साप्ताहिक संवाददाता
कुलेन्द्र विश्वकर्मा, गायक
जानी जानी दुईवटा गीत गुमाएँ
जिन्दगीमा अञ्जानमै केही गल्ती भैरहेका हुन्छन् भने केही गल्ती जानी–जानी पनि हुँदा रहेछन् । मैले पनि जानी–जानी केही गल्ती गरें जस्तो लाग्छ । पछिल्लो समय निकै चर्चित गीत फुल्यो बामरी मलाई गाउन अफर आएको थियो, तर व्यस्तताका कारण मैले त्यो गीतप्रति त्यति वास्ता गरिनँ । यस्तै व्यस्तताका कारण मैले उकाली र ओराली गरिराख्नुपर्छ गीत पनि गाइनँ । यी दुई गीत नगाएर मैले ठूलो गल्ती गरें जस्तो लाग्छ ।
सामाजिक सञ्जालमा सक्रिय नहुँदा
म सामाजिक सञ्जालमा निकै कम व्यस्त हुने मान्छेमध्ये एक हुँ । हामी कलाकारलाई विदेशमा बस्नेहरूले सहजै सम्पर्क गर्न सक्ने भनेको सामाजिक सञ्जालमार्फत नै हो । म यसमा त्यति सक्रिय नहुँदा विदेशबाट मलाई फलो गर्ने प्रशंसकहरूले गालीसमेत गर्नुहुन्छ । अर्को कुरा सामाजिक सञ्जालमा सक्रिय नभएकैले मैले विदेशका थुप्रै कार्यक्रम गुमाएको छु ।
अध्ययनलाई निरन्तरता दिन नसक्नु
जिन्दगीको सबैभन्दा ठूलो कुरा शिक्षा रहेछ । यद्यपि मैले आफ्नो शिक्षालाई निरन्तरता दिन सकिनँ । सानैदेखि गीत–संगीतमा रुचि भएकाले पढाइ छाडेर गीत–संगीतमै लागिपरें । अहिले पढाइलाई निरन्तरता दिनुपर्ने रहेछ भनेर पछुतो लाग्छ ।
अनिदो बस्नु
मेरो अर्को सबैभन्दा ठूलो गल्ती भनेको अनिँदो बस्नु हो । म राति दुई–तीन बजेसम्म अनिँदो बस्छु, जसले गर्दा स्वास्थ्यमा समेत समस्या सिर्जना भएको छ ।
केश स्ट्रेट गर्नु
सुरु–सुरुका दिनमा आफूलाई स्मार्ट देखाउन म हेयर स्ट्रेट गराउँथे अनि मेहन्दीसमेत लगाउँथें । त्यसैको फलस्वरूप अहिले केश झरेर हैरान भएको छु । यो पनि मेरो जीवनको ठूलै गल्ती हो ।