साप्ताहिक संवाददाता
विश्वमा जहाँ–जहाँ क्रिकेट खेल लोकप्रिय छ, त्यहाँ–त्यहाँको एउटा विशेषता हो, फ्रेन्चाइज क्रिकेट । ट्वान्टी–२० खेलको जन्म, विकास एवं विस्तारसँगै यो विशेषता फैलिएको हो । यससँगै जन्मिएको अर्को विषेशता हो, क्रिकेट टिमको मालिक हुनु । विशेषत: भारतसँगै दक्षिण एसियाका देश, अस्ट्रेलिया र लगभग अरू सबै देशमा कुनै पनि धनाढ्यका लागि गर्व गर्न लायक एउटा उपलब्धि हुने गरेको छ, टिमको मालिक हुनु ।
हुन् पनि क्रिकेट मन पराउने उद्योगपति–व्यवसायीका लागि उनीहरूको सीभीमा एउटा क्रिकेट टिमको मालिक लेखिएको छ भने त्यसमा सबैको आँखा जान्छ नै । फेरि फ्रेन्चाइज क्रिकेट आफैंमा व्यवसाय हो र यसमा सबै नाफामा मात्र हुन्छन भनिन्छ । कसैले लगानी गरेर त्योभन्दा राम्रो प्रचार र साख प्राप्त गर्छन् भने त्यो पनि नाफै हो । टिमको मालिक भएपछि त्यसको सम्पूर्ण कारोबार र संरचनामा उसकै हक–अधिकार हुने नै भयो ।
नेपालमा फ्रेन्चाइज क्रिकेट सुरु हुन थालेको केही वर्ष मात्र मात्र भएको छ । दुई वर्षअघि धनगढी प्रिमियर लिगले पहिलो पटक औचापरिक रूपमा फ्रेन्चाइज क्रिकेट सुरु गरेको हो भन्दा फरक पर्दैन, जति बेलादेखि खेलाडीको लिलामीसमेत सुरु भएको थियो । अहिले चलिरहेको एभरेस्ट प्रिमियर लिग (ईपीएल) पनि फ्रेन्चाइज क्रिकेटकै नमुना हो र यसमा सहभागी सबै टिमका आ–आफ्नै मालिक छन् । यी टिमले लगभग १ करोडभन्दा बढी रुपैयाँको हाराहारीमा खर्च गर्ने गरेका छन् ।
वास्तवमै एउटै टिमले कति खर्च गर्छन् र त्यसको ठ्याक्कै स्रोत के हो, त्यसका बारेमा भने पूरा जानकारी बाहिर आउने गरेको छैन । नेपालको समग्र व्यवसायमै पनि यस प्रकारको संस्कृति विकसित भैनसकेको स्थितिमा यस्तै कमजोरी क्रिकेट टिमको आय–व्ययमा पनि देखिएको छ । त्यसैले टिमको आर्थिक पाटोका सम्बन्धमा जानकारी राख्न पनि बढी भन्दा बढी स्रोत र अनौचापरिक कुराकानीमै भर पर्नु पर्छ । जहाँसम्म ईपीएलमा सहभागी व्यवसायीहरूको कुरा छ, त्यसमा विशेषत: मारवाडी समुदायका युवा व्यवसायीहरूको वर्चस्व छ ।
कुनै समय थियो, जति बेला सम्पूर्ण मारवाडी समुदायका खेलाडीले प्रतिनिधित्व गर्ने टिमले पनि टुँडिखेलमा हुने क्रिकेट प्रतियोगिता खेल्थ्यो । त्यति मात्र होइन, मारवाडी क्रिकेट लिगसमेत सञ्चालनमा आयो । अहिलेको ईपीएलका छ टिममध्ये चारमा यही समुदायका व्यापारी मालिक छन् । नेपाली मारवाडी समुदाय व्यापारमा बढी सहभागी छन् नै, त्यति मात्र नभएर उनीहरूमाझ क्रिकेट निकै लोकप्रिय छ भन्ने यो राम्रो उदाहरण पनि हो ।
साहिल अग्रवाल पोखरा राइनोजका मालिक हुन् । उनको नेतृत्वमा जगदम्बा स्पोर्ट्स छ जसले जगदम्बा समूहलाई प्रतिनिधित्व गर्छ । यो समूह स्टिल, सिमेन्ट तथा टेक्सटाइलको कारोबारमा संलग्न छ । यसका साना–ठूला अरू पनि व्यवसायिक रुचि छन् ।
विशाल अग्रवाल विराटनगर वारियर्सका मालिक हुन् । विशाल ग्रुप पनि नेपालको ठूलो व्यापारिक घराना हो र यसले मुख्यत: आठवटा क्षेत्रमा हात हालेको छ, जसमा आयात–निर्यात, बैंकिङ, शिक्षा एवं अटोमोबाइल्स प्रमुख छन् । यो समूहले फरक–फरक अवसरमा फरक भूमिकामा आफूलाई क्रिकेटसँग आबद्ध गरिरहेको छ ।
काठमाडौं किंग्सको स्वामित्व टेलि होल्डिङसँग छ । टिमका मालिक हुन् रोहित गुप्ता । यो संस्था मोबाइल व्यवसायमा केन्द्रित छ । भैरहवा ग्लाडियटर्सका मालिक आदित्य संघाई हुन् र उनी घोराही सिमेन्ट्सका हर्ताकर्ता हुन् । घोराही सिमेन्टको प्रमुख उत्पादन सगरमाथा सिमेन्ट्स हो ।
अरू दुई टिममध्ये ललितपुर प्याट्रियट्सले यही नाममा कम्पनीजस्तै बनाएको छ, ललितपुर प्याट्रियट्स प्रालिका रूपमा । यसका मुख्य हर्ताकर्ता किशोर महर्जन हुन् । महर्जन नेपाली खेलकुदमा कुनै न कुनै रूपमा संलग्न रहँदै आएका छन् । उनी खासमा व्यवसायी भन्दा पनि बैंकर हुन् । महर्जन लामो समय सनराइज बैंकसँग आबद्ध रहे । अहिले उनी वेस्ट फाइनान्स कम्पनी छ ।
चितवन टाइगर्सको स्वामित्व आर्यडीएफ ग्रुपसँग छ । यसका प्रमुख हुन्, पूर्व कराँते खेलाडी तथा युवा व्यवसायी किशोर भट्टराई ।