साप्ताहिक संवाददाता
विवाहको आयोजना आफैंमा एक बृहत् र स्मरणीय कार्यक्रम हो । सम्बन्धित घरपरिवारले यसलाई जतिसक्दो भव्य, आकर्षक एवं व्यवस्थित बनाउने प्रयास गरेका हुन्छन् । त्यसका लागि निम्तो दिने, घरको सजावट, सवारी साधनको जोरजाम, लुगाफाटा किनमेल, श्रृंगारपटार, खानपानको मेलोमेसो, आगन्तुकको हेरचाह जस्ता यावत् कुराको व्यवस्थापन गर्नुपर्ने हुन्छ । अहिलेको व्यस्त दिनचर्यामा के यो सम्भव छ ?
सम्बन्धित घर–परिवारका सदस्यहरू त्यस्ता कुरामा समय खर्चन सक्दैनन् । वैवाहिक कार्यक्रममा रमाउन चाहनेहरू ती सबै झन्झटको भार बोक्न चाहँदैन । त्यसैले सम्पूर्ण तनावबाट मुक्त भएर भव्यताका साथ वैवाहिक कार्यक्रम आयोजना गर्न वेडिङ प्लानर्सलाई जिम्मेवारी सुम्पन्छन् ।
बृहत् सम्भावना बोकेको करियर क्षेत्र हो–वेडिङ प्लानर्स । संसारभर यसको अभ्यास वर्षौं अघिदेखि हुँदै आए पनि नेपाली परिवेशमा यो नयाँ नै मानिन्छ । केही इभेन्ट म्यानेजमेन्ट कम्पनीले अहिले ‘वेडिङ प्लानिङ’को काम गरिरहेका छन् ।
इभेन्ट म्यानेजमेन्टकै एउटा पाटो हो–वेडिङ प्लानिङ । कसैको विवाहको सम्पूर्ण जिम्मेवारी बहन गरेर त्यसलाई भव्य एवं रचनात्मक तरिकाले सम्पन्न गर्ने काम यसमा पर्छ । वेडिङ प्लानिङ सम्बन्धित घर–परिवारको बजेट र रुचिमा निर्भर हुन्छ ।
वेडिङ प्लानरले दुलाहा/दुलही सिंंगार्ने, विवाहस्थललाई आकर्षक बान्कीमा सजाउनेदेखि भोजभतेरको योजनासम्म तय गर्नुपर्ने हुन्छ । कार्ड डिजाइन गर्ने, कार्ड छाप्ने एवं आफन्त तथा इष्टमित्रको हात–हातमा पुर्याउने जस्ता सामान्य काम पनि यसैमा समेटिन्छन् । त्यस्तै, विवाहका लागि आवश्यक लताकपडा एवं खाद्यान्न किनमेल गर्ने, सवारी साधनको व्यवस्था गर्ने जस्ता काममा पनि उनीहरूको भूमिका रहन्छ ।
वैवाहिक कार्यक्रम कस्तो शैलीको बनाउने, विवाह स्थललाई कसरी सजाउने, आगन्तुकको स्वागत कसरी गर्ने, खानपानको व्यवस्था कस्तो गर्ने यी सबै समस्याको हल वेडिङ प्लानर्ससँग हुन्छ । त्यसैले वेडिङ प्लानर्सले बजेटअनुसार विवाहको सम्पूर्ण रूपरेखा त तयार गर्छन् नै, कामको जिम्मेवारीसमेत बहन गर्छ ।
के गर्नुपर्छ
जोसँग इभेन्ट अर्गनाइज गर्ने खुबी छ, उसैले यो क्षेत्रमा प्रगति गर्न सक्छ । कुनै पनि कामलाई पूर्ण जिम्मेवारीका साथ सम्पन्न गर्ने क्षमता भएकाहरूले वेडिङ प्लानिङको क्षेत्रमा हात हाले हुन्छ । बिना झन्झट सानोतिनो कामदेखि गम्भीर दायित्वसमेत बहन गर्न सक्ने व्यक्तिले वेडिङ प्लानर्सका रूपमा आफ्नो करियर चम्काउन सक्छन् ।
