साप्ताहिक संवाददाता
कलाकारलाई र्याम्पमा हिडाउँदै चलचित्र ‘मारुनी’को घोषणा गरिएको छ । यसै साता कलाकार पुष्प खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह र रेबिका गुरुङ र्याम्पमा हिडेसँगै चलचित्र ‘मारुनी’को औपचारिक घोषणा गरिएको हो । चलचित्रका अन्य कलाकार तथा प्राविधकले पनि र्याम्पमै क्याटवाक गर्दै आफ्नो परिचय दिएका थिए ।
अन्तर्राष्ट्रिय फेसन डिजाइनरको पहिचान बनाएकी पुनम गौतमले निर्माण गर्न लागेको यो चलचित्र नवल नेपालले निर्देशन गर्नेछन् । निर्माता गौतमले लेखकसमेत रहेका नेपालले सुनाएको कथाले मन छोएपछि ५ वर्षपछि निर्माणमा फर्किएको बताइन् । १ महिना पछि चलचित्रको छायांकन सुरु हुने पनि उनको भनाई थियो ।
चलचित्र घोषणा कार्यक्रममा निर्देशक नवल नेपालले दुई सुन्दरीको कथा चलचित्रमा प्रस्तुत गर्ने बताए । कवितात्मक शैलीमा बोलेका निर्देशक नेपालले चलचित्र राम्रो बन्नलाई कथा नै राम्रो हुनुपर्ने र मारुनीको कथा सशक्त रहेको दाबी गरे । ‘जबसम्म कथाले मुटु छुदैन, मुटु दुख्दैन या मुटु हाँस्दैन भने तपाई ब्रह्माण्डबाट जे सुकै ल्याउनुस् त्यो चलचित्र सफल हुँदैन’, चलचित्र राम्रो हुन कथा महत्वपूर्ण हुने उल्लेख गर्दै निर्देशक नेपालले भने, ‘मारुनी’ लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राख्ने छैनौं ।’
अभिनेत्री साम्राज्ञीले पनि चलचित्रलाई लिएर आफू उत्साहित भएको बताईन् । उनले चलचित्रको कथा यूनिक रहेको समेत उल्लेख गरिन् । पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन् लागेको यसै चलचित्र मार्फत रेबिका चलचित्र नगरीमा डेब्यु गर्दै छिन् ।
यो चलचित्रमा अजय पोखरेल र राजा प्रधानले पनि लगानी गर्ने छन् । हरि सिलवाल चलचित्रको लाइन प्रोड्युसरको रुपमा रहेका छन् । चलचित्रमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारले अभिनय गर्ने छन् । चलचित्रमा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ ।