साप्ताहिक संवाददाता
नेपालका वरिष्ठ फेसन डिजाइनर हुन्— राजेश धाख्वा । काठमाडौंको पुतलीसडकमा जन्मिएका धाख्वाको बाल्यकाल सामान्य ढंगले बित्यो । सहिद शुक्र माविबाट प्रारम्भिक शिक्षा लिएका धाख्वाले डिल्लिबजारस्थित विजय स्मारक स्कुलबाट एसएलसी उत्तीर्ण गरे । त्यसपछि उनी आईए अध्ययनका लागि पब्लिक युथ क्याम्पसमा भर्ना भए । धाख्वाका बाबु–बाजे कपडा व्यापारी थिए । उनीहरू ल्हासाबाट कपडा ल्याएर नेपालमा बिक्री गर्थे । यसरी बाबु–बाजेले गर्दै आएको पेसालाई आधुनिक ढंगले अघि बढाउने उद्देश्यले धाख्वा काठमाडौं पोलिटेक्निक इन्स्टिच्युटमा भर्ना भए, जहाँ उनले फेसन डिजाइनिङमा डिप्लोमा गरे । फेसन डिजाइनिङमा आफूलाई थप पोख्त बनाउने उद्देश्यले उनी सिंगापुर गए । सिंगापुरको सेलेजिया आर्ट एन्ड डिजाइन स्कुलमा उनले कलर मेकिङ तथा प्याटर्न मेकिङको स्पेसल कोर्स गरे ।
यतिबेलासम्म धाख्वाले विदेशतिरै फेसन डिजाइनिङको काम गरेर बस्ने सोच बनाएका थिए । यद्यपि जब उनले सिंगापुरको विकासलाई प्रत्यक्ष नियाले त्यसपछि आफ्नो सोंच बदलिएको धाख्वा बताउँछन् । सिंगापुरमा अध्ययन पूरा गरेपछि धाख्वा नेपाल फर्किए । त्यसपछि उनले २०५३ सालमा मध्यम वर्गलाई लक्षित गर्दै कुपण्डोलमा चाहत बुटिक सञ्चालनमा ल्याए ।
मध्यम वर्गलाई लक्षित गरी आफूले नै नेपालमा पहिलोपटक बुटिक सञ्चालनमा ल्याएको दाबी धाख्वाको छ । सुरु–सुरुमा बुटिक सञ्चालन गर्न निकै कठिन भएको धाख्वा बताउँछन् । पहिलो समस्या त उनलाई दक्ष कामदारको नै थियो । त्यतिबेला भारतबाट ४ जना कालिगढ ल्याएर बुटिक सञ्चालन गरेको धाख्वा बताउँछन्, जतिबेला नेपालीहरूमा बुटिकसम्बन्धी खासै जानकारी थिएन । यसले उनलाई थप समस्यामा पार्यो । धाख्वा भन्छन्– नेपालीहरूमा बुटिकका बारेमा जानकारी नहँुदा धेरै गाह्रो भयो, तर मैले हिम्मत हारिन नि:शुल्क रूपमा कस्तो वर्ण भएका मानिसले कस्तो रंग संयोजन गर्ने, मोटो मान्छेले दुब्लो देखिन कस्तो पहिरन लगाउने आदि कुराहरू बुझाउन थालेपछि भने केही सहज हुँदै गयो ।
त्यसपछि धाख्वा फेसन डिजाइनरका रूपमा चर्चामा आउन थाले । उनले बुटिक सञ्चालनमा ल्याएकै वर्ष मिस नेपालको आधिकारिक फेसन डिजाइनरका रूपमा काम गरे । त्यसयता धाख्वाले तीन पटक मिस नेपालको आधिकारिक फेसन डिजाइरका रूपमा काम गरिसकेका छन् । सोही वर्ष धाख्वाले बेस्ट डिजाइनर अफ द इयरको एवार्डसमेत प्राप्त गरेका थिए । कुपन्डोलमा बुटिक सञ्चालनमा ल्याएको केही समयपछि उनी जापान गए । जापानको टोकियोस्थित बुन्का गाकुयानमा उनी अन्तर्राष्ट्रिय वर्कसपमा सहभागी भए भने वर्कसपकै क्रममा उनले जापानमा पहिलो पटक फेसन सो गरे । त्यसपछि उनले फेसनसम्बन्धी अध्ययनका लागि जापानमै छात्रवृत्ति प्राप्त गरे ।
त्यतिबेला नेपाल–जापानबीच सांस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यले आयोजित फेसन शोमा नेपालका विभिन्न जातजाति तथा जापानी राष्ट्रिय पोसाक किमोनो मिलाएर सांस्कृतिक विविधता झल्काउने खालको फेसन शो गरेको धाख्वा सम्झन्छन् । उक्त फेसन शो जापानमा नेपाली पहिरन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित गरिएको थियो । धाख्वा भन्छन्– मैले जापानमा विशेषगरी नेपाली पहिरन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त फेसन शो गरेको थिएँ त्यसपछि, प्राकृतिक कपडा, रेशाबाट बनेका नेपाली कपडाको प्रवद्र्धनका लागि अरू थुप्रै फेसन शो गरेँ ।
जापानबाट फर्किएपछि उनले जापानको राष्ट्रिय पोसाक किमोनो बनाउन थालेँ । व्यवसायिक रूपमा किमोनो बनाउने पहिलो नेपाली आफू नै भएको धाख्वा बताउँछन् । त्यसक्रममा उनलाई जापानका थुप्रै गार्मेन्ट कम्पनीले जागिरका लागि अफर गरे । नेपालमै आफ्नो नाम स्थापित गर्छु भन्ने लागेर आफू नेपाल फर्किएका राजेश भन्छन्– म जापानमै बसेर मनग्य पैसा कमाउन सक्थें तर आफ्नो देशमै केही गरौं भनेर आफ्नै व्यवसायलाई अघि बढाएँ ।
नेपाल आएर उनले जापानमा सिकेका कुरालाई चाहत बुटिकमार्फत अघि बढाएँ । त्यसपछि उनको चर्चा जताततै हुन थाल्यो । पत्रपत्रिका तथा टेलिभिजनहरूमा उनका अन्तर्वार्ता आउन थाले । यही सिलसिलामा जापानी टेलिभिजन एनएचकेले उनको बायोग्राफी प्रसारण गर्यो । धाख्वाले हालसम्म १० वटा देशमा फेसन सो गरिसकेका छन् । यसका साथै नेपाली चलचित्र तथा म्युजिक भिडियोमा फेसन डिजाइनिङको सुरुवात पनि धाख्वाले नै गरेका हुन् । चलचित्र ए मेरो हजुरबाट आफूले नै पहिलोपटक चलचित्रमा ड्रेस डिजाइनिङ सुरु गरेको उनी बताउँछन् । त्यसयता उनले ५० भन्दा बढी चलचित्रमा आधिकारिक ड्रेस डिजाइनरका रूपमा काम गरिसकेका छन् ।