वेडिङ प्लानर्समा अरुको सोच र दृष्टिकोणलाई सही ढंगबाट प्रस्तुत गर्न सक्ने खुबी हुनुपर्छ । सम्बन्धित घर–परिवारको चाहना बमोजिम कलात्मक ढंगले वैवाहिक समारोह आयोजना गर्न सक्नुपर्छ । बजारमा चलेको नयाँ ट्रेन्डका सम्बन्धमा अपडेट हुने, छरितो ढंगले कामको योजना बनाउने र व्यवस्थित गर्न सक्ने, मानिसको मन रिझाउन सक्ने, समयसीमाको पालना गर्नसक्ने तथा दायित्व बोध गर्ने व्यक्तिले वेडिङ प्लानिङ गर्न सक्छन् ।
यो एउटा व्यवहारिक क्षेत्र भए पनि यसमा सैद्धान्तिक ज्ञान पनि आवश्यक हुन्छ । त्यसैले इभेन्ट म्यानेजमेन्टअन्तर्गत यसको छुट्टै कोर्स गरेको व्यक्ति नै वेडिङ प्लानिङ अर्थपूर्ण ढंगले गर्न सक्षम हुन्छ ।
आवश्यक योग्यता
वेडिङ प्लानरका रूपमा करियर बनाउन इभेन्ट म्यानेजमेन्ट गर्ने कम्पनीसँग जोडिएर व्यवहारिक अनुभव हासिल गर्न सकिन्छ । नेपालमा अहिले यस्ता थुप्रै कम्पनी छन्, जसको मुख्य ध्येय नै इभेन्ट आयोजना गर्नु हो । ती संस्थाहरूमार्फत कुनै पनि कार्यक्रमको रूपरेखा कसरी तयार गरिन्छ, त्यसका लागि कामको बर्गीकरण कसरी गरिन्छ, आवश्यक जनशक्तिलाई कसरी काममा खटाइन्छ भन्ने कुराको प्रयोगात्मक ज्ञान आर्जन गर्न सकिन्छ । त्यसैले कुनै पनि इभेन्ट म्यानेजमेन्ट कम्पनीमा आबद्ध भएर यो काममा अनुभव हासिल गर्न सकिन्छ । इभेन्ट म्यानेजमेन्ट सम्बन्धी कोर्स गरेर पनि यो क्षेत्रमा प्रवेश गर्न सकिन्छ । यो व्यवस्थापन संकायअन्तर्गत अध्ययन गर्नुपर्ने विषय हो । कुनै पनि संकायमा १२ कक्षा उत्तीर्णले इभेन्ट म्यानेजमेन्टको डिप्लोमा कोर्ससमेत गर्न सक्छन् ।
उपलब्ध कोर्स
छिमेकी मुलुक भारतका केही कलेज तथा इन्स्टिच्युटहरूले इभेन्ट म्यानेजमेन्टमा विशेष कोर्स गराउँदै आएका छन् । त्यहाँ डिप्लोमा इन इभेन्ट म्यानेजमेन्ट, पोस्ट ग्राजुएट डिप्लोमा इन इभेन्ट म्योनजमेन्ट, पोस्ट ग्राजुएट डिप्लोमा इन एड्भर्टाइजिङ, मिडिया एन्ड इभेन्ट म्यानेजमेन्ट, इभेन्ट मार्केटिङ एन्ड म्यानेजमेन्टजस्ता कोर्स गर्न सकिन्छ । यी कोर्सको अवधि १ महिनादेखि एक वर्षसम्म हुन सक्छ ।
करियर सम्भावना
विवाह मानिसको जीवनको विधिवत् प्रक्रिया हो । यसलाई सकेसम्म भव्य, उत्कृष्ट र स्मरणीय वनाउने प्रयास गरिन्छ । त्यसैले विवाहकै लागि भनेर धेरैले खर्चको जोहो गरेका हुन्छन् । जीवनमा एक पटक प्राप्त हुने यो अवसरलाई उनीहरू उम्काउन चाहँदैनन् । वैवाहिक समारोह आफैंमा झन्झटिलो कार्य हो । त्यसैले यस्ता झन्झटबाट मुक्त भएर वैवाहिक कार्यक्रम सम्पन्न गराउन आजभोलि वेडिङ प्लानर्सको खाँचो हुन थालेको छ । फलस्वरूप वेडिङ प्लानिङको क्षेत्रमा अनन्त सम्भावना ढोका खुला भएको छ ।
केही विशेषता
अन्तर्राष्ट्रिय फेसन ट्रेन्ड र स्थानीय क्षेत्रको राम्रो जानकारी हुनुपर्छ ।
हरेक धर्म र जातिको रीति रिवाजका सम्बन्धमा राम्रो ज्ञान हुनुपर्छ ।
समयसीमाको ख्याल गर्न सक्ने हुनुपर्छ ।
राम्रो कम्युनिकेसन स्किल हुनुपर्छ ।
सामाजिक प्रवृत्तिको हुनुपर्छ ।