मानिसहरू जिन्दगी वा दैनिक जीवनमा कामकाजको योजना बुन्छन्, तर कसैको पनि जीवन सरल रेखामा हिंड्दैन । एकथरी गर्न खोज्यो, अर्काथरि भैदिन्छ एकातिर जान भनेर हिंड्यो अन्तै पुगिन्छ । यस्तो बन्छु भन्यो अर्कै बनिन्छ । सम्भवत: मानिसले जे–जे गर्छु भन्यो त्यो हुँदै गयो भने जीवन रोचक पनि हुँदैन । भनेको जस्तो भयो भने मानिस मक्ख पर्छ नभए निराश हुन्छ । हिम्मत हुनेहरू आफूले चाहेको जस्तो पाउँछु भनेर लागिपर्छन् भने कतिपयले बाटो बदल्छन् । कतिले हरेस खाएर मृत्युसमेत रोज्छन् । यसो घोत्लेर र पछाडि फर्केर हेर्ने हो भने हरेक मानिसको जीवन अनेक कथा र मोडले भरिएको पाइन्छ ।
जिन्दगीमा आईपर्ने ठक्करहरू सदैव हानिकारक हुँदैनन् । तात्कालिक अवस्थामा नराम्रो लागे पनि त्यो मोडमा लागेको ठक्करले जीवनलाई घुमाएर सुमार्गमा समेत पुर्याउँछ । मानिसको जीवनमा अकस्मात् कोही मान्छे आइदिन्छ र जीवनको लय नै परिवर्तन गराइदिन्छ । कसैले हानि पुर्याउँछन्, कसैको सहयोगले फलिफाप पनि भैदिन्छ । अकस्मात् आएको मानिसको माया लाग्न थाल्छ, सम्बन्ध बढ्दै जान्छ । प्रेम सम्वन्ध बढ्दै गएर विवाहसम्म पनि पुग्न सक्छ, फेरि कसैको त्यही सम्बन्धमा घात भएर जिन्दगी अर्कै मोडमा पुग्न सक्छ । जिन्दगीका सम्बन्धमा यसै सकिन्न, फेरि अर्को कोही माया र आशा बोकेर आउँछ र जिन्दगी अघि बढिरहन्छ । केही मानिस अकस्मात आउँछन् र बिनाखबर अकस्मात हराउने पनि हुन्छन् । यत्रो संसारमा करोडौं मानिस छन् र जिन्दगीमा जतिसँग हाम्रो भेट हुन्छ त्यसको कुनै न कुनै कारण हुन्छ भनिन्छ । कसैसँग भेट हुनु, कुराकानी हुनु, मायाप्रेम सम्बन्ध हुनु अनौठो संयोग हो । जिन्दगीमा कि त केही बनाउन कि त केही बिगार्न वा सन्तुलन मिलाउन जीवनका विभिन्न मोडमा भेटिएका त्यस्ता मानिसहरूले महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् ।
बाटोमा हिंड्दा चिनेको मानिस देख्दा एउटा भावले हेरिन्छ भने नचिनेका कैंयन् मानिसलाई हामी वास्तै गर्दैनौं । बाटोमा हिंड्दाहिंड्दै अनायास कहिलेकाहीं कसैसँग ठोक्किन पुगिन्छ त्यतिबेला कसैको झनक्क रिसाउने बानी हुन्छ, कोही मुसुक्क हाँस्छौं भने कोही त निहुँ खोजेर झगडा गर्न तम्सिन्छौं । हामीभित्र जे छौं हाम्रो आत्माजस्तो छ त्यतिबेला हामी त्यही रूपमा प्रस्तुत हुन्छौं । सम्भवत: जानी–जानी हानि पुर्याउन कोही कसैसँग ठोक्किएका हुँदैनौं । एकफेर यसो सोच्नुस् त हामी त्यही मानिससँग किन ठोक्किन