साप्ताहिक संवाददाता
आफूले चाहेको सामान पैसा हालेर किन्न मिल्ने भेन्डिङ मेसिनको प्रचलन पश्चिमी मुलुकमा प्रारम्भ भएको वर्षौं भैसकेको छ । यस्तो मेसिनबाट गरिने खरिददारीको शैलीमा हालै परिवर्तन आएको छ । पहिले आफूले चाहेको सामग्री किन्न मिल्ने भेन्डिङ मेसिनबाट अब अरूका लागि पनि समाग्री किनिदिन मिल्ने भएको छ, जसको नाम गिभिङ मेसिन जुराइएको छ ।
संयुक्त राष्ट्र संघअन्तर्गतको संस्था युनिसेफले हालै न्युयोर्क, एरिजोना, गिलबर्ट, लन्डन तथा मनिलामा भेन्डिङ मेसिनको अवधारणा परिवर्तन गरेर गिभिङ मेसिन स्थापना गरेको छ । यो मेसिनमा पैसा हालेर जसले पनि कसैलाई सामग्री किनिदिन सक्छ ।
यसरी किनिदिएको सामग्री खरिदकर्ताले भने पाउँदैनन् । उसले किनिदिएको सामग्री कुनै गरिब परिवारलाई लगेर दिइन्छ । यसमा कुनै पनि इच्छुक व्यक्तिले २ देखि २ सय डलरसम्मको सामग्री किनिदिन सक्छन् । गिभिङ मेसिनमा विभिन्न सामग्री राखिएको छ, जसमा भान्छाका सामग्री देखि अध्ययन, स्वास्थ्य, खानपिन आदिसँग सम्बन्धित सामग्रीसम्म छन् ।
सहयोग गर्न चाहने सामग्रीमा विविधता भएका कारण यसबाट जसले जे इच्छाए पनि सहयोग गर्न सजिलो भएको छ भने पैसा पनि आफूले चाहेअनुसार खर्च गर्न मिल्ने भएको छ । गिभिङ मेसिनले लोकप्रियता प्राप्त गर्न थालेपछि युनिसेफले त्यसलाई अन्यत्र समेत विस्तार गर्ने सोच बनाएको छ ।