साप्ताहिक संवाददाता
एभरेस्ट प्रिमियर लिगको नयाँ संस्करण शनिबारदेखि कीर्तिपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रारम्भ भएको छ । प्रतियोगिताका आयोजकदेखि खेलाडी, प्रशिक्षक एवं टिम मालिकको दाबी सुन्ने हो भने तय छ, यसपटकको प्रतियोगिता अझ ठूलो, सनसनीपूर्ण र माथिल्लो स्तरको हुनेछ । यसपटकको प्रतियोगितामा पनि तिनै छ टिम सहभागी हुनेछन्, जसले यसअघिको संस्करणमा प्रतिस्पर्धा गरेका थिए । यस अर्थमा तिनका मालिक पनि यथावत् नै छन् ।
प्रतियोगिताका सहभागी टिम हुन्, डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्स, भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स, काठमाडौं किङ्स– ११, ललितपुर प्याट्रियटस एवं पोखरा राइनोज । सुरुमा यी टिमबीच लिग चरणको खेल हुनेछ र त्यसको शीर्ष स्थानमा रहने दुई टिमबीच सबैभन्दा पहिले क्वालिफायर–वान हुनेछ ।
त्यसको विजेताले स्वत: फाइनलमा स्थान बनाउनेछ । त्यसपछि तेस्रो र चौथो स्थानमा रहने टिमबीच इलिमिनेटर हुनेछ ।
पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ । इलिमिनेटरको विजेता र क्वालिफायर–वानमा पराजित टिमबीच क्वालिफायर–टु सञ्चालन गरिनेछ । त्यसको विजेताले तय गर्नेछ, फाइनलको यात्रा ।
यसरी प्रतियोगितामा लिग चरणमा कुल १५ खेल हुनेछन् । त्यसपछि फाइनलका लागि तीन खेल अनि अन्त्यमा फाइनल । लिग खेल्ने सबै टिमको लक्ष्य हुनेछ, कम्तीमा शीर्ष चारमा स्थान बनाउने । त्यसको अर्थ अन्तिम दुई स्थानमा रहने टिम कमजोर ठहरिने छन् ।
खेल तालिका
मिति टिम
मंसिर २२ विराटनगर–ललितपुर
मंसिर २३ ललितपुर–चितवन
भैरहवा–पोखरा
मंसिर २४ चितवन–काठमाडौं
पोखरा–ललितपुर
मंसिर २५ विराटनगर–पोखरा
चितवन–भैरहवा
मंसिर २६ भैरहवा–विराटनगर
काठमाडौं–ललितपुर
मंसिर २८ विराटनगर–चितवन
पोखरा–काठमाडौं
मंसिर २९ भैरहवा–काठमाडौं
चितवन–पोखरा
पुस १ ललितपुर–भैरहवा
पुस २ काठमाडौं–विराटनगर
पुस ३ क्वालिफायर–१
पुस ४ इलिमिनेटर
पुस ५ क्वालिफायर–२
पुस ७ फाइनल