साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘गोपी’को पोस्टर सार्वजनिक भएको छ । एकै पटक ४ पोस्टर सार्वजनिक गरेको निर्माण टीमले सबै पोस्टरमा अभिनेता विपिन कार्कीलाई प्राथमिकता दिएको छ । सार्वजनिक एक पोस्टरमा भने चलचित्रका अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ ।
आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित गोपीमा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् । पोस्टरमा उनको पेशा झल्किने गरी गाई र दूधको क्यानलाई प्राथमिकता दिइएको छ । पोस्टरको डिजाइन टौवा क्रियसनका विजय बस्यालले गरेका हुन् ।
आगामी माघ १८ बाट अल नेपाल रिलिजको प्रचारमा रहेको यहि चलचित्र सुटिङे चल्दै गर्दा अभिनेता विपिन कार्की सडक दुर्घटनामा परेर घाईते भएका थिए । विपिनको सडक दुर्घटनाका कारण चलचित्रको पोस्टर निर्धारित समयभन्दा पछाडि रिलिज गरिएको निर्माण टिमले जनाएको छ ।
विपिनलाई यसै हप्ता गाईफार्ममा लगेर फोटो सुट गरिएपछि मात्र पोस्टर तयार पार्न सकिएको निर्देशक लामाले बताए । उनले थपे, पोस्टरको कलर कम्बिनेसन र कलाकारहरुको भाव मलाई चित्त बुझेको छ ।
आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको यस चलचित्रमा सामिप्यराज तिमल्सिना पटकथा लेखेका छन् ।
त्यस्तै कार्यकारी निर्माता श्रीधर पौडेल, छायांकार शैलेन्द्र डि कार्की र सम्पादक निमेष श्रेष्ठ रहेका छन् । चलचित्रमा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले संगीत गरेका छन् । चलचित्रमा पाश्र्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ ।
चलचित्रमा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।