साप्ताहिक संवाददाता
कामना फिल्म एवार्ड समारोहमा अभिनेता प्रदीप खड्का तथा अभिनेत्री केकी अधिकारी पहिलो पटक फरक भूमिकामा देखिए । उद्घोषक नरेश भट्टराईले नाटकीय शैलीमा दर्शकदीर्घामा सँगै बसिरहेका उनीहरूलाई माइक थमाए । उनीहरूलाई माइक थमाउने दृश्य दर्शकहरूलाई अनौठो लागे पनि त्यो पूर्वनिर्धारित थियो भन्ने कुरा अनुमान गर्न गाह्रो थिए ।
उद्घोषणका रूपमा स्टेजमा उक्लिएपछि प्रदीप र केकीबीच घोचपेचको क्रम प्रारम्भ भयो । उनीहरूका कतिपय जोकमा दर्शक हाँसे भने कतिपय कुराले चलचित्रकर्मी निराश समेत देखिए । एउटा प्रसंगमा केकीले प्वाक्क मुख खोलिन्– ‘फ्लप क्लबमा स्वागत छ प्रदीप ।’ केकीले त्यसो भन्ने क्रममा उनी आफैंसमेत फ्लप क्लबको सदस्य भएको स्विकार गरिन् ।
केकीले निर्माण गरेको पहिलो चलचित्र ‘कोहलपुर एक्सप्रेस’ ले औसत व्यवसाय गरेको थियो । केकीले फ्लप क्लबमा स्वागत गरेपछि प्रदीपको प्रतिक्रिया थियो— ‘मेरो पछिल्लो चलचित्र रोज फ्लप भएको होइन, कम चलेको मात्र हो ।’ त्यसक्रममा प्रदीपले आमिर खानको पछिल्लो फ्लप चलचित्र ठग्स अफ हिन्दोस्तानको उदाहरण दिंदै भने– ‘चलचित्र कहिले सफल हुन्छ, कहिले असफल । मेरो प्रसंगमा पनि त्यही भएको हो ।’