साप्ताहिक संवाददाता
भाइटीकाको केही दिनपछि अभिनेत्री नीता ढुंगानाले फेसबुकमा एउटा तस्बिर पोस्ट गर्दै लेखिन्– ‘केही दिनका लागि नेपाल छाड्दै...’ । तस्बिरमा उनी विमानभित्र देखिन्थिन् । धेरैले उनलाई शुभयात्रा भने पनि अधिकांशले उनी कहाँ गैरहेकी छिन् भन्ने पत्तो पाएनन् ।
त्यसको चार दिनपछि दुईवटा सेल्फी अपलोड गर्दै नीताले लेखिन्– ‘एट राँची ।’ ह्यास ट्यागमा उनले इन्डिया तथा सुट टाइम पनि लेखिन् । यति भनेपछि धेरैले अनुमान गरे, उनी भारतको राँचीमा छायांकन भैरहेको कुनै चलचित्रका लागि त्यता गएकी हुन् । त्यसको दुई दिनपछि नीताले झारखण्डमा चलचित्रको छायांकन भैरहेका केही तस्बिर अपलोड गरिन् । ती तस्बिरमा भोजपुरी चलचित्रका सुपरस्टार निरहुवा पनि देखिन्छन् ।
यति भैसकेपछि के कुरा स्पष्ट भैसकेको थियो भने नीताले भोजपुरी चलचित्रमा अभिनय गरेकी हुन्, जसमा उनको जोडी छन्— निरहुवा । त्यसबीच अभिनेता निरहुवाले आफ्नो अफिसियल पेजमा नीतासहितको एउटा ग्रुप फोटो पोस्ट गर्दै ‘शेरे हिन्दुस्तान’ शीर्षकको उक्त चलचित्रको छायांकन सम्पन्न भएको उल्लेख गरेका छन् । रमाइलो कुरा के छ भने अभिनेत्री ढुंगानाले पहिलो पटक अभिनय गरेको भोजपुरी चलचित्रमै सुपरस्टारको साथ पाएकी छिन् । अब हेर्नु छ, उनले आफ्नो यो यात्रालाई कहाँसम्म पुर्याउने हुन् ?