साप्ताहिक संवाददाता
स्वरसम्राट नारायण गोपालको २८ औँ स्मृति दिवसको अवसर पारेर उनको अन्तिम गीत रेकर्ड गरिएको छ । गायक रामकृष्ण ढकालले नारायण गोपालको अन्तिम संगीत रहेको ‘मेरो भुगोल त्यही नै हो जहाँ तिमी अटाउछौँ’ बोलको गीत रेकोर्ड गरेका हुन् ।
कमलपोखरीमा रहेको भोईस रेकर्डिङ स्टुडियोमा गायक ढकालले उक्त गीत रेकर्ड गरेका हुन । बिष्णुबाबु देवोकोटाले लेखेको उक्त गीतमा प्रदिप श्रेष्ठले संगीत संयोजन गरेका छन् । झण्डै ३५ वर्ष अघि नारायण गोपालले यो गीतमा संगीत गरेका थिए ।
नारायण गोपालको निधन भएको २८ वर्षपछि उक्त गीत रेकर्ड गरिएको हो । गीत रेकर्ड पछि पत्रककार सम्मेलन समेत गरिएको थियो । पत्रकार सम्मेलना गायक रामकृष्ण ढकालले भावुक हुँदै भने– ‘मैले जसको गीत सुनेर र गाएर आफ्नो सांगीतिक जीवनको सुरुवात गरेको थिए, उहाँ वितेको २८ वर्षपछि उहाँले नै संगीत गरेको गीत गाउँन पाउँनु मेरो ठूलो भाग्य हो ।’ उनले आँखाभरी आँसु पार्दै थपे ‘सायद उहाँप्रति यो भन्दा ठूलो श्रद्धाञ्जली अरु हुँदैन् ।’ गीतकार देवकोटाले नारायण गोपालले आफ्नो गीतमा संगीत गर्नुनै आफ्नो ठूलो भाग्य भएको बताए ।