साप्ताहिक संवाददाता
समयसँगै विवाह गर्ने शैली पनि फरक हुन थालेका छन् । दुई पक्षबीच विवाह गर्ने कुरा चलाउनेदेखि हनिमुनसम्मको प्याकेजको व्यवस्था गरिदिने कम्पनी नै खुलेका छन् । विवाह गर्न चाहने परिवारको इच्छाअनुसार आफ्नै घर वा पार्टी प्यालेसदेखि पाँचतारे होटलसम्म जहाँ गएर विवाह गरे पनि यस्ता कम्पनीले सबै कुरा व्यवस्थापन गरिदिन्छन् ।
उनीहरू कुराकानी छिनोफानोमा चियापान र खानपानको व्यवस्था गरिदिने, इन्गेजमेन्टमा ठाउँको डेकोरेसन गर्ने, डान्सर तथा सिंगरहरू बोलाएर लाइभ पर्फमेन्स गराउने, फोटोग्राफीको व्यवस्था गर्नेदेखि लिएर सगुनहरू तयार पारिदिनेसम्म काम गर्छन् । त्यस्तै आफन्त तथा साथीभाइलाइ निम्ता गर्ने कार्डको व्यवस्थासेमत गरिन्छ । विवाहको दिनलाई ब्यान्डबाजा खोजिदिने, जग्गे सिँगार्ने क्याटरिङको व्यवस्थापन गर्ने तथा बेहुला–बेहुलीको सवारीको व्यवस्थादेखि लिएर हनिमुन प्याकेटको बन्दोबस्त मिलाउने समेत उनीहरूकै जिम्मामा हुन्छ ।
पछिल्लो समय बेहुला–बेहुलीको सवारीमा समेत परिवर्तन आएको वेडिङ नेपालकी अपरेटर अफिसर सोनिया श्रेष्ठ बताउँछिन् । अहिले बग्गीको माग बढिरहेको छ भने मर्सिडिज कारको माग समेत उत्तिकै छ । ‘बेहुला–बेहुली अन्माएर पछि मध्यम दूरीको यात्रा भए बग्गी अनिवार्यजस्तै हुँदै गएको छ ।’ श्रेष्ठ भन्छिन्, ‘टाढा भए कार तथा गाडी र धेरै नजिक भए डोलीमा चढाउने चलन छ ।’ कतिपयले भने हात्तीको समेत माग गर्न थालेका छन् । त्यसका लागि भने विवाह गर्न काठमाडौंभन्दा बाहिर चितवनको सौराहा रोजिन्छ ।
विवाहमा शृंगार एवं सवारीको मात्र चाहना बदलिएको होइन । भोजभतेरको शैली समेत परिवर्तन भएको छ । कुनै समय मासु–भात (जन्ते बाख्रो) अनिवार्य हुने विवाह भोज अहिले त्यतिले मात्र पुग्ने अवस्थामा छैन । थरी–थरीका परिकारको बफे अहिले लाइभ काउन्टरमा परिणत भएको छ । आफूलाई जे कुरा खान इच्छा लाग्छ त्यही कुरा तत्काल अर्डर गरेर खाने चलन आएको श्रेष्ठ बताउँछिन् । यद्यपि सबै खानेकुरा लाइभ काउण्टर भने भैसकेका छैनन् । पानीपुरी, चाट, पान, डेजर्ट, हलुवा, फिस तावाजस्ता कुरा लाइभ काउन्टरबाट लिइन्छ । यस्ता लाइभ काउन्टरसँगै केटाकेटी दुवै पक्षमा कोल्ड ड्रिङ्कसदेखि लिएर ककटेल, मकटेलसम्मको अनिवार्यता समेत बढ्दै गएको छ । एउटा सामान्य विवाहलाइ वेडिङ प्लानिङ कम्पनीमार्फत गराउँदा सहभागी संख्याका आधारमा कम्तीमा २० लाख खर्च हुने गरेको बताइन्छ, जसमा गरगहना एवं पहिरन खर्च समावेश गरिदैन ।
सुहागरात मिस्ट्री
हिन्दू धर्ममा १६ वटा संस्कारको चर्चा गरिएको छ जसमध्ये विवाह पनि एउटा संस्कार हो । यो संस्कारमा भएका विभिन्न रीतिरिवाजमध्ये सुहागरात पनि एक हो । सुहागरातलाई श्रीमान्–श्रीमतीको मिलनको रात भनिन्छ, त्यसैले उक्त दिन हुने केही रीतिरिवाज निकै विशेष मानिन्छन्, जस्तो दूधको गिलास लिएर श्रीमती आउनु, दुलहीको अनुहार हेर्नु आदि । सुहागरातको दिन दुलाहा–दुलहीले आफ्ना कुल देवी–देवताको पूजा गर्ने चलन पनि छ ।
त्यसरी पूजा गर्दा ईश्वरमार्फत कुलको परम्परा तथा वंशलाई अघि बढाउने आशीर्वाद पाइने विश्वास गरिन्छ । त्यसक्रममा पूर्वजको पूजा गर्ने चलनसमेत छ । दुलहीले दूधको गिलास लिएर आउनुका पछाडि पनि आफ्नै कारण रहेको बताइन्छ । दूधलाई चन्द्र तथा शुक्रको वस्तु मानिन्छ । शुक्र प्रेम तथा वासनाको कारक ग्रह हुन् भने चन्द्रमा मनका कारक ग्रह हुन् । त्यसकारण सुहागरातको दिन दुलहीले दूधको गिलास दिनुको अर्थ हो दुलाहा–दुलहीहरूको प्रेम दूधजस्तै उज्ज्वल, वासना तथा चञ्चलतारहित अर्थात् स्थिर र धैयवान होस् ।
वैवाहिक जीवनको थालनी नै सुहागरातबाट हुन्छ । त्यो युवक तथा युवतीका लागि त्यस्तो रात हुन्छ, जसमा सबै बन्धन तोडेर उनीहरू एक–अर्काको बन्छन् । उक्त दिनको प्रतिक्षा युवक तथा युवती दुवैले गरिरहेका हुन्छन् । बेलायतमा ७ सय ११ जोडीमा गरिएको उक्त सर्वेक्षणको नतिजामा के पाइयो भने नवविवाहित जोडी आफ्नो सुहागरातलाई उचित शैलीमा इन्जोय गर्न सक्दैन, जसका केही कारण समेत पत्ता लागेका छन् । शोधकर्ताहरूका अनुसार अधिकांश व्यक्ति आफ्नो सुहागरातमा यति धेरै उत्तेजित हुन्छन् कि उनीहरू आफ्नो पार्टनरको भावना समेत बुझ्न सक्दैनन् । अधिकांश जोडी उक्त दिन शारीरिक सम्बन्ध राख्न निकै लजाउँछन्, जसका कारण उनीहरू चरम सुखसम्म पुग्नै सक्दैनन् ।