साप्ताहिक संवाददाता
नाथन डोड
नेपालको घरेलु क्रिकेटमा भित्रिने पहिलो विदेशी प्रशिक्षक हुन्— नाथन डोड र त्यसका लागि पोखरा राइनोजलाई श्रेय दिनुपर्छ । अस्ट्रेलियाको हाइ पर्फमेन्स लेभल थ्री उत्तीर्ण गरिसकेका डोडले त्यहाँका चर्चित पूर्व खेलाडी तथा प्रशिक्षक जस्टिन ल्यान्गर र फिल ज्याक्ससँग काम गरिसकेका छन् । नेपाल आउनुअघि उनी न्यू साउथ वेल्स ब्लुजका सल्लाहकार प्रशिक्षक थिए । यस्तै उनी अस्ट्रेलियाको इन्टिलेक्चुयल डिसएबिलिटी टिमका प्रशिक्षकसमेत रहिसकेका छन् ।
उपेश पटवाल
विराटनगर वारियर्सले भित्र्याएका अर्का विदेशी प्रशिक्षक हुन्— उमेश पटवाल । नेपालको घरेलु क्रिकेटसँग उनको नजिकको सम्बन्ध छ । सबैभन्दा पहिले उनी ब्याटिङ परामर्शदाताका रूपमा नेपाली राष्ट्रिय टिमसँग जोडिएका थिए । जति बेला उनी उक्त भूमिकामा थिए, त्यही बेला नेपालले एकदिवसीय टिमको मान्यता पाएको थियो । पटवाल पोखरामा केही समयअघि सम्पन्न पोखरा प्रिमियर लिगमा प्रतियोगिता निर्देशक थिए ।
विनोद दास
नेपाली क्रिकेटमा सबैभन्दा दोहोरिएर लिइने नाममा हो— विनोद दास । सुरुमा उमेर समूहको क्रिकेट, त्यसपछि राष्ट्रिय टिमका स्टार खेलाडी विनोद खेल्न छाडेपछि प्रशिक्षक भएका हुन् र उनले माथिल्लो दर्जाको प्रशिक्षक प्रशिक्षण पनि लिएका छन् । सुरुमा उमेर समूहको क्रिकेट टिम र ट्यालेन्ट हन्टमा प्रशिक्षकको भूमिका निर्वाह गरेका विनोदले यसपटक काठमाडौं किंग्सको जिम्मा लिएका छन् । घरेलु क्रिकेटमा यो उनको अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती हो ।
जंगबहादुर थापा
भैरहवा ग्लाडियर्सले अन्तिम समयमा आएर प्रशिक्षकको भूमिकामा जंगबहादुर थापालाई ल्याएको हो । प्राय: मोफसलको क्रिकेटसँग जोडिएर आउने नाम हो— जंगबहादुर । उनको प्रशिक्षणमा अहिलेसम्म धेरै खेलाडी उत्पादन भैसकेका छन् । चुनौतीका आधारमा भने ईपीएल–२०१८ उनका लागि धेरै ठूलो चुनौती हो । थापाले उत्तिकै लामो समय नेपालको उमेर समूह र महिला क्रिकेटमा समेत बिताइसकेका छन् ।
राजु बस्न्यात
नेपाली राष्ट्रिय टिममा लामो समय बिताइसकेपछि प्रशिक्षकमध्ये सबैभन्दा अगाडि आउने नाम हो— राजु बस्नेत । उत्तिकै लामो समय दक्षिण कोरियाली क्रिकेटको विकासमा पनि समय बिताएका राजुले यसपटक ललितपुर प्याट्रियसको जिम्मेवारी पाएका छन् । पूर्व स्पिनर राजुले तल्लो क्रमका ब्याट्सम्यानको भूमिका समेत निर्वाह गरेका थिए । प्रशिक्षकका रूपमा उनीसँग राम्रो प्राविधिक ज्ञान भएको मानिन्छ ।
कलाम अलि
चितवन टाइगर्सको जिम्मेवारी कलाम अलिले सम्मालेका छन् । निकै कम बोल्ने र सकेसम्म मिडियाबाट टाढै रहने प्रशिक्षकका रूपमा चिनिन्छन्, कलाम । घरेलु क्रिकेटमा खेलाडीका रूपमा लामो समय बिताइसकेपछि उनले पनि आफूलाई प्रशिक्षकका रूपमा सफल सिद्ध गरे । खेलाडीको तुलनामा उनी प्रशिक्षकको भूमिकामा बढी सफल छन् । कलामले पनि आफूलाई प्राविधिक पक्षमा अब्बल सावित गरेका छन् ।