साप्ताहिक संवाददाता
केही समयअघि मोबाइलमा खेल्न मिल्ने एउटा गेम आएको थियो पोकेमन गो । उक्त गेम सार्वजनिक भए लगत्तै नेपाली मोबाइल प्रयोगकर्ताहरूबीच पनि चर्चाको विषय भएको थियो । त्यो गेम यति लोकप्रिय भयो कि नेपालमा समेत स–साना बालबालिकाहरू उक्त गेम खेल्न लालायित भए । उक्त खेल खेलेर जित्ने क्रममा भारतसहित केही देशमा स–साना बालबालिकाहरूले ज्यान नै गुमाएका समाचार समेत सार्वजनिक भएका थिए ।
यतिबेला मोबाइलमा त्यस्तै एउटा गेमको चर्चा चुलिएको छ, जसले हरेक उमेरका मानिसलाई लोभ्याएको छ । यो गेम हालसम्म मोबाइलमा उपलब्ध गेमहरूको तुलनामा पृथक मात्र छैन, खेल्न सहज समेत छ । खासै दुष्परिणाम नभएको उक्त गेममा युवापुस्ताको क्रेज ह्वात्तै बढेको छ । हामी कुरा गर्दैछौं सामाजिक सञ्जाल तथा युवापुस्तमाझ सबैभन्दा चर्चित PUBG Game को । नेपालसहित विश्वका अधिकांश देशमा यो गेम हरेक दिन करिब दुई करोड व्यक्तिले खेलिरहेको तथ्यांक सार्वजनिक भैसकेको छ । PUBG Game सन् २०००मा निर्मित जापानी चलचित्र ब्याटल रोयलमा आधारित छ । यो गेम दक्षिण कोरियाको ब्लुहोला कम्पनीको सहायक पबजी कर्पोरेसनले निर्माण गरेको हो ।
के हो PUBG Mobile गेम ?
PUBG Mobile एउटा सुटर ब्याटल्स रोयल गेम हो । यो गेममा १ सय जना खेलाडीलाई ब्याटलग्राउण्डमा लड्न छाडिन्छ । उनीहरू सम्पूर्ण शक्ति लगाएर लड्छन् । ती सबै खेलाडीमध्ये जो अन्तिम समयसम्म लड्छ अर्थात जुन खेलाडी अन्तिम समयसम्म बाच्छ, उ नै विजेता बन्छ । यो एक प्रकारको मिसन गेम हो । PUBG Mobile सबै प्लेटफर्म (मोबाइल, ल्यापटप, डेस्कटप) मा निकै लोकप्रिय भैरहेको छ । PUBG Game कम्प्युटर तथा मोइबाल दुवै माध्यममा उपलब्ध छ । यसलाई सहजै डाउनलोड गरेर खेल्न सकिन्छ ।
PUBG Mobile (Player Unknown's Battle Grounds) डाउनलोड गर्नेहरूको संख्या नै करोडौं पुगिसकेको छ । यसलाई प्लेस्टोरबाट २० करोडभन्दा बढी व्यक्तिले आफ्नो मोबाइलमा डाउनलोड गरेका छन् । केवल चार महिनाको छोटो अवधिमै यो नयाँ गेम अत्यधिक लोकप्रिय हुन सफल भएको हो । यो गेम एन्ड्रोइड डिभाइसमा PUBG Mobile करिब १५ करोडभन्दा बढी पटक डाउनलोड भैसकेको छ । सोसल मिडिया, यूट्युब तथा समाचारहरूमा समेत यो गेमको चर्चा चुलिएको छ ।
यो गेम सफल हुनुमा यसको मोबाइल भर्सन सार्वजनिक हुनुलाई मानिएको छ । जब एग्द्यन् मोबाइलमा डाउनलोड हुन थाल्यो, त्यही बेलादेखि यो गेमसँग लाखौं व्यक्ति जोडिदै गए, जसका कारण यो गेमले एउटा नयाँ कीर्तिमान कायम गर्यो ।
PUBG Mobile तयार पार्ने कम्पनीले आफ्नो गेमले पाएको सफलतापछि यो खेलका लेटेस्ट भर्सन समेत उपलब्ध गराउन थालेको छ भने आगामी दिनमा अझ बढी नयाँ अपडेट लिएर आउने घोषणा गरिसकेको छ । PUBG Mobile कम्प्युटर, एक्सबक्स वन, एप्पल तथा एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध छ ।
कसरी खेलिन्छ ?
