साप्ताहिक संवाददाता
नेपाली क्रिकेटलाई लिएर एउटा प्रश्न जहिले पनि उठ्छ र त्यो हो— हाम्रा खेलाडीको स्तर कस्तो छ ? नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट वान डे टिमको मान्यता प्राप्त छ । यससँगै हामीले टी–२० टिमको समेत मान्यता पाएका छौं । हामी एसोसियट स्तरमा राम्रो गर्न सक्छौं, तर त्यसभन्दा माथि उठ्दा हाम्रो प्रदर्शन कस्तो हुन्छ ? यससँगै जोडिएर आउने अर्को प्रश्न के पनि हो भने हामीले नेपाली क्रिकेटको विकास गर्न के गर्नु पर्छ ?
यी दुवै प्रश्नको उत्तर नेपालमा फ्रेन्चाइज क्रिकेट सुरु भएयता प्राप्त भएजस्तो लाग्न सक्छ । नेपालमा आजभोलि टी–२० क्रिकेटका तीनवटा फ्रेन्चाइज प्रतियोगिता राम्रोसँग जमिरहेका छन्, जुन धनगढी प्रिमियर लिगबाट सुरु भएको थियो । त्यसलाई उकास्ने काम गरेको थियो, एभरेस्ट प्रिमियर लिग (ईपीएल) ले अनि त्यसमा जोडिएको छ, पोखरा प्रिमियर लिग (पीपीएल) । यिनै प्रतियोगितासँगै नेपाल भित्रिए, राम्रै स्तरका अन्तर्राष्ट्रिय विदेशी खेलाडीहरू ।
अहिलेसम्म यी प्रतियोगिताका जति पनि संस्करण सम्पन्न भएका छन्, संयोग भनौं अथवा स्वभाविक रूपमा तिनै विदेशी खेलाडी हाबी भएका छन् । यसले पनि देखाउँछ, नेपाली खेलाडीले गर्नु पर्ने धेरै छ । त्यसका लागि एउटा उत्तिकै राम्रो माध्यम यिनै टी–२० प्रतियोगिता हुन् । यो तथ्यले अर्को के सत्यलाई पनि स्थापित गर्छ भने यी प्रतियोगितामा विदेशी खेलाडीहरू नै हाबी छन् । यो तथ्यबाट यसपटकको ईपीएल समेत अपवाद हुनेछैन ।
गएको संस्करणको ईपीएलमा तीन प्रमुख विदेशी खेलाडी नेपाल आएका थिए, हङकङका बाबर हयात र अंशुमन रथसँगै श्रीलंकाका परवेज महारुफ । विराटनगर वारियर्सलाई उपाधि दिलाउन बाबर र अंशुमनको सबैभन्दा ठूलो भूमिका थियो । काठमाडौं किङ्गसका परवेज फिक्का सावित भए भने बाबर ७ इनिङ्समा ३ सय १३ रन बनाएर म्यान अफ द सिरिज घोषित भए ।
सबैभन्दा बढी रन बनाउने शीर्ष पाँच ब्याट्सम्यानमध्ये चार खेलाडी विदेशी नै थिए । यो सूचीमा पर्ने विदेशी खेलाडीमा बाबरसँगै अंशुमन, ललितपुर प्याट्रियट्सका जयसिन कोल्सावाला तथा पोखरा राइनोजका इसाउल्लाह थिए । बलिङ तर्फ भने सबैभन्दा अगाडि रहे, इसाउल्लाह । गत वर्षको डीपीएलमा पनि विदेशी खेलाडीको उस्तै जबरदस्त प्रभाव थियो । त्यसमा युएईका रोहन मुस्तफा तथा भारतका सन्नी पटेलले आक्रामक ब्याटिङ गरेका थिए ।
रोहन प्रतियोगिताका म्यान अफ द सिरिज थिए । उनकै प्रदर्शनको बलमा टिम चौराह विजेता समेत भयो । एक महिनाअघि मात्र भएको पीपीएलमा पनि विदेशी खेलाडीको प्रदर्शन नै निर्णायक रह्यो । विजेता पोखरा पटकनका लागि भारतका रवि इन्दर सिंह तथा यूएईका मोहम्मद नाविदले राम्रो खेले । उप–विजेता चितवन राइनोजका लागि सन्नी पटेलले आक्रामक ब्याटिङ गरे । उनी सन्दीप लामिछानेविरुद्ध पनि उत्तिकै हाबी रहे र उनी नै बने फाइनलको ‘म्यान अफ
द म्याच’ ।
ईपीएलको दोस्रो संस्करणसम्म आइपुग्दा अझ माथिल्लो स्तरका विदेशी खेलाडीले प्रतियोगिता खेल्ने तय छ र यी खेलाडीहरू इंग्ल्यान्ड, अस्ट्ेरलिया, दक्षिण अफ्रिकादेखि लिएर स्कटल्यान्डसम्मका छन् । दक्षिण अफ्रिकी रिचर्ड लेभी, स्कटल्यान्डका केयल कोएट्जर, इंग्ल्यान्डका पउल कोलिन, आयरल्यान्डका केभिन ओ’ब्राइन एवं जिम्बाबेका सिकन्दर रजाले यसपटकको ईपीएल खेल्नेछन् । ईपीएलमा हरेक टिमले चार जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछन् ।
ती चारमध्ये एक पटकमा तीन जनासम्मलाई खेलाउन पाइन्छ । पोखरा राइनोजले लेभी, स्कटल्यान्डका कप्तान कोएट्जर, काउन्टी क्रिकेट खेल्ने कोलिन तथा नेपाली मूलका हङकङका खेलाडी सन्नी भीमसरियालाई अनुबन्ध गरेको छ । विराटनगर वारियर्सबाट हयातसँगै नेदरल्यान्ड्सका रोइलोफ भान डर मेर्वी, पउल भान मिकेरन तथा भारतका स्मित पटेलले खेल्नेछन् । काठमाडौं किङ्सले यसपटक यूएईका कप्तान मुस्तफा, आयरल्यान्डका पूर्व कप्तान ओ’ब्राइन तथा जिम्बाबेका रजालाई अनुबन्ध गरेको छ ।
ललितपुर प्याट्रियट्सले यसपटक भारतीय खेलाडीमा विश्वास गरेको छ र ती खेलाडी हुन्— सन्नी पटेल, गौरव तोमर तथा जयकिसन कोल्सावाला । नाविद र भारतका रवि इन्दर भैरहवा ग्याडिएटर्समा छन् । नेदरल्यान्ड्सका रायन टेन डेस्काथेले भैरहवाबाटै डेब्यू गर्नेछन् । चितवन टाइगर्सले आयरल्यान्डका पाउल स्टर्लिङ तथा इंग्ल्यान्डका जोहान सिम्पसन एवं जर्ज स्कटलाई अनुबन्ध गरेको छ । यी विदेशी खेलाडीमा सबै क्रिकेट प्रशंसकको नजर रहनेछ ।