साप्ताहिक संवाददाता
एक चिनियाँ वैज्ञानिकले जिन (वंशाणु) लाई सम्पादन गरेर दुई जना जुम्ल्याहा शिशु विकसित गरेको विषय अहिले वैज्ञानिकहरूबीच आलोचित भैरहेको छ । चिनियाँँ वैज्ञानिक हि जिएन्कवेले हङकङ विश्वविद्यालयमा आयोजित जेनोम सम्मेलनमा आफ्नो विवादस्पद जिन सम्पादनको विषयमा जानकारी गराएपछि त्यसको आलोचना सुरु भएको हो । हिले उक्त सम्मेलनमा जिन सम्पादन गरेर जुम्ल्याहा शिशु विकसित गरेको दाबी गरेका थिए ।
ती वैज्ञानिकले जिन सम्पादनमार्फत लुलु र नाना नाम गरेका जुम्ल्याहा शिशुको जन्म भएको बताएका थिए । उनले ती शिशुहरूलाई एचआईभी नलाग्ने दाबी समेत गरेका छन् । पुरानो बेलायती पत्रिका द गर्जियनका अनुसार हिले क्रिस्पर–क्यास ९ विधिबाट यो अनुसन्धान गरेका हुन् । उनले आफ्नो अनुसन्धान एउटा ‘साइन्टिफिक जर्नल’मा प्रकाशित गर्न पठाएको समेत बताएका छन् ।
साउदर्न युनिर्भसिटी अफ साइन्स एन्ड टेक्नोलोजीका खोजकर्ता हिको यो अनुसन्धानमा सात जोडी दम्पतीको भू्रणको वंशाणु सम्पादन गरिएको थियो । अक्सफोर्ड विश्वविद्यालयका ‘प्राक्टिकल इथिक्स’का प्राध्यापक जुलियन सभुलेस्कूको भनाइलाई उद्धृत गर्दै गर्जियनले उक्त कार्य ‘दानवीय’ भएको बताएको छ ।
चौतर्फी विरोध
यसबीच जिन सम्पादन गरिएको विषयलाई लिएर चीन सरकारले तत्काल छानबिन गर्न आदेश दिएको छ । जिन सम्पादन गरिएको शिशु जन्माएको विषयलाई लिएर संसारभरका वैज्ञानिकहरूले विरोध जनाएपछि चीन सरकारले छानबिनको उक्त आदेश दिएको हो ।
लन्डनस्थित फ्रान्सिक क्रिक इन्स्टिच्यूटका जिनेटिङ साइन्टिस्ट रोविन बेजले प्राध्यापक हिले गलत निर्णय लिएको बताए । जिनलाई सम्पादन गरेको दाबी गरिए पनि त्यसको ठोस वैज्ञानिक प्रमाण प्राध्यापक हिले देखाउन नसकेको उनको भनाइ छ ।
को हुन् हि ?
प्रोफेसर हिले स्टानफोर्ड विश्वविद्यालयमा धानसम्बन्धी अध्ययन गरेका छन् । चीनको सेन्जन प्रान्तमा उनका दुईवटा जेनेटिङ कम्पनी छन् । हिले मुसा, बाँदर तथा मानिसको भ्रूण सम्पादनका लागि धेरै वर्षसम्म काम गरेको सीएनएले जनाएको छ । जिन सम्पादन गर्ने विधि उनले ‘प्याटेन्ट’ नै निर्माण गरेका हुन् । उनले जेनोम सिक्वेन्सिङ तथा क्रिस्पर–क्यास–९ विधि सम्बन्धि अनुसन्धान गर्दै आएका छन् ।
एजेन्सीको सहयोगमा