साप्ताहिक संवाददाता
चुनावका बेला जनतासँग जति पनि झुक्न सक्ने, अरूले जति गाली गरे पनि, जति कुरा काटे पनि सहन सक्ने अनि चुनाव जितेपछि साँढे हुने बानी मन पर्दैन । त्यसबाहेक एउटै कुरामा धेरै पटक झूट बोल्ने र एक–अर्कालाई आरोप लगाउने बानी पनि मन पर्दैन ।
दिनेश काफ्ले, हास्यकलाकार
जुन जोगी आए पनि कानै चिरेको भनेजस्तै हो । भाषणमा चाहिँ सबैले ठूला–ठूला कुरा गर्ने तर विकासका काममा भने माखो नमार्ने नेताहरूको बानी मलाई फिटिक्कै मन पर्दैन ।
शान्ति सुनार, गायिका
पहिलो कुरा त मलाई नेताहरू नै मन पर्दैनन् । उनीहरूको मन नपर्ने बानी–व्यवहार त कति छन् कति ?
जेबिका कार्की, मोडल
भाषणमा चाहिँ निकै ठूला कुरा गर्ने तर व्यवहारमा भने एउटै लागू नगर्ने नेताहरूको बानी मलाई फिटिक्कै मनपर्दैन ।
सृष्टि खड्का, मोडल
मलाई नेताहरूको दोहोरो चरित्र मन पर्दैन ।
प्रल्हाद सुवेदी, गायक तथा संगीतकार
आफ्नो पार्टी सरकारमा हुँदा विपक्षीले काम गर्न दिएन भन्ने अनि प्रतिपक्षमा रहँदा सरकारले काम गर्न सकेन भन्ने नेताहरूको बानी मन पर्दैन ।
दीपकराज गिरी, अभिनेता
ठूला कुरा गर्ने, देशको ढुकुटी सिध्याउनमै ध्यान दिने तर जनताका लागि भने केही नगर्ने नेताहरूको बानीले हैरान बनाएको छ ।
शिव विक, नृत्य निर्देशक
नेताहरूले बोलेको कुरा पूरा नगर्ने बानी पटक्कै रुचाउँदिन ।
जाङ्मु इन शेर्पा, मोडल
आम जनताबीच उभिएर बोलेका कुरा अनि विकास–निर्माणसम्बन्धी प्रतिबद्धता अलिकति पनि कार्यान्वयन नगर्ने व्यवहार पटक–पटक दोहोरिदा दिक्क लाग्छ ।
महेश काफ्ले, गायक
आफन्तवाद हाबी गराउने र योग्य मानिसलाई राम्रोसँग काम गर्ने वातावरण नबनाइदिनाले देशको विकास अवरुद्ध छ । त्यसैले शक्तिमा पुगेपछि आफ्नो काम–कर्तव्य बिर्सने नेताहरूको बानी मनपर्दैन ।
बाबु बोगटी, गायक तथा अभिनेता
जनतालाई आश्वासन दिएर भ्रममा पार्ने नेताहरूको बानी मलाई मन पर्दैन ।
इष्टु कार्की, रंगकर्मी
आफूलाई मात्र फाइदा पुग्ने राजनीति गरेको मन पर्दैन । प्रतिपक्षमा पुग्ने बित्तिकै सरकारको विरोध गरिहाल्ने संस्कार पनि मन पर्दैन । अर्को कुरा तत्काल सम्भव नहुने सपना बाँडेर जनतालाई भ्रममा पार्ने, झ्क्याउने काम पनि ठीक लाग्दैन ।
वसन्त थापा, गायक तथा संगीतकार
हिजोका दिनमा राजालाई गाली गर्ने अनि आज आफैं राजकीय सवारीमा निस्कने नेताहरूको बानी मन पर्दैनँ ।
सञ्चिता लुइँटेल, अभिनेत्री
अति गफ दिने (गफाडी) बानी मन पर्दैन ।
टंक तिमिल्सिना, गायक
मुखले चाहिँ संसार हाँक्छु भन्ने तर व्यवहारमा सिन्को नभाँच्ने व्यवहार मन पर्दैन्।
स्यारोन रेग्मी, मोडल
जनतालाई झूटा आश्वासन बाँड्ने बानी ।
मुस्कान ढकाल, निर्देशक
हुनेभन्दा नहुने गफ धेरै लगाउने नेताहरूको बानी मन पर्दैन ।
राजु ढकाल, गायक
जनताको सेवक हुनुपर्नेमा शासकको मनस्थिति बनाएर राजनीति गर्ने प्रवृत्ति ।
धिताल चिरिच्याट्ट, हास्यकलाकार