साप्ताहिक संवाददाता
जसीता गुरुङ तथा मिरुना मगरका रूपमा यो वर्ष बेलायतले नेपाली चलचित्रलाई दुई प्रतिभाशाली अभिनेत्री प्रदान गरिसकेको छ । जसीताले चलचित्र लिलिबिलीबाट तथा मिरुनाले चलचित्र रोजबाट रजतपटमा पदार्पण गरे अनि दुवै सफल पनि भए । अहिले आएर बेलायतले धीरज मगरका रुपमा एक अभिनेता पनि नेपाली चलचित्रलाई दिएको छ ।
बेलायतमै छायांकन गरिएको चलचित्र इन्टु मिन्टु लन्डनमा प्रदर्शनको क्रममा छ । धीरजले व्यवसायिक रुपमा राम्रै मानिएको उक्त चलचित्रबाटै पदार्पण गरेका हुन् । चलचित्रमा उनले साम्राज्ञी राज्य लक्ष्मी शाहसँग रोमान्स गरेका छन् । ब्लगरका रूपमा समेत चिनिने धीरजले चलचित्रमा आउनुअघि नै राम्रै फ्यान फलोइङ बनाइसकेका थिए । भन्नेहरूले त धीरजलाई अनमोल केसी तथा प्रदीप खड्को विकल्पसमेत भन्न थालेका छन् ।
चलचित्रमा उनले गरेको अभिनय, दर्शकहरूले दिएको प्रतिक्रिया तथा धीरजले देखाएको सम्भावनाका कारण चलचित्र प्रदर्शनमा आएको एक हप्तामै उनले झन्डै आधा दर्जन चलचित्रबाट प्रस्ताव पाएका छन् । यद्यपि, निर्देशक रेनाशा वान्तवा राईसँग दुई वर्षका लागि अनुबन्धित भएका कारण धीरजले बाहिरका ब्यानरमा अभिनय गर्न पाउने सम्भावना भने कमै्र छ ।