साप्ताहिक संवाददाता
मंसिर २१, २०७५
१० वर्षको कठीन मेहनतपश्चात् संसारकै पहिलो फुल बडी मेडिकल स्क्यानर तयार भएको छ । उक्त स्क्यानरले एकैपटक शरीरको थ्रीडी इमेज डेभलप गरेर शरीरको गहिराइसम्म पुगी सबै जानकारी लिन सक्छ ।
यसले हाल प्रचलित पीईटी स्क्यानको तुलनामा ४० गुणा तीव्र गतिमा काम गर्छ, जसका कारण एकदमै कम समय अर्थात २० देखि ३० सेकेन्डमै बिरामीको सबै रिपोर्ट उपलब्ध हुन्छ । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया तथा चीनको सांघाईस्थित मेडिकल प्रोडक्ट निर्माता कम्पनी युनाइटेड इमेजिङ हेल्थकेयर मिलेर उक्त स्क्यानर विकास गरेका हुन् ।
एक्स्प्लोरर नामक यो फुल बडी स्क्यानरले तयार गरेको पहिलो इमेज हालै सार्वजनिक भएको छ, जसमा बिरामीको शरीरको पूरै भागलाई थ्री डाइमेन्सनमा देखाइएको छ ।