पुगेको होला ? त्यतिबेला मीठो बोल्न सकिन्छ, माफी माग्न सकिन्छ, चिनजान गर्न सकिन्छ र वातावरणलाई सहज बनाउन सकिन्छ । कहिलेकाहीँ अकस्मात् एकआपसमा सवारी साधन ठोक्किन्छ, गल्ती एउटाको वा दुवैको हुन सक्छ तर हामी अर्कैको गल्ती देखाउँदै गाली गर्न थालिहाल्छौं । म सही थिएँ अर्को गलत थियो भन्नुभन्दा एक–अर्काको कति दोष थियो हेर्न सकियो भने धेरै समस्या आफैं हल हुन्छ ।
कहिलेकाहीं बाटोमा हिंड्दा कुनै मानिसको अनुहार देख्दै रिस उठ्छ । कसैले बोलेको सुन्दै रिस उठ्छ, हाउभाउ देख्दै पारो तात्छ । आखिर किन यस्तो हुन्छ ? समस्या आफूमा छ कि उनीहरूमा एकफेर मनन गर्नुस् त ? के हामीलाई जे–जे मन पर्छ त्यो–त्यो अरूले गरिदिनुपर्ने हो ? के हामीमा फरक मत सुन्ने धैर्यता छ ?
हरेक मानिस हरेक दिन त्यो ठाउँमा जान्छु, फलानो मानिससँग भेट्छु, यो काम गर्छु भनेर घरबाट निस्कन्छ तर ऊ सधैं आफ्नो लक्ष्यमा पुग्दैन, भनेको कुरा पुग्दैन । किनभने अकस्मात् समस्या आइलाग्छ दुर्घटनामा परिन्छ वा बाटोमा कसैलाई भेटेर अन्तै लागिन्छ ।
जिन्दगीको बाटो सोझो हुँदैन । यहाँ चाहेको सबै कुरा पाइँदैन । तोकेको ठाउँमा पुगिँदैन, तर जिन्दगीको नियम भनेको यात्रा जारी राख्नु हो । जिन्दगी केही रमाइला, केही तीता, केही मीठा आकस्मिकताहरूको संगम हो । अकस्मात् आइपर्ने हरेक कुरालाई स्विकार गर्दै पाठ सिक्दै आफूलाई सच्याउँदै अघि बढ्ने हो भने आफ्नै जिन्दगी आफैंलाई कथाजस्तो लाग्छ । हाँस्छु मात्र भने पनि कसैले सधैं हाँसिरहन पाउँदैन, रुन पनि पाउँदैन, धनी होस् वा गरिब जीवनका अनेक मोडबाट गुज्रनैपर्छ । अरूले केही पलका लागि ढाडस र साथ देलान्, तर आखिरमा परेको आफैले सहनुपर्छ, यात्रा आफैंले गर्नुपर्छ ।
जिन्दगीमा जे पनि आइलाग्न सक्छ भनेर तयार हुने हो भने जीवन सहज हुन्छ । हामी सबै जतिसुकै बेला मर्न योग्य छौं । आयु पुगेरै मरिन्छ भन्ने हुँदैन । राम्रो–नराम्रो जे पनि जतिबेला पनि जोसुकैलाई हुन सक्छ । जे हुन्छ जिन्दगीमा अकस्मात् नै हुन्छ । आइपर्ने हरेक घटनाका लागि तयार भएर बसौं । घटनाहरूबाट पाठ सिक्ने कि टाउको समाएर अरूलाई सरापेर दु:खी भएर बस्ने अर्कै कुरा हो ।
हामी सबै यो धर्तीमा अकस्मात् आएका हौं, एक दिन एक पल अकस्मात् जान्छौं । त्यसैले यसमा अकस्मात आइपर्ने हरेक कुरा प्रेमपूर्वक स्वीकार गर्नुपर्छ, किनभने जिन्दगी अकस्मात् परिवर्तन हुनसक्छ ।
facebook.com/abeeralthapa
Twitter@abeeralthapa