनाव हुन्छ ।
पूर्णिमा लामा, अभिनेत्री
कसरी पैसा कमाउने होला भनेर सोचिरहेको हुन्छु ।
रामचन्द्र काफ्ले, गायक
धेरैजसो आफ्नो घर–परिवारका बारेमा सोचिरहेकी हुन्छु ।
अशिष्मा नकर्मी, अभिनेत्री
जीवनको यो मोडसम्म आइपुग्न गरेको संघर्षका बारेमा सोचिरहेकी हुन्छु । त्यसका साथै दर्शकको माया, अब दर्शकलाई कुन कोसेली दिने, गीत–संगीतमा देखिएको विकृतिलाई आफ्ना तर्फबाट कसरी निर्मूल पार्ने भन्ने कुरा सोचिरहेकी हुन्छु, अनि थोरै घर परिवारको खुसीका बारेमा सोच्छु ।
सम्झना भण्डारी, गायिका
नेपाललाई कसरी समृद्धिको बाटोमा लान सकिन्छ, कसरी सकारात्मक सोचको विकास गराउन सकिन्छ भन्ने कुरा सोचिरहेको हुन्छु ।
राजाराम गौतम, रंगकर्मी
एकान्तमा लामो समय बस्नुपर्यो भने धेरैजसो घर परिवारका बारेमा सोचिरहेकी हुन्छु । काठमाडौंबाहिर घर भएर होला घर जान धेरै मन लाग्छ । यदि घरमा भएको भए यस्तो गर्दै हुन्थें होला भन्ने सोच्छु ।
पुजन थापा, मोडल
म कहिलेसम्म बाँचुँला । यदि म अहिले नै मरें भने मेरो परिवार अनि छोराछोरी कस्ता हुन्छन् होला भन्ने कुरा सोचिरहेको हुन्छु । अनि अर्को कुरा धनी बन्ने भन्दा पनि गरिबहरूलाई केही सहयोग गर्न पाए हुन्थ्यो भन्ने चिन्तन गर्छु ।
शंकर बिसी, निर्देशक
आफूले जिन्दगीमा भोगेका दु:ख पीडाहरू सम्झेर बस्छु भने आफ्ना गल्ती–कमजोरीहरू पनि महसुस गरिरहेकी हुन्छु ।
ज्योति शर्मा, मोडल
सबैभन्दा बढी आफ्नै बारेमा सोचिरहेकी हुन्छु । भीडभाडमा हुँदा आफ्ना बारेमा सोच्ने समय नै पाउँदिन, त्यसैले कामको पीडा भुलेर आफ्ना लागि सोच्छु । जब म एक्लै हुन्छु त्यतिबेला सबैभन्दा बढी छुटेका बिर्सिएका दिन सम्झिएर पिरोलिन्छु फेरि भोलिपल्ट बिर्सिहाल्छु । यद्यपि म एकान्तमा बस्न एकदम रुचाउँछु । एक्लै आफैंमा रमाउनु मेरो सबैभन्दा खुसी र मनोरञ्जनको पाटो हो ।
सुप्रिया कटुवाल, मोडल
म एकान्तमा बसेका बेलामा अब आफ्नो करियर कसरी अघि बढाउने भनेर सोचिरहेको हुन्छु ।
विशाल थापा, मोडल
म गीत–संगीतको कामले राजधानीमा छु । बुबाआमा गाउँमा हुनुहुन्छ । उहाँहरू वृद्ध हुनुभयो । परिस्थितिवश सँगै बस्न पाइएको छैन । यतिबेला बुबा–आमाको साथमा रहेर बुढेसकालको सहारा बन्न पाए हुन्थ्यो भन्ने लाग्छ । बुबा आमाले एक्लो अनुभव गर्नु भयो कि भन्ने सोचिरहेको हुन्छु ।
याम क्षेत्री, लोकगायक
मुडअनुसार हुन्छ । त्यतिबेला दिमागमा कुन कुरा खेल्छ त्यसमै भर पर्छ ।
सुशीला गौतम, गायिका
म सानैदेखि गीतसंगीतमा लागेको भएर पनि होला होला, फुर्सदका बेला कतै एकान्तमा गएर बसें भने नयाँ सिर्जनाका बारेमा सोचिरहेको हुन्छु ।
कृष्ण काफ्ले, गायक