साप्ताहिक संवाददाता
फ्रेन्चाइज क्रिकेट एक प्रकारले व्यापार नै हो, फरक के भने यो खेलसँग जोडिएको हुन्छ । यस अर्थमा यसपटकको एभरेस्ट प्रिमियर लिग–२०१८ पनि अपवाद छैन, भलै यो व्यापारमा क्रिकेटको भावनात्मक पक्ष बलियो हुन्छ । यिनै कारणले गर्दा यसपटकको प्रतियोगितामा सबैभन्दा महँगा खेलाडी को–को हुन् भनेर छुट्याउन सकिँदैन । न त यसलाई लिएर आयोजकहरूसँग कुनै भरपर्दो जानकारी छ । सहभागी टिम भने यस विषयमा खुलेर केही भन्न चाहँदैनन् । उनीहरूले सकेसम्म यो पक्षलाई गोप्य नै राखेका छन् । विदेशी खेलाडीको हकमा टिम मालिकले कम्तीमा ५ हजार डलर तिरेका छन् र यस अर्थमा यिनै विदेशी खेलाडी सबैभन्दा महँगा पनि हुन् । सम्बद्ध टिमका खेलाडी, प्रशिक्षक एवं मालिकसँग भएको अनौपचारिक कुराकानीका आधारमा इपीएलका सबैभन्दा महँगा दस खेलाडी :
रिचर्ड लेभी
नेपाली घरेलु क्रिकेटसँग जोडिएका अहिलेसम्मकै सबैभन्दा ठूला नाम हुन्, दक्षिण अफ्रिकाका रिचर्ड लेभी र उनी नै यसपटकको प्रतियोगिताका सबैभन्दा महँगा खेलाडी पनि हुन् । सम्भवत: पोखरा राइनोजले उनलाई १० हजार डलरमा भित्र्याएको हो । सन् २०१२ मा न्युजिल्यान्डविरुद्ध ट्वान्टी–२० क्रिकेटमा डेब्यु गरेका लेभीले वेस्टर्न प्रोभियन्स, केप कोब्रा तथा नर्थह्याम्पसायरबाट पनि क्रिकेट खेले । उनले १३ पटक दक्षिण अफ्रिकाका लागि ट्वान्टी–२०खेलेका छन् र त्यसमा उनको सर्वाधिक स्कोर न्युजिल्यान्डविरुद्ध १ सय १७ रन छ ।
केली कोयट्जर
पोखरा राइनोजले अनुबन्ध गरेका अर्का महँगा विदेशी खेलाडी हुन्— केली कोयट्जर । केली स्टकल्यान्डको राष्ट्रिय टिमका कप्तान हुन् । उनलाई स्कटल्यान्डको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलाडी मानिन्छ । स्कटल्यान्डको क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा दरिलो रूपमा प्रस्तुत गर्नमा यिनै ब्याट्सम्यानको सबैभन्दा ठूलो भूमिका छ । आफ्नो पदार्पण खेलमै शतक प्रहार गरेका कोयट्जर सन् २०१६ देखि स्कटल्यान्डको टिममा छन् ।
केभिन ओ ब्राइन
यसपटकको ईपीएल खेल्ने खेलाडीमध्ये अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा बढी अनुभव भएका खेलाडी हुन्— केभिन ओ ब्राइन । यसपटक उनी काठमाडौं किंग्सका लागि खेलिरहेका छन् । आयरल्यान्ड क्रिकेटका लेजेन्ड ब्राइनले ३ सयजति अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । पाकिस्तानविरुद्ध पदार्पण खेलमै शतक बनाएका ओ ब्राइनले इंग्ल्यान्डलाई एकदिवसीय विश्वकपमा हराउन निर्णायक भूमिका खेलेका थिए । उनले पाँचवटा वान डे विश्वकप तथा तीनवटा वल्र्ड ट्वान्टी–२० खेलिसकेका छन् ।
रायन टेन डेकास्थे
भैरहवा ग्लाडियर्ससँग जोडिएका खेलाडी हुन्— नेदरल्यान्ड्सका रायन टेन डेकास्थे । यी अलराउन्डर क्रिकेटरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सबाट समेत खेलिसकेका छन् । त्यति मात्र होइन, उनले बिग बास, बंगलादेश प्रिमियर लिग तथा पाकिस्तान सुपर लिगमा समेत सहभागिता जनाइसकेका छन् । रायन डच क्रिकेटको सबैभन्दा ठूलो नाम हुन् जसले तीन सयको हाराहारीमा ट्वान्टी–२० क्रिकेट खेलिसकेका छन् । यसअर्थमा उनी यसपटकको ईपीएल खेल्ने सबैभन्दा अनुभवी खेलाडी हुन् ।
पउल स्टर्लिङ
ईपीएलमा सहभागी अर्का ठूला नाम हुन्— पउल स्टर्लिङ । चितवन टाइगर्सले अनुबन्ध गरेका यी खेलाडीसँग पनि अन्तर्राष्ट्रिय क्रिकेटको राम्रो अनुभव छ । आयरल्यान्ड र मिडलसेक्सका प्रारम्भिक ब्याट्सम्यान स्टर्लिङले आफ्नो देशका लागि १ सय एकदिवसीय तथा ५२ ट्वान्टी–२० खेलिसकेका छन् । उनीसँग पनि इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सका लागि खेलेको अनुभव छ ।
बाबर हयात
नेपाली घरेलु क्रिकेटमा लगातार सुनिने नाम हो, हङकङका बाबर हयात र उनी उत्तिकै सफल पनि सावित भएका छन् । विराटनगर वारियर्सका लागि अनुबन्धित हयातले गएको सिजनमा आफ्नो चमत्कारी खेल प्रदर्शन गरे । उनी म्यान अफ द सिरिज नै भए र त्यतिबेला उनकै प्रदर्शनका बलमा विराटनगर च्याम्पियन भएको थियो । बाबरले प्रतियोगितामा कुल ३ सय १३ रन बनाएका थिए । यति उपयोगी खेलाडीका लागि विराटनगरले यसपटक पनि राम्रै रकम भुक्तानी गरेको हुनुपर्छ ।
मोहम्मद नाविद
यूएईका कप्तान हुन्— मोहम्मद नाविद । उनी त्यहाँको क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा सफल खेलाडीसमेत हुन् । यी ब्याटिङ अलराउन्डरले अहिलेसम्म ३२ वटा एकदिवसीय तथा २३ वटा ट्वान्टी–२० खेलिसकेका छन् । उनले यसपटक भैरहवा ग्लाडियटर्सका लागि खेलिरहेका छन् । अरू व्यवसायिक ट्वान्टी–२० लिग पनि खेलेको अनुभव भएका नाविद विश्व क्रिकेटको एसोसियट
देशका खेलाडीमध्ये थोरै सफल खेलाडीमा पर्छन् ।
पारस खड्का
नेपाली राष्ट्रिय टिमका कप्तान खड्का यसपटकको ईपीएलका सबैभन्दा महँगा नेपाली खेलाडी हुन् । केही समययता क्रिकेट खेलाडीका रूपमा राम्रै आम्दानी गरिरहेका पारसले विराटनगर वारियर्सका लागि दस लाख रुपैयाँजति पारिश्रमिक बुझेको हुन सक्छ । उनलाई टिममा अनुबन्ध गर्नुको अर्थ सफलता पनि हो । उनकै नेतृत्वमा ईपीएलको पछिल्लो संस्करण विराटनगरले जितेको थियो । त्यसैले पारसलाई ठूलो रकम दिन विराटनगरले कुनै कन्जुस्याइँ गरेको छैन ।
ज्ञानेन्द्र मल्ल
पारस खड्कापछि नेपाली क्रिकेटका सबैभन्दा ठूला नाम हुन्— ज्ञानेन्द्र मल्ल । ललितपुर प्याट्रियास मल्लकै कप्तानीमा छ । उनको नेतृत्वमा टिमले नेपाली घरेलु क्रिकेटमा कुनै ठूलो सफलता चाखेको छैन, तर खेलाडीका रूपमा उनको उपयोगितामा कुनै शंका छैन् । त्यसैले पनि मल्लको पारिश्रमिक लगभग ७ लाख रुपैयाँको हाराहारीमा छ । मल्लकै नेतृत्व एवं व्यक्तिगत प्रदर्शनमा ललितपुरको भविष्य अडेको छ ।
शरद भेषवाकर
नेपाली घरेलु क्रिकेटको कुरा गर्ने हो भने शरद भेषवाकर सफलताको अर्को नाम हो । शरदसँग अधिकांश समय सफलता जोडिएर आउँछ । उनकै नेतृत्वमा पोखरा पल्टनले हालै मात्र पोखरा प्रिमियर लिग (पीपीएल) जितेको छ । यसपटक भने उनको काँधमा छ— भैरहवा ग्लाडियटर्स । शरदले नेतृत्व सम्हाल्ने टिमले अधिकांस समय फाइनलको यात्रा गरेको तथ्य छ । त्यसैले उनी पनि महँगा खेलाडीमै पर्छन् र सम्भवत: उनले ७ लाख रुपैयाँकै हाराहारीमा पारिश्रमिक लिएका छन् ।