विनोद न्यौपाने/सलोन बस्नेत
दर्जनौं म्युजिक भिडियो तथा आधा दर्जन चलचित्रमा अभिनय गरिसकेका अभिनेता हुन्— विनोद न्यौपाने । पछिल्लो चलचित्र कोहलपुर एक्सप्रेसबाट चर्चामा आएका यी अभिनेता यतिबेला चलचित्र ‘सुश्री सम्पत्ति’ को प्रतीक्षामा छन् । यो चलचित्र मंसिर २८ गते प्रदर्शनमा आएको छ । यही चलचित्रमा विनोदले अर्का अभिनेता सलोन बस्नेतसँग जोडी बाँधिएर अभिनय गरेका छन् । छायांकनको क्रममा झन्डै एक महिना पोखरा बसेका बिनोद र सलोनको मित्रतासमेत प्रगाढ भएको छ । उक्त चलचित्रको छायांकन हुनुभन्दा धेरै अघिदेखिका असल साथी विनोद र सलोन भविष्यमा अन्य चलचित्रमा समेत संगै देखिने सम्भावना छ । पुस २० गते प्रदर्शन हुने चलचित्र ‘जय श्री दाम’ का समेत मुख्य अभिनेता न्यौपानेले सलोनका राम्रा पक्ष तथा सुधार्नुपर्ने पक्षका बारेमा यसरी आफ्नो धारणा व्यक्त गरेका छन् ।
राम्रा पक्ष
कुशल अभिनेता
बालकलाकारका रूपमै चलचित्र क्षेत्रमा आएकाले तथा बुवा (सोभित बस्नेत) नै चलचित्र निर्देशक भएकाले होला उनी अहिले कुशल अभिनेताका रूपमा स्थापित भैसकेका छन् ।
सहयोगी
उनको मन कमलो छ । त्यसैले वरपरका मानिसहरूलाई गाह्रो पर्ने बित्तिकै सहयोग गर्न तत्पर भैहाल्छन् ।
सफा मन
उनको मन यति सफा छ कि त्यसमा कुनै पनि कुरा अडिंदैन । मनमा लागेको कुरा फ्याट्टै भनिदिन्छन् ।
मित्रता
उनी मित्रता अथवा सम्बन्ध निर्वाह गर्न समेत अब्बल छन् । साथीका लागि जे गर्न पनि तयार कोही छ भने ती सलोन नै हुन् ।
राम्रो गायक
सलोन राम्रा गायक पनि हुन् भन्ने कुरा धेरैलाई थाहा छैन । उनले आफ्नो स्वरमा एउटा गीतसमेत रेकर्ड गराइसकेका छन् ।
सुधार्नुपर्ने कुरा
चलचित्रको भूमिका
लामो समयदेखि अभिनय क्षेत्रमा रहे पनि उनले अब सोलो भूमिका निर्वाह गर्नुपर्छ । सधैं सर्पोटिङ एक्टरका रूपमा मात्र सिमित भैरहनु हुँदैन ।
समय
सलोन साथीभाइहरूसँग बढी रमाएको देख्छु । उनले परिवारलाई पनि उत्तिकै समय दिनुपर्छ ।
पब्लिक अपियरेन्स
सार्वजनिक स्थलमा अलि बढी देखिन्छन् । सेलिब्रेटी भएपछि पब्लिक अपियरेन्सलाई केही कम गर्नु उपयुक्त हुन्छ ।
पहिरन
आकर्षक व्यक्तित्वका धनी सलोनले पहिरनमा समेत केही ध्यान पुर्याउनुपर्छ । खासगरी फर्मल कार्यक्रममा फर्मल ड्ेरस लगाएर जाँदा उनी अझ बढि हेन्डसम देखिन्छन् ।