PUBG Mobile एउटा आकर्षक मोबाइल गेम हो, जसलाई जो कसैले आफ््नो रोजाइको प्लेटफर्ममा गएर आफ्नो मोबाइलमा डाउनलोड गर्न तथा सजिलै खेल्न सक्छन् ।
PUBG Mobileएउटा अनलाइन गेम हो, जसलाई ईन्टरनेट (वाइफाइ अथवा मोबाइल डाटा) को सहयोगबाट मात्र खेल्न सकिन्छ । एन्ड्रोइड भर्सनमा यसलाई खेल्न एन्ड्रोइड छ।ज्ञ अथवा त्यो भन्दा पनि अपग्रेड भर्जन हुनुपर्छ र कम्तीमा दुई जीबी र्याम हुनु अनिवार्य छ । आफूसँग जति राम्रो हार्डवेयर कन्फिगरेसन हुन्छ, PUBG Mobile त्यति नै सहज तरिकाले खेल्न सकिन्छ । PUBG गेम इन्स्टल गर्न मोबाइलमा करिब डेढ जीबी स्पेस हुनु अनिवार्य छ ।
एन्ड्रोइड स्मार्टफोनमा यो गेम निशुल्क डाउनलोड गर्न सकिन्छ । यद्यपि कम्प्युटरमा डाउनलोड गर्न भने प्रयोगकर्ताले निश्चित शुल्क तिर्नुपर्छ । अनलाइनबाटै पैसा तिरेर यो गेम कम्प्युटरमा डाउनलोड गर्न सकिन्छ ।
गेमका नकारात्मक पक्ष
विश्व स्वास्थ संगठनका अनुसार PUBG Mobile गेम खेल्दा व्यक्तिको मानसिक स्वास्थ बिग्रन सक्छ । युवाहरूमा यसको लत बस्ने खतरा एकातिर छ, जुन लत निकै खतरनाक समेत हुन सक्छ । एउटा समाचारमा जनाइए अनुसार भारतमा PUBG Mobile गेम खेल्ने एक १५ वर्षीय किशोर बिरामी नै परे ।
उनको उपचार बैंग्लोरको एउटा अस्पतालमा भैरहेको बताइन्छ । यतिमात्र होइन, यही गेमले कतिपय सम्बन्ध बिग्रिएका समाचार समेत सार्वजनिक भएका छन् । बेलायतको एउटा अनलाइन पत्रिकाका अनुसार यो गेमका कारण पछिल्लो छ महिनायता २ सय वटा डिभोर्सका निवेदन दर्ता भएका छन् । एक जना मानसिक रोग विशेषज्ञले भनेका छन्–‘ड्रग्स, मदिरा तथा जुवाको लतले सम्बन्ध बिग्रिएको देखिएको थियो, तर अहिले डिजिटल वल्र्डमा यो नयाँ लत हो जसले सम्बन्धलाई टुक्राइरहेको छ । मनोविज्ञहरू भन्छन्– बालबालिकालाई स्मार्टफोन दिनु भनेको एक ग्राम कोकिन दिए जस्तै हो ।’ त्यसो त PUBG Mobile गेम यसअघि सार्वजनिक भएको ब्लू व्हेल च्यालेञ्ज जस्तो हानिकारक नभएको दाबी समेत गरिएको छ ।
पब्जी गेममा अपडेट
हिजोआज पब्जी गेमको क्रेज निकै छ । पब्जी अर्थात प्लेयर अननोन्स ब्याटल ग्राउन्ड युवाहरूका बीच चर्चाको शिखरमा छ । हालै उक्त गेममा नयाँ ०.९.५ अपडेट गरिएको छ, जसका कारण यो गेममा निकै सुधार आएको छ । अब यसमा थप हतियार र गाडी उपलब्ध गराइएको छ । गेमको प्रारम्भमा प्यारासुटको सहयोगले १ सय खेलाडीलाई एक आइल्यान्डमा उतारिन्छ जहाँ खेलाडीहरूले हतियार खोजेर दुस्मनमाथि आक्रमण गर्नुपर्छ । यो गेम बढीमा ४ जना खेलाडीले आफ्नो ग्रुप बनाएर खेल्न सक्छन् । खेलाडीहरूले आफ्नो सीप प्रयोग गरी आफूलाई जोगाउनुपर्छ र त्यसका लागि आफ्ना साथीहरूको सहयोग लिन सकिन्छ । अन्त्यमा जुन खेलाडी बच्छ, उही नै विजेता हुन्छ ।