साप्ताहिक संवाददाता
नेपाली अभिनेत्रीहरूले मुम्बई पुगेर बलिउडका लागि संघर्ष गर्नु नौलो कुरा होइन । अहिले पनि अदिति बुढाथोकी, जेनिशा केसी आदि अभिनेत्री उतै छन् । विगतमा करिश्मा मानन्धर निरुता सिंहदेखि उषा पौडेलसम्मले त्यसरी संघर्ष गरेकै हुन् । यो सूचीमा अभिनेताहरूको संख्या भने कम पाइन्छ । अहिले आएर एक जना नेपाली अभिनेताले बलिउडमा अभिनय नै थालेको जानकारी गराएका छन् ।
अभिनेता विकास चापागाईंले बलिउडको एउटा चलचित्रमा ब्रेक पाएको साप्ताहिकलाई बताए । अनलाइन वार्ता गर्दै विकासले प्रदर्शनको तयारीमा रहेको हिन्दी चलचित्र ‘रेल्वे ट्रयाक’ मा अभिनय गरेको जनाएका छन् । हाल मुम्बईमै रहेका विकासका अनुसार चलचित्रमा उनले अभिनेता दीपक भाटियाको छोराको भूमिका निर्वाह गरेका छन् ।
यसबीच विकासले बलिउडकी नयाँ अभिनेत्री भावना सिंह चौहानसँग जोडी बाँध्दै अर्को एउटा चलचित्रमा अनुबन्धित भएको जानकारी समेत दिएका छन् । ‘अडिसनमा उत्तीर्ण भएको छु, विकास भन्छन्– ‘दुई महिनापछि उक्त चलचित्रको छायांकन प्रारम्भ हुनेछ ।’