मोजमस्तीको जीवनशैली । टन्न फ्यान फलोइङ । जहाँ पुगे पनि भीडले घेर्छ । तस्बिर खिचाउन र भेट्न मरिहत्ते गर्नेहरू उत्तिकै हुन्छन् । सेलिब्रेटीहरूको जीवन बाहिरबाट देख्दा निकै चमक–दमकपूर्ण देखिन्छ, तर उनीहरूका आफ्नै पीडा छन् । कला बेचेर पेट पाल्नसमेत धौ–धौ हुने नेपाली कलाबजारमा कार्यरत कलाकारहरूले काम गरेको पारिश्रमिक नपाउनु त्यति नौलो कुरा होइन । कति कलाकारले पारिश्रमिक पाए पनि आधा रकममा चित्त बुझाउनुपरेको छ ।
काम गरेको पारिश्रमिक नपाउने कलाकारको संख्या लगातार बढिरहेको छ । कतिले आफ्नो नाम खुलाएरै भने, कतिले गोप्य राख्ने सर्तमा, तर अधिकांशले चलचित्र, म्युजिक भिडियो तथा टेलिसिरियलमा काम गरेको पारिश्रमिक नपाएको बताए ।
काठमाडौंको लाइफस्टाइलमा बाँच्न गाह्रो छ । कोठा नि:शुल्क पाइँदैन, बाइक पानीले चल्दैन, साँझ–बिहान खानै पर्यो, कलाकार कमल देवकोटा दु:ख पोख्दै भन्छन्– यस्तो महँगीमा नि:शुल्क काम गर्नुपर्दा साह्रै दु:ख लाग्छ । प्रहरीमा किन उजुरी नगरेको ? उनले भने– प्रहरीमा उजुरी गर्ने हो भने त्यो रोकिएको पारिश्रमिक त पाइएला त्यसपछि यो क्षेत्रमा काम पाउन थप सकस् हुन्छ ।
चर्चित कलाकार माग्ने बूढा (केदार घिमिरे) नेपालका कलाकारहरू पारिश्रमिक नपाउने समस्याबाट पीडित भएको बताउँछन् । उनी आफैंले समेत मेरीबास्सैबाट ठूलै रकम लिन बाँकी छ । उनले सबै कलाकारले सम्झौता गरेर मात्र काम गर्नुपर्ने बताए । एग्रिमेन्ट भयो भनेपछि पारिश्रमिक नपाएको खण्डमा प्रहरीमा उजुरी गर्न सहज हुने घिमिरेको तर्क छ ।
चर्चित कलाकार राजाराम पौडेलले पछिल्लो समय अभिनय गरेको चलचित्र क्याप्टेनवाट पारिश्रमिक पाएका छैनन् । उनले पारिश्रमिक नपाएकै कारण चलचित्रको डविङमा नगएको बताए । आफ्ना छोराको ५० लाख रे † मलाई फ्री मा गरिदिनुस् ? कलाकार राजाराम भन्छन्, ‘अहिलेसम्म १ रुपैया पाएको छैन, पैसा नपाउँदासम्म डविङमै जान्न ।’ आफ्नो क्यारेक्टरको डविङ अर्कैले गरिदिए उनले प्रहरीमा उजुरी दिने बताए । उनी भन्छन्, ‘भुवन मात्र होइन, यस्ता केही व्यक्ति छन्, जसले कलाकारको पारिश्रमिक नदिएरै श्रम शोषण गरिरहेका छन् ।’
अभिनेत्री बेनिशा हमाल यस्तो समस्याबाट आफू पनि पीडित भएको बताउँछिन् । आफूसँग काम गर्ने साथीभाइको समस्या समेत उनले सुनिरहेकी छिन् । चलचित्रको त खासै छैन तर तीनवटाजति म्युजिक भिडियोको पैसा प्राप्त गर्न बाँकी छ, उनले भनिन् । वेनिशाजस्तै पीडित छिन् अभिनेत्री सुरक्षा पन्त । पन्त भन्छिन्– निकै दु:ख गरेर काम गर्नुपर्छ तर काम गरेको पारिश्रमिक नपाउँदा जोसुकैलाई रिस उठ्छ ।
पारिश्रमिक नपाएकी अभिनेत्रीको सूचीमा अहिलेकी लोकप्रिय अभिनेत्री केकी अधिकारी पनि छिन् । उनले केही चलचित्रबाट पारिश्रमिक पाएकी छैनन् । अधिकारी भन्छिन्– अन्य चलचित्र, म्युजिक भिडियो आदिमा समयमै रकम बुझेकी थिए तर केही चलचित्रबाट रकम प्राप्त गर्न निकै सकस भएको छ । लफडा पनि कति पटक गर्नु भन्या ?
