साप्ताहिक संवाददाता
हालै इटालीको लेक कोमोमा बलिउडका चर्चित कलाकार रणवीर सिंह तथा दीपिका पादुकोणको विवाह सम्पन्न भयो । दुई दिन चलेको उक्त विवाहका लागि छानिएको भिल्लाको थिमलाई लिएर पनि निकै चर्चा भए । पहिलो दिन ह्वाइट थिममा सजाइएको भिल्ला भोलिपल्ट रेड थिममा झकिझकाउ पारिएको थियो । यो त एउटा उदाहरण मात्र हो, पछिल्ला दिनमा विवाहका सन्दर्भमा सेलिब्रेटीहरू मात्र होइन, अरूहरू पनि आफ्नो विवाहलाई फरक र अविस्मणीय बनाउन भिन्न, अलग र नवीन थिममा ध्यान दिन थालेका छन् ।
विवाह थिम फरक, अनौठो, अविस्मरणीय र आकर्षक बनाउन हरतरहले प्रयास गरिएको हुन्छ । त्यसका लागि ठाउँको छनौट, गेस्ट रिसेप्सन, सिटिङ एरेन्जमेण्ट, फ्वालर डेकोरेसन, रिसेप्सन लाउन्ज, विवाह मण्डप, लाइटिनिङ, म्युजिक, वेडिङ ड्रेस, बार आदिमा विशेष प्रयोग हुने गरेका छन् । खासगरी, पढाइ, जागिर र व्यवसायका सिलसिलामा बिदेसिएर राम्रो कमाएका, व्यवसायिक तथा धनाढ्यहरू विवाहलाई प्रतिष्ठाकै रूपमा लिँदै फरक थिममा कसरी भव्य र आकर्षक ढंगमा विवाह सम्पन्न गर्ने भन्ने कुरामा निकै चनाखो देखिन्छन् ।
कोही पाँचतारे होटल त कोही विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा पुगेर विवाह गर्छन् । अझ रोचक त के छ भने केबुलकार, माउन्टेन फ्लाइट तथा प्याराग्लाइडिङमा समेत विवाह हुँदै आएका छन् । अहिले मानिसहरूमा रोयल टच विवाहप्रतिको आकर्षण पनि बढिरहेको देखिन्छ । परम्परागत विवाहमा एउटा हल भाडामा लिएर त्यसैलाई सिगारिन्थ्यो भने अहिले सिंगो होटल नै बुक गरिन्छ ।
सविज वेडिङकी अध्यक्ष सविता महर्जनका अनुसार नेपालभित्र बस्नेहरू प्राय:जसो परम्परागत रूपमै विवाह समारोह सम्पन्न गर्छन् । बाहिरबाट आउनेहरू वा धनाढ्यहरू अलि युनिक थिममा विवाह गर्न रुचाउँछन् । ‘फरक किसिमको गाडी सजावट तथा भिन्टेज गाडीहरू खोज्छन्,’ महर्जन भन्छिन् । बग्गी, नौमती बाजा तथा डोलीलाई विवाहमा प्रयोग गरेर फरक देखिन चाहनेहरू पनि उतिकै छन् । बाहिरबाट आएकाहरूमा सीमित आफन्त र नातेदारहरूलाई लिएर रिसोर्टमा विवाह सम्पन्न गर्ने चलनसमेत बढेर गएको छ । पछि, उनीहरू फरक तरिकाले पार्टी होस्ट गर्छन् । आफ्नो विवाहलाई अविस्मरणीय बनाउनकै लागि विदेशीहरू पनि नेपाल आएर नेपाली शैलीमा विवाह गरिरहेका छन् ।