साप्ताहिक संवाददाता
दीपिका प्रसाईँ, अभिनेत्री
धनगढी
धनगढी मलाई घुम्न जान मन लागिरहने ठाउँ मध्ये एक हो । म धनगढीमै जन्मिएँ, हुर्किएँ । त्यसैले पनि मलाई धनगढी एकदमै मनपर्छ । यसपालिको दसैंमा पनि म धनगढी गएकी थिएँ । अब फेरि फुर्सद मिले जाने योजनामा छु ।
पोखरा
चलचित्र छक्कापञ्जा–३ को सुटिङका क्रममा केही समय पोखरा बसेकी थिएँ । त्यति बेला खासै घुमघाम गर्ने मौका त मिलेन तर मलाई पोखराको मनमोहक प्राकृतिक दृश्यले लोभ्याएको छ । त्यसैले अब फेरि एकपटक घुम्ने योजना सहित पोखरा पुग्न मन लागिरहेको छ ।
झापा
मलाई झापा जान एकदमै मन लागेको छ । मेरो बुबाको जन्मस्थान भएकाले पनि ममा झापा जाने इच्छा जागेको हो ।
पाल्पा
पाल्पा मेरी मम्मीको जन्मस्थल हो । म सानैमा पाल्पा गएकी थिएँ । सानै भएकाले त्यहाँको धेरै कुरा सम्झना छैन । त्यसैले म एकपटक पाल्पा घुम्न जाने योजनामा छु ।
मुस्ताङ
म चलचित्र ऐश्वर्यको सुटिङका क्रममा मुस्ताङ पुगेकी थिएँ । त्यति बेला सुटिङले गर्दा त्यति घुम्न पाइनँ । अब चाहिँ घुम्ने योजनाका साथ मुस्ताङ पुग्न मन लागिरहेको छ ।