देश अहिले मुनमय भएको छ । कोरियाली आकाशबाट उदाएकी मुनमाताका कारण नेपाली धर्ती अँध्यारो भएको छ । मुन अर्थात् जून । जून उदाएपछि त धर्ती उज्यालो हुनुपर्ने तर यी मुन माताले त पुरै अँध्यारो पारिन् ।
हुन त माताको सिद्धान्त सर्वधर्म, मानवता र परिवारवादको संरक्षण हो रे, तर उनको यो समिटपछि हिन्दूहरू बिच्किए, क्रिस्चियनहरू रिसाए भने इस्लाम पनि खुसी नहोलान् । माताको मन्त्र कहाँ चिप्लियो । त्यस विषयमा उहाँहरूको हिसाब–किताब हुँदै होला ।
यो समिटको आयोजना परिवारवादको संवद्र्धनका लागि गरिएको बताइएको थियो । यसले त मिलेर बसेको नेपाली समाज अझ बिग्रिने खतरा भयो । माताको ब्लेसिङपछि न सरकार जनतासँग मिल्न सक्यो, न जनताले सरकारलाई पत्याउन सके । उल्टै माताका कारण सरकार र जनताको दूरी पो बढ्यो ।
के कांग्रेस, के कम्युनिस्ट, के राजावादी, के समाजबादी— ‘माता मुन’को ब्लेसिङ सबैले लिएका छन् । कट्टर कम्युनिस्ट बाबुराम भट्टराईदेखि माधव नेपालसम्म, महान् समाजवादी शेरबहादुर देउवादेखि सक्रिय राजावादी सबैले माता मुनको धुन सुनिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली त माताका पछिल्ला हतियार मात्र हुन् ।
हतियार यस अर्थमा कि माताको योजना प्रधानमन्त्रीलाई मतियार बनाएर नेपालमा आफ्नो साम्राज्य फैलाउने रहेछ । जनताको प्रतिकारपछि यो योजना सफल हुन सकेन, तर पनि यसले नेपालमा केही नौला उदाहरण छोडेर गएको छ ।
पहिलो उदाहरण हो, डलरको शक्तिले मानिसको कलर (रंग) चेन्ज गर्दो रहेछ । कम्युनिस्टको कलर रातो हो । रातो भनेको क्रान्तिकारिता । माता मुनको डलर शक्तिले कमरेडहरूको रातो कलरमा कालो दलेर पसिना पुछ्ने टालो बनाई दियो ।
दोस्रो उदाहरण हो, साला एक मच्छड सिंगै सरकारको दुगन्र्धित बना देता है । भलै यसमा एकनाथजीको कुनै दोष छैन । कुमार बस्नेतले ‘तिम्रै छोरी तरुनी, हाम्लाई केको दोष !’ भनेझैं ‘हाम्रै सरकार हुस्सू छ, एकनाथलाई केको दोष ?’
प्रधानमन्त्रीले पाएको पुरस्कार सदुपयोग गर्ने कुरा आएको छ, त्यो सराहनीय छ, तर जहाँसम्म त्यो पुरस्कार दिने र लिनेको सवाल छ, यसले थुप्रै महासवाल खडा गरेको छ ।
मुन पिताको इतिहास, मुन माताको वर्तमान, मुन सम्प्रदायको भविष्यको योजना— यी सबैको विश्लेषण गरेर ल्याउँदा हामी गड ब्लेसिङ होइन, ठग ब्लेसिङमा परेका छौं ।
हाम्रै देशमा माताहरूको कमी थिएन, पिताहरूको अभाव हुने कुरै भएन । सात समुद्रपारिबाट माता ल्याउन कुन बाध्यता पर्यो वा कसमा त्यस्तो रहर पलायो ? यो प्रश्नको जवाफ समयले देला तर के कुरा सत्य हो भने यी अन्तिम माता भने होइनन् ।
जुन देशमा गरिबी छ त्यहाँ कम्युनिस्टहरूको व्यापार चलिरहन्छ । जुन समाजमा अशिक्षा छ त्यहाँ राजनीतिको दुर्गन्ध चलिरहन्छ । जुन समाजमा अन्धविश्वास छ, त्यहाँ यस्ता मातापिताको आगमन भइरहन्छ ।
सर्वसाधारण जनता मातापिताको चक्करमा लाग्नु त सामान्य हो । किनभने उनीहरूमा सही र गलत छुट्याउने क्षमता नहोला, तर समाज बनाउने, देश चलाउने, संसार हाँक्ने, धर्ती उचाल्ने नेता एवं अन्य अगुवाहरू नै माताको गोलचक्करमा फस्छन् भने मातालाई किन दोष दिने !
हाम्रै पिताहरूको लोभ, मोह र हुस्सूपनमाथि पो हाँस्नुपर्ने ? माताको अभियान त सफल भयो, हामी असफल भयौं । हाम्रो एकता र सद्भाव असफल भयो । कति हुस्सू भैरहने हो अझै कुन्नि †