आकाशमा चराजस्तै उड्दा कस्तो अनुभूति हुन्छ ? प्याराग्लाइडिङ गर्नेहरूले त्यसको अनुभव गर्न सक्छन् । नेपालका विभिन्न ठाउँमा सञ्चालन भैरहेको प्याराग्लाइडिङले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई लोभ्याइरहेको छ । प्याराग्लाइडिङका लागि विश्वका पाँच उत्कृष्ट स्थानमध्ये एक हो— पोखराको सराङकोट क्षेत्र । यतिबेला नेपालका पोखरा, भेडेटार, तनहुँ, काठमाडौं, पाँचथर, पाल्पा, उदयपुर आदि स्थानमा यो साहसिक खेलको सञ्चालन तथा परीक्षण उडान भैसकेको छ ।
काठमाडौंमा गोदावरी तथा शंकरापुर आदि ठाउँमा यो सुविधा उपलब्ध छ । काठमाडौंमा प्याराग्लाइडिङको आनन्द लिन चाहने स्वदेशीले ८ हजार रुपैयाँ तिरे पुग्छ । त्यसमा तस्बिर, भिडियो तथा यातायातको सुबिधा प्रदान गरिन्छ । त्यस्तै विदेशी पर्यटकले ११ हजार ३ सय रुपैयाँ खर्चनुपर्छ । बर्खामा फ्लाइटमा असर परे पनि अरू बेला हरेक दिन फ्लाइट हुने काठमाडौं प्याराग्लाइडिङका नीरज
पन्त बताउँछन् ।
प्याराग्लाइडिङ जति रोमाञ्चक छ, त्यति नै जोखिमपूर्ण पनि छ । यसमा केही दुर्घटना नभएका होइनन् । त्यसैले होला कतिपयले प्याराग्लाइडिङ गर्ने आँट जुटाउन सक्दैनन् । नेपालमा प्याराग्लाइडिङको बढ्दो आकषर्णकै कारण स्याङ्जाको स्वरेक तथा तनहुँको बन्दिपुरमा स्कुल नै स्थापना गरी पाइलट कोर्स गराउन थालिएको छ । प्याराग्लाइडिङका लागी सबैभन्दा चर्चित ठाउँ पोखरा नै हो । नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार नेपालमा हालसम्म ६२ वाट प्याराग्लाइडिङ कम्पनीले स्वीकृति लिएका छन् । एउटा कम्पनीले ६ वटा पाइलट राख्न पाउने प्रावधान भए पनि नेपालमा प्याराग्लाडिङ पाइलटको कमी छ । व्यवसायिक रूपमा २ सय ५० जनाले प्याराग्लाडिङ पाइलटको लाइसेन्स लिएका छन् भने एकल उडान गर्ने थप १ सय ५० पाइलट छन् । व्यवसायिक पाइलटमध्ये १० जना महिला छन् । उपत्यकाबाहिर पोखरा तथा पूर्वी क्षेत्रमा प्याराग्लाइडिङको बजार फैलँदै गएको छ ।
पूर्वको आकाशमा प्याराग्लाइडिङ
साहसिक पर्यटनका रूपमा लिइने मनोरञ्जक खेल प्याराग्लाइडिङ पूर्वी नेपालमा समेत सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । कम लगानीमा बढी लाभ लिन सकिने भएकाले प्याराग्लाइडिङप्रति व्यवसायिक आकर्षणसमेत बढ्दो छ । पोखराबाट सुरु भएको प्याराग्लाइडिङ सेवा हाल धरानमा समेत सञ्चालनमा आएपछि पर्यटकको संख्यामा वृद्धि भएको व्यवसायीहरू बताउँछन् ।
धनकुटा र सुनसरी जिल्लाको बीचमा पर्ने भेडेटार आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ । प्याराग्लाइडिङबाट धरानका सुन्दर दृश्यको अवलोकन गर्दै आकाशमा उड्नुको मज्जा बेग्लै छ । यो सेवा भित्रिएपछि नेपालका आन्तरिक पर्यटक तथा भारतको बिहारसमेतबाट आउने पर्यटकहरूका लागि यो क्षेत्र पहिलो रोजाइ बन्न थालेको छ । धरानस्थित धरान स्काई एडभेन्चर कम्पनीले विगत तीन वर्षदेखि प्याराग्लाइडिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले भारतबाट २ जना दक्ष पाइलट झिकाएर मौसमको अवस्था हेरी दैनिक ६ वटासम्म उडान भर्दै आएको कम्पनीका प्रमुख रोशन अधिकारीले बताए । हाल भेडेटारभन्दा करिब २ सय मिटर तलको छोटीमोरङबाट धरानको विजयपुरसम्म उडान भर्ने गरिएको छ । एउटा प्याराग्लाइडिङमा एकपटकमा पाइलटसहित दुई जनाले उडान भर्ने गरेका छन् । प्याराग्लाइडिङ ९९ प्रतिशत सुरक्षित रहेको र कम्पनीले उडान भर्ने सबैको जीवन बिमासमेत गर्ने अधिकारीले बताए ।
पूर्वमा सबैभन्दा पहिले धरानमै प्याराग्लाइडिङको परीक्षण उडान भएको हो । उडान गर्ने पाइलट हुन्— तारामणि राई । राईले पोखरामा प्याराग्लाइडिङको प्रशिक्षण लिएपछि १० वर्षअघि अर्थात् सन् २००८ मा पहिलो पटक भेडेटार नजिकैको स्कुल डाँडा (देवीथान) बाट परीक्षण उडान भरेका थिए । उनले स्कुल डाँडा पछि धरान वरीपरिका अन्य उपयुक्त डाँडाहरू चहार्दै नियमित रूपमा परीक्षण उडान गर्दै आएका थिए । प्याराग्लाइडिङको भविष्य देखेर आफ्नै ठाउँमा केही गर्ने सोचले उनी धरान आएर परीक्षण उडानमा सक्रिय भएका थिए । त्यसपछि रोशन अधिकारीले धरान स्काई एडभेन्चर स्थापना गरेर यसलाई व्यवसायिक रूप दिए । स्काई एड्भेन्चरले २०७२ सालको असोज २२ गतेदेखि व्यवसायिक रूपमा प्याराग्लाइडिङको व्यवसायिक उडान सञ्चालन गर्दै आएको छ ।
पाँचथरमा परीक्षण उडानपाँचथरको फिदिम नगरपालिकामा पहिलो पटक प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । केही महिनाअघि फिदिम नगरपालिका–३ तथा ५ को संगम स्थल लब्रेकुटीबाट सफल परीक्षण उडान गरिएको हो । रमिते डाँडाबाट परीक्षण उडान गरिएको प्याराग्लाइडिङ फिदिम–१ स्थित फिदिम माविको खेल मैदानमा अवतरण भएको थियो । दिउँसो करिब ४ वजे गरिएको परीक्षण उडानका क्रममा प्याराग्लाइडिङ आकाशमा १७ मिनेटजति कावा खाएको थियो । फिदिमका युवाहरूको अग्रसरतामा भएको उक्त प्याराग्लाइडिङ परीक्षण उडानमा सिक्किमका प्याराग्लाइडिङ पाइलट केशव अधिकारी संलग्न थिए ।