साप्ताहिक संवाददाता
लेखक तथा पाठकलाई एउटै थलोमा भेला गराउने साहित्य उत्सव नेपाल लिटरेचर फेस्टिभलको सातौं संस्करण पोखरामा हुँदैछ । बुकवर्म फाउन्डेसनको आयोजनामा पुस ७ देखि १० गतेसम्म चल्ने यसपटकको लिटरेचर फेस्टिभल आइएमई समूहसँगको सहकार्यमा हुन लागेको हो । सन् २०११ मा थालनी भएको लिटरेचर फेस्टिभल सुरुका चार वर्ष काठमाडौंमा सञ्चालन गरिएको थियो । त्यसपछि भने निरन्तर पोखरामा आयोजना हुँदै आएको छ ।
सातौं लिटरेचर फेस्टिभल फेवाताल किनारको रत्नमन्दिर चौरमा सञ्चालन हुने फेस्टिभलका निर्देशक अजित बरालले बताएका छन् । ‘विगतका वर्षहरूमा दर्शक तथा श्रोताबाट पाएको साथ, सहयोग एवं मायाका कारण महोत्सवलाई पोखरामै निरन्तरता दिएका हौं ।’ बराल भन्छन्– ‘यस पटक विगतका वर्षको तुलनामा विदेशी लेखकहरूको संख्या बढेकाले महोत्सव अझ भव्य हुनेछ ।’
लेखक खगेन्द्र संग्रौला सामाजिक सञ्जालको बढ्दो प्रयोगले अचेल मानिसहरूको पुस्तक पढ्ने समय खाइदिएको बताउँछन् । सामाजिक सञ्जालको दुरुपयोगले रोग निम्त्याएको उनको तर्क छ । संग्रौला भन्छन्— यसले मानिसलाई एक्लो, एकोहोरो र घोइरो बनाएको छ । यस्तो बेला साहित्य महोत्सवको महत्व अझ बढेर गएको उनको ठम्याइ छ । यस्तो महोत्सवमा पाठकले आफ्ना मनपर्ने लेखक भेट्न पाउने र लेखकले पाठकसँग अन्तक्र्रिया गर्न पाउने उनी बताउँछन् ।
नेपाल लिटरेचर फेस्टिभलमा को–को आउँदैछन् ?
नेपाल लिटरेचर फेस्टिभलको सातौं संस्करणमा एक सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखकहरूको उपस्थिति रहनेछ जसमा नमिता गोखले, प्रज्वल पराजुली, हरिश नाम्बियर (भारत), मञ्जुश्री थापा (क्यानाडा), मोहम्मद हनिफ (पाकिस्तान), निकोला स्ट्रटेन (बेलायत) प्रमुख छन् । चार दिन चल्ने महोत्सवमा ३५ वटासम्म सेसन सञ्चालन हुनेछन् भने भारतका प्रख्यात लेखक गुरुचरण दासले कि नोट स्पिच दिनेछन् ।
महोत्सवका क्रममा बेलायती ग्राफिक नोभलिस्ट निकोला स्ट्रिटनले सञ्चालन गर्ने तीनदिने वर्कसपमा नि:शुल्क भाग लिन पाइनेछ जसका लागि ब्रिटिस काउन्सिलले सहयोग गरेको छ । त्यस्तै काउन्सिलकै अग्रसरतामा क्रिएटिङ हिरोइन्स प्रोजेक्ट अन्तर्गत एउटा विशेष प्रदर्शनी समेत हुनेछ । यो कार्यक्रम महिलाहरूलाई रोल मोडल बनाउनुपर्छ भन्ने उद्देश्यले सञ्चालन गर्न लागिएको हो ।