साप्ताहिक संवाददाता
अहिले समयसँगै बेहुला–बेहुलीको पहिरनमा समेत परिवर्तन आएको छ । जो–कोहीमा पनि बेहुला–बेहुली हुँदाको दिन कसरी राम्रो देखिने, कस्तो पोसाक लगाउने भन्ने कौतूहलता हुन्छ । त्यसैलाई मध्यनजर गर्दै फेसन डिजाइनरहरूले बेहुला–बेहुलीका लागि विभिन्न डिजाइनका पहिरन बजारमा ल्याएका छन् ।
डिजाइनरहरूले चलनचल्तीमा रहेको पहिरनमा सांस्कृतिक पक्षसमेत झल्कने गर्दै ढाँचामा केही परिवर्तन गरी नयाँ–नयाँ शैलीका पहिरन तयार पार्दै आएका छन् । पछिल्ला केही समययता बेहुला–बेहुलीको पहिरनमा व्यापक परिवर्तन आएको फेसन डिजाइनरहरू बताउँछन् । फेसन डिजाइनर मनिता थापा भन्छिन्– बेहुला–बेहुलीको पहिरनमा पश्चिमा शैली कमजोर सावित हुँदै गएको छ ।
पश्चिमा फेसन ट्रेन्डले नेपालमा प्रवेश पाएसँगै नेपालीहरूले पनि त्यही ट्रेण्डलाई पछयाउने गरेको फेसन डिजाइनरहरू बताउँछन् । विवाह समारोहमा बेहुलाका लागि शेरवानी, सुट, दौरा सुरुवाल तथा बेहुलीका लागि साडी चोली लेहेंगामात्र विकल्प थियो तर समय परिवर्तनसँगै बेहुला–बेहुलीको पहिरनमा व्यापक परिवर्तन आएको छ । बेहुलाका लागि विवाहको दिन लगाइने दौरा–सुरुवाल पहिलेदेखि नै चलनचल्तीमा छ तर अहिले ढाकाकै कपडा प्रयोग गर्ने ट्रेन्ड हटेको फेसन डिजाइनर मनिता थापा बताउँछिन् ।
विवाहको दिन बेहुलीले लगाउने पहिरनमा बुट्टा भरिएको हुन्छ भने त्यसैलाई म्याच गर्ने गरी बेहुलाको दौराको नेक लाइनमा बुट्टा भर्ने ट्रेन्ड अहिले लोकप्रिय हुँदै गएको छ । केही समयपहिले बेहुलाले सादा अर्थात बुट्टा नभरिएको दौरासुरुवाल लगाउने चलन थियो ।
विवाहको प्रितिभोजमा बेहुलाहरू शेरवानी तथा पाइजामामा सजिने ट्रेन्ड आएको छ । यसका साथै त्यस दिन कोट–पाइन्टसमेत पनि लगाउन सकिन्छ । बेहुलाले शेरवानीमा कोल्हापुरी जुत्ता लगाउने ट्रेन्ड छ । डिजाइनर थापाका अनुसार रिसेप्सनका लागि तन्किने खालको कपडामा साटन वा सिल्कको पट्टी जोडेर डिजाइन गरिएको कोट लगाउने ट्रेन्ड पनि त्यत्तिकै छ ।
बेहुलीले विवाहको दिन विशेष गरी साडी, चोली तथा लेहेंगा लगाउने चलन छ, तर यसमा पनि अहिले परिवर्तन आएको फेसन डिजाइनरहरू बताउँछन् । नेपाली ट्रेन्डअनुसार विवाहको दिन बेहुलीले विशेष गरी साडी लगाउँछन् । केही समय अघिसम्म साडीमा सादा दुपट्टा लगाउने चलन थियो तर अहिले यसमा जरी र स्टोन वर्क गर्ने ट्रेन्ड आएको डिजाइनर थापा बताउँछिन् ।
प्रीतिभोजको दिन बेहुलीले बलुन गाउन लगाउने चलन छ । यसबाहेक प्रितिभोजका दिन बेहुलीले मुगल कोट लगाउने ट्रेन्ड समेत छ । मुगल कोट लेहेंगा साडी तथा गाउनको माथि लगाइन्छ । कतिपय अवस्थामा बेहुलीहरूले घाघरा समेत लगाउने गरेका छन् । लेयरयुक्त घाघरा विवाहका लागि अहिले फेसनमा रहेको फेसन डिजाइनरहरू बताउँछन् ।