पारिश्रमिकको लफडामा राजेश हमाल पनि पटक–पटक परेका छन् । २७ वर्षे चलचित्र यात्रामा आफू धेरै पटक यस्तो समस्यामा परेको उनले बताए । हमाल भन्छन्– कुरा जति गरे पनि सकिँदैन, कहिले किच–किच गर्यो, कहिले पायो कहिले त्यतिकै चित्त बुझायो । आफूले कोसँग कति रकम लिनुछ भन्ने कुराको लेखाजोखा समेत नगरेको हमालले बताए । अभिनेत्री स्वस्तिमा खड्काले एउटा चलचित्रबाट पारिश्रमिक पाएकी छैनन् । ५ वर्षअघि प्रदर्शित एक चलचित्रबाट पूरा पारिश्रमिक नपाएको उनले बताइन् ।
कलाकार विजय बरालले करियरको सुरुवातमा यस्तो पीडाबाट गुज्रिनुपरेको बताए । उनले वधशाला र कर्कस चलचित्रको पारिश्रमिक अहिलेसम्म पाएका छैनन् । हाउ फन्नीमा काम गरेबापतको पूरा पारिश्रमिक लिन बाँकी छ । यति मात्र होइन उनले एक विज्ञापनको समेत पारिश्रमिक पाएका छैनन् । तोकिएको पारिश्रमिक सबैले पाउनुपर्छ, बराल भन्छन्– यो विषयमा निर्माताहरू गम्भीर हुनुपर्छ ।
लामो समयदेखि अभिनयमा सक्रिय कलाकार सूरवीर पण्डित नेपाली चलचचित्रमा काम गरेपछि पैसा पाउन निकै गाह्रो हुने बताउँछन् ।
काम पाउनुभन्दा पारिश्रमिक प्राप्त गर्न गाह्रो छ, पण्डित भन्छन्– धेरै पटक उनीहरूको घरमा पुगेर घण्टौंसम्म बसेर पैसा असुलेको छु, कतिपयले भोलि दिन्छु भन्छन्, तर उनीहरूको भोलि कहिल्यै आएन । मौखिक सम्झौतामा काम गर्ने बानीले समेत आफू तनावमा परेको कलाकार पण्डित बताउँछन् । पण्डितका अनुसार कतिपय निर्माताको त नियतमै खोट छ ।
अभिनेता सविन श्रेष्ठ भन्छन्– पारिश्रमिकको विषयमा कलाकार स्वयं चनाखो हुनुपर्छ । यस्ता घटना गल्ली–गल्लीमा भेटिन्छन्, उनले थपे– कसको नियत कस्तो छ भन्ने विषयमा सुरुमा थाहा हुँदैन, सकेसम्म एग्रिमेन्ट गरेको रकम सुरुमै लिने हो भने पछि दु:ख पाउनु पर्दैन । क्यामेराम्यान सुदीप बराल नेपाली चलचित्रमा बलियो कानुन आवश्यक रहेको बताउँछन् । मैले सुनेको र देखेको कुरा के छ भने धेरैभन्दा धेरै कलाकार पारिश्रमिक नपाउने सूचीमा छन् ।
प्राविधिकका समस्या पनि उस्तै
सिनेमाट्रोग्राफर शैलेन्द्र डी कार्कीले काम गरेको रकम नपाएका धेरै उदाहरण छन् । उनले वधशालामा काम गरेको पारिश्रमिक पाएका छैनन् । नियमित काम गरिरहेकाहरूसँग कहिल्यै किचलो हुँदैन्, कार्की भन्छन्– पछिल्लो पटक चलचित्र ड्रिम्सको पारिश्रमिक नपाएको थाहा पाएर सेन्सरले उक्त चलचित्र रोकिदिएपछि पूरा रकम पाएको थिएँ । कलाकारहरूजस्तै चलचित्र क्षेत्रमा काम गर्ने प्राविधिकहरू पनि यस्तो समस्याबाट पीडित भएको कार्कीले बताए । दृश्य सम्पादक शाहिल खानले भाग्यवश आफूले लगभग सबै चलचित्रबाट रकम पाए पनि केही किच–किच गर्नुपरेको बताए । खानका अनुसार चलचित्र क्षेत्रमा कार्यरत अधिकांश प्राविधिक यस्तो समस्याबाट पीडित छन् । कुनै पनि चलचित्रमा काम गर्ने प्राविधिकले पारिश्रमिक नपाएको खण्डमा नेपाल चलचित्र प्राविधिक संघमा उजुरी हाल्न सकिन्छ, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा भन्छन्– थुप्रै निर्माताले प्राविधिकहरूलाई काममा लगाएपछि पारिश्रमिक नदिएको पाएका छौं, कतिपय समस्या समाधान भएका छन् भने कतिपय भएका छैनन् । कोही पीडित छन् भने हामी सुरुमा निर्मातासँग छलफल गर्छौं त्यसपछि सेन्सर वोर्ड र चलचित्र विकास बोर्डलाई सहयोगका लागी पत्र काट्छौं, लामाले बताए ।
किन यसो गर्छन् निर्माता ?
निर्माताहरू विश्वासिला नहुँदा थुप्रै कलाकारले पारिश्रमिक पाएका छैनन् । आर्थिक शोषणमा परेका धेरै कलाकारले भविष्यमा चलचित्रमा काम नपाउने डरका कारण निर्माताको नाम भन्ने आँटसम्म गर्दैनन् । अभिनयको नशा लागिसकेका कलाकार काम गुम्ने डरले यस्ता कुरा सार्वजनिक गर्न चाहदैनन् । एक कलाकार नाम नखुलाउने सर्तमा भन्छन्– सानो बजेट लिएर चलचित्र बनाउन आउने निर्माता धेरै छन्, कतिपयले चलचित्र चल्यो भने दिन्छन्, नत्र अधिकांश चलचित्र प्रदर्शनपछि बेपत्ता हुन्छन् । अमेरिका पलायन भएका एक चर्चित कलाकार भन्छन्– नेपाली निर्माताहरू सकेसम्म नि:शुल्क काम गराउन खोज्छन्, रकम दिए पनि आधा दिन्छन् । यसबाट क्षणिक लाभ त होला तर कालान्तरमा यसको नकारात्मक असर देखिने पक्का छ । एक अभिनेता भन्छन्– सकेसम्म आफ्नो पकेट ठूलो बनाउने नियतको मार कलाकार तथा प्राविधिकहरूमा परेको छ । बिचौलियाहरू यो क्षेत्रका बारेमा नबुझेका व्यापारी तथा एनआरएनलाई निर्माण क्षेत्रमा ल्याउने र सकेसम्म बढी रकम झ्वाम पार्ने नियतमा रहेको कतिपय कलाकार बताउँछन् ।
उजुरी गर्नुहोस्, पैसा पाउनुहुन्छ
आकाश अधिकारी, अध्यक्ष, निर्माता संघ
हामीले धेरै पटक यस्ता खालका घटना सुनेका छौं । धेरै निर्माताले पारिश्रमिक नदिएका घटना बाहिर आउँदा राम्रा चलचित्र बनाउने र सबै कलाकारलाई पारिश्रमिक दिने निर्माताको पनि इज्जतमा दाग लाग्छ । गलत सोच र नियतले चलचित्र बनाउन आउनेहरूका कारण नेपाली कलाकारहरूले यो समस्या भोग्नुपरेको छ ।
मैले यसअघि पनि भन्दै आएको कुरा के हो भने कुनै निर्माताबाट पारिश्रमिक नपाएको खण्डमा तुरुन्त संघमा निवेदन दिनुहोस्, पैसा निकाल्ने काममा हामी सहयोग गर्छौं । हामीसँग एउटा न्यायिक समिति छ, उक्त समितिले यो समस्याको समाधान गर्नेछ । समस्या भए आउनुहोस्, केही चिन्ता लिनुपर्दैन । पछि काम पाइँदैन कि, कसैले केही भन्ला कि भन्ने सोचले आफ्नो समस्या आफैंसँग राख्दा पनि यस्तो समस्या बढ्दै गएको हो ।