निर्देशक दिनेश राउत तथा नम्रता श्रेष्ठको केमेस्ट्री लोभलाग्दो छ । नम्रताले काम गर्न सबैभन्दा सहज मान्ने निर्देशक हुन् दिनेश र दिनेशले काम गराउन सहज लाग्ने अभिनेत्री हुन् नम्रता । क्लासिक, नोभेम्बर रेन, पर्व आदि चलचत्रिमा काम गरिसकेका उनीहरूको नयाँ चलचित्र प्रसाद हलहरूमा प्रदर्शन भैरहेको छ । हालै सिटिसेन्टर स्थित विग मुभिजमा दर्शकको मनोभाव बुझ्न उपस्थित दिनेश र नम्रताले नजिकैको कफी सपमा एकैछिन गफ गरे ।
दिनेश : तिमी आफैं पनि दर्शकहरूको प्रतिक्रिया लाइभ गर न !
नम्रता : केबाट गर्ने ?
दिनेश : फेसबुक पेजबाट ।
नम्रता : नो–नो । आजभोलि इन्स्टाग्राम धेरैले चलाउँछन्, त्यसबाट गरौं । मेरो पोस्टमा २५ हजार, ३० हजार, ५० हजारसम्म लाइक आएको छ, त्यसबाटै गरौं ! अनि यहाँपछि कहाँ जाने ?
दिनेश : अँ, गोपीकृष्ण जाऔं ।
नम्रता : आज त म परिवारसँग बसेर मज्जाले चलचित्र हेर्ने भनेको !
दिनेश : अस्ति प्रिमियरमा हेरेको होइन ?
नम्रता : अस्ति त मज्जाले हेर्नै पाइएन, आज हेर्ने भनेर टिकट पनि काटिसकेको छु ।
दिनेश : ए, लल ।
दिनेश : सुन न, एउटा कुरा भन त ।
नम्रता : के कुरा ?
दिनेश : तिमीलाई मेरो मन पर्ने र मन नपर्ने एक–एकवटा कुरा भन त !
नम्रता : एकदमै मेहनती छौ । हरेक कामलाई एकदमै सिरियस्ली लिन्छौ । मनैबाट सोचेर काम गर्छौ । एज ए डाइरेक्टर यूआर प्रफेक्ट है मेरा लागि त । नराम्रो बानी भनेको तिमी एकदमै चाँडै बिर्सन्छौ । अहिले एकछिन अघि चाबी बिर्सिएर बाहिर गयौ, यहीं छ उदाहरण ! १० मिनेटमा कल गर्छु भन्छौ, १ घण्टापछि गर्छौ । खाना खान गएको मान्छे खाना छोडेर हिँड्छौ । एकपटक त तिमीले कसको घरमा जाँदा एउटा खुट्टामा आफ्नो अनि अर्को खुट्टामा अरू नै कसैको जुत्ता लगाएर समेत आयौ । अब भन मेरा बारेमा, सेम ।
दिनेश : तिमी इमोसनल छौ । कसैको पनि दु:ख–पीडालाई आफ्नै मान्छौ । काममा एकदमै सिरियस छौ । मन नपर्ने कुरा भनेको तिमी निकै चाँडै अरूलाई विश्वास गछौ । यस्तो बानीका कारण कहिलेकाहीं आफैंलाई धोका मिल्न सक्छ ।
नम्रता : मलाई चलचित्रमा लिनुको केही कारण भन रे !
दिनेश : एउटा होइन, तीनवटा कारण छन् । तिमी आफैंमा राम्रो कलाकार हौ । तिम्रो र मेरो विचार मिल्छ अनि तिमी मेरा लागि सहजै प्रस्तुत हुन्छौ । अरू हिरोइनलाई ल्याउँदा चिनजान गर्नुपर्यो, बानी–व्यवहार बुझ्नुपर्यो । तिमीलाई पहिल्यैदेखि चिनेकाले पनि तिमी मेरा लागि पर्फेक्ट हिरोइन हौ ।
नम्रता : तिमी कन्टेनलाई विशेष प्राथमिकता दिन्छौ क्या, दिस इज गुड प्वाइन्ट ।
दिनेश : तिम्रो र मेरो प्रोगेश पनि संसगै भएको छ नि !
नम्रता : हो त, नोभेम्बर रेन, पर्व अहिले प्रसादसम्म आइपुग्दा तिमीले नयाँ–नयाँ कुरामा प्रयास गरेका छौ । हामी लगभग सक्सेस पनि भएका छौ ! नयाँ प्रयास नगर्ने हो भने हाम्रो ग्रोथ पनि हुँदैन नि !
दिनेश : सही हो । ल, दर्शकहरू हलबाट निस्कने बेला भयो । पत्रकारहरू पनि आए । चाँडै सक कफी !