साप्ताहिक संवाददाता
विवाह जीवनकै सबैभन्दा सुन्दर मुभमेन्टमध्ये एक हो । सुन्दर क्षणलाई स्मणीय बनाउन अहिले वेडिङ फोटोग्राफी/भिडियोग्राफी गर्ने चलन छ । गाउँदेखि सहरसम्म, धनीदेखि गरिबसम्म सकैले वेडिङ फोटो/भिडियोग्राफी गराइरहेकै हुन्छन् । बरु, कसले कति खर्च गर्यो भन्ने कुरा अलग हो । त्यसको परिणाम नै मान्नुपर्छ, अहिले वेडिङ फोटो/भिडियोग्राफी गर्नेहरूको व्यस्तता उत्तिकै बढिरहेको छ ।
वेडिङ फोटोग्राफीलाई नेचुरल मुभमेन्ट र एक्प्रेसन कैद गर्ने फोटोग्राफीका रूपमा लिइन्छ, जहाँ विवाह गतिविधीका सबै सुन्दर, खुसी, उमंग र रोदनका क्षणहरूलाई सुन्दर एवं जीवन्त रूपमा क्यामेरामा कैद गरिन्छ । विवाह फोटोग्राफीमा सबैले देखिरहेको पल मात्र कैद गरिँदैन, विवाहका तस्विरलाई उत्सवकै रूपमा देखिने गरी फोटो तथा भिडियो खिचिन्छ । विवाह फोटो/भिडियोग्राफीमा आँखाअगाडि देखिएका दृश्यहरू कैद गर्नुपर्ने हुन्छ । ‘यसमा रिटेक लिन पाइँदैन, हरेक मुमेन्टलाई कैद गर्नुपर्ने हुन्छ’ वेडिङ सेट नेपालका वीरेन्द्र धामी भन्छन्, ‘त्यसैले वेडिङ फोटो/भिडियोग्राफी चुनौतीपूर्णसमेत छ ।’
अहिले दुलाहा–दुलहीको विवाहको कुरा छिनिएदेखि दुलही घर भित्र्याउनेसम्मका गतिविधिलाई समेटेर विवाह फोटोग्राफी/भिडियोग्राफी गर्ने चलन छ । सहरमा क्रिएटिभ र मेहनती फोटोग्राफरहरू विवाहको हरेक पललाई अझ आकर्षक र सुन्दर रूपमा कैद गर्न तछाड—मछाड गर्छन् । विवाहको सिजनमा क्रियटिभ वेडिङ फोटोग्राफहरूलाई भ्याइ—नभ्याइ हुन्छ । कालिका फोटो एक्सप्रेसका सञ्चालक तथा फोटोग्राफर संघका निवर्तमान सदस्य विक्रम न्यौपाने भन्छन्, ‘वेडिङ फोटोग्राफीमा राम्रो भविष्य छ । अवसर राम्रो भएकाले यसलाई उद्योगकै रूपमा अघि बढाउने विचार गरेको छु ।’
मानिसहरू आफ्नो विवाहलाई कतिसम्म स्मणीय बनाउन चाहन्छन् भने विवाहअघि नै प्रि–वेडिङ फोटोग्राफी/भिडियोग्राफी गराउन थालेका छन् । अहिले इन्गेजमेन्ट, प्री वेडिङ, मेहन्दी, संगीत, स्वयंम्बरदेखि पार्टीसम्मका फोटोग्राफी तथा भिडियोग्राफी गरिन्छ । मुख हेर्ने, गोडा धुने, कन्यादान, साइपाटालगायतका गतिविधिलाई समेत फोटो/भिडियोग्राफीमा कैद गर्ने चलन छ । त्यस क्रममा सिन्दूर लगाउने, वरमाला लगाउने जस्ता महत्वपूर्ण क्षणहरू कैद गर्नुपर्ने हुन्छ । अपरिचितहरूबाट फोटो खिचिदिन आग्रह हुन्छ, झन्झट नमानी खिचिदिनुपर्ने हुन्छ । हाँसी–हाँसी खिचिदिनुपर्ने हुन्छ । गर्न सके यो पेसा निकै राम्रो छ, तर व्यवसायिक ढंगले गर्न वा चल्न सक्नुपर्छ । अहिले विवाहमा ड्रोनको समेत प्रयोग गर्न थालिएको छ ।
अहिले सहरमा वेडिङ फोटो/भिडियोग्राफीबाट व्यवसायिक फोटोग्राफहरूले प्रशस्तै आम्दानी गरिरहेका छन् । वेडिङ सिनेमा नेपालका फोटोग्राफर रुपेश थापा एक दिनको ४० हजारदेखि ५० हजार रुपैयाँ लिन्छन् । वेडिङ फोटो/भिडियोग्राफी गर्नेहरूले फोटो एल्बम, फ्रेमिङदेखि भिडियो मेकिङसम्मका सेवा प्याकेजमै उपलब्ध गराउँछन् । रोचक त के भने अहिले सहरमा वेडिङ फोटोग्राफीको तालिम, कार्यशाला मात्र होइन, प्रतिस्पर्धा समेत आयोजित गरिन्